मंगलबार, ६ साउन २०८२

क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले गर्यो नयाँ बीमालेख योजना सार्वजनिक

समयपोष्ट २०८१ मंसिर ५ गते २१:३०

नेपाल बीमा प्राधिकरणबाट लघु बीमा व्यवसायको स्वीकृति प्राप्त क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमाको क्षेत्रमा आफ्नो अग्रणी भूमिका सुदृढ गर्दै नयाँ योजना सार्वजनिक गरेको छ। गरिब, न्यून आय भएका वर्ग, पिछडिएका क्षेत्रका बासिन्दा तथा सीमांतकृत समुदायलाई लक्षित गर्दै कम्पनीले “समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना” सार्वजनिक गरेको हो।

यस योजना अन्तर्गत बीमित व्यक्तिले नियमित ५-५ वर्षको अन्तरालमा बीमांक रकमको एक निश्चित प्रतिशत अग्रिम भुक्तानी प्राप्त गर्नेछन्। बीमा अवधि समाप्त भएपछि बाँकी बीमांक रकम र थप सुनिश्चित भुक्तानी प्रदान गरिनेछ। यसले जीवनकालमा आउने विभिन्न आर्थिक आवश्यकताहरू जस्तै: पढाइ खर्च, विवाह, सांस्कृतिक कार्य, वा व्यवसाय सञ्चालनका लागि सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

योजनाको बीमांक रकम न्यूनतम ५०,००० रुपैयाँ देखि अधिकतम ५ लाख रुपैयाँसम्म राखिएको छ। यस योजना अन्तर्गत बीमितको प्रवेश उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५० वर्ष सम्म राखिएको छ। बीमा अवधि १५, २० र २५ वर्षका विकल्पका साथ राखिएको छ भने बीमाशुल्क भुक्तानी अवधि बीमा अवधि बराबर राखिएको छ। बीमाशुल्क भुक्तानीका तरिकाहरू वार्षिक, अर्धवार्षिक र त्रैमासिक छन्।

यस योजनाले अग्रिम रकम फिर्ता, न्यून बीमाशुल्क, सर्वोत्कृष्ट बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितका लागि भलाई, वृद्धावस्थामा सहारा, बालबच्चाको भविष्य सुनिश्चित गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने कम्पनीले विश्वास व्यक्त गरेको छ। बीमाशुल्क बापत न्यून रकम बुझाएर बीमालेख खरिद गर्दा नै जीवन सुरक्षाको सुनिश्चितता प्राप्त गर्न सकिन्छ।

यस योजना अन्तर्गत बीमाङ्कको निश्चित रकम फिर्ता हुँदै जाँदा पनि पूर्ण बीमाङ्क बराबरको जीवन सुरक्षाको सुनिश्चितता कायम रहनेछ। थप रूपमा, दुर्घटनामा मृत्यु भएमा १०० प्रतिशत बीमांक रकम, अंगभंग भएमा १०० प्रतिशत सम्मको अंगभंग सुविधा र अशक्तताको अवस्थामा बीमाशुल्क छुट सुविधा पनि उपलब्ध हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री