मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्ड २०१८ का लागि टप ३२ मा परेकी छिन् । चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ का लागि भएको प्रतिस्पर्धा अन्तर्गत विभिन्न फरक इभेन्टमा भाग लिदै अघि बढेकी खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि छिन्।
मिस वल्र्ड आयोजकको वेब साइटका अनुसार हालसम्मको अत्यधिक भोट पाउने प्रतिस्पर्धीमा खतिवडा नै छिन्। उनले हालसम्म जम्मा भएको भोटिङमध्ये ३० प्रतिशत बढी भोट विश्वभरबाट पाइसकेकी छिन्।

दोस्रोमा ९ प्रतिशत फ्रान्स, तेस्रोमा युगाण्डा ७ प्रतिशत, चौथोमा रसिया ५ प्रतिशत र पाँचौं स्थानमा टर्की, तान्जानिया, बंगलादेश ४ प्रतिशत भोटका साथ अघि बढिरहेका छन्। हालसम्मको भोटका आधारमा धेरैले उनी टपटेनभित्र परिसकेको आंकलन गरेका छन्। यद्यपि आधिकारिक समाचार भने बाहिर आइसकेको छैन। भोटिङमा पहिलो भएमा शृंखलाले मल्टिमिडिया अवार्ड जित्नेछिन्।

टप मोडेल प्रतिस्पर्धाको उपाधि भने फ्रान्सकी मिभा कुग्केले उचालेकी छिन्। सो प्रतिस्पर्धाको टप ३२ मा नेपाल पनि पर्न सफल रह्यो। खतिवडाले विपन्न चेपाङ रहने गाउँलाई सम्पन्न र भोकमरीमुक्त बनाउने अभियानमा सहभागी छिन्। उनले मिस वल्र्डमा जानु अघि बनाएको चेपाङ गाउँ र त्यहाँका बालबालिका सहितको भिडियोले यतिबेला थप चर्चा कमाइरहेको छ। मंगलबारमात्रै उनले आफ्नो भिडियोका बारेमा फेसबुक पेजमा आफ्नो धारणा राखेकी छिन्।

आधा वर्ष पनि नधान्ने सुख्खाखेतीका भरले उनीहरूको जीवन सहज नहुने उनले उल्लेख गरेकी छिन्। सबैको सहयोगबाट नै उनीहरूलाई अगाडि बढाउन सकिने भन्दै तत्कालका लागि जाडोबाट बच्न कम्बल तथा खाद्यान्नका लागि सहयोगी हातहरू आइरहेको उल्लेख गरेकी छिन्।
हालैमात्र तेस्रो प्रतिस्पर्धाका रुपमा हेड टु हेड च्यालेन्ज पनि सकिएको आयोजकले जनाएको छ। खतिवडाले सबै प्रतिस्पर्धीले त्यसमा आफ्नो तर्फबाट उत्कृष्ट क्षमता प्रदर्शन गरेको उल्लेख गरेकी छिन्। ट्यालेन्ट राउन्डमा भने उनले सांगीतिक कविता भन्ने सोच बनाएपनि प्रतिस्पर्धाको नियम अनुसार त्यो सम्भव नभएकाले बदल्नु परेको स्टाटसमार्फत जनाएकी छिन्। श्रृंखलाले मिस वल्र्डमा लगेको परिचय भिडियोमा नेपालको समग्र सुन्दरतासँगै आफ्नो परिचय प्रदर्शन गरेकी छिन्।























प्रतिक्रिया