मंगलबार, २४ असार २०८२

एनपीएल मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा

समयपोष्ट २०८१ मंसिर ११ गते २०:०८

Advertisement

डिशहोमले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार प्राप्त गरेको छ। यस साझेदारीअन्तर्गत, डिशहोमले नेपाली क्रिकेट प्रेमीहरूलाई एनपीएल २०२४ का सम्पूर्ण खेलहरू डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी यूट्यूब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यो अवसरलाई नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउँदै भने, “डिजिटल स्ट्रिमिङ अधिकार प्राप्तिले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्नेछ। यसले देशभरिका क्रिकेट प्रेमीहरूलाई एकसाथ जोड्ने हाम्रो प्रयासलाई बलियो बनाएको छ।”

एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी आठ फ्रेन्चाइज टिमहरूले राउन्ड-रोबिन फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कुल ३२ खेल खेलिने छन्, जसले नेपाली क्रिकेटमा नयाँ रोमाञ्चकता थप्ने विश्वास गरिएको छ। म्याचहरू त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगिताको पहिलो सिजन १५ मंसिरदेखि ६ पुस २०८१ (३० नोभेम्बरदेखि २१ डिसेम्बर २०२४) सम्म सञ्चालन हुनेछ।

डिशहोमले नेपाली क्रिकेटको विकास र विस्तारमा निरन्तर योगदान गर्दै आएको छ। यस पटकको एनपीएल २०२४ लाई सहज रूपमा देशभर हेर्न सक्ने गरी डिशहोमले डिजिटल पहुँचलाई सुलभ बनाएको छ। यो डिजिटल साझेदारीले अब नेपाली क्रिकेटका प्रशंसकहरूले जुनसुकै स्थानबाट खेलहरू हेर्न सक्ने अवसर प्रदान गर्नेछ।

Advertisement

डिशहोम, नेपालको अग्रणी टेलिभिजन, इन्टरनेट सेवा, र डाटा सेन्टर सेवा प्रदायक, नेपाली खेलकुदमा अझ ठूलो योगदान गर्न प्रतिबद्ध रहेको छ। यस पहलले नेपाली क्रिकेटलाई नयाँ युगमा प्रवेश गराउने र देशभरका खेल प्रेमीहरूको उत्साहलाई थप सशक्त बनाउने विश्वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री