सोमबार, ५ साउन २०८२

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा, १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमता

समयपोष्ट २०८१ कार्तिक २२ गते १४:०६

रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर लामो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। बुधबार साँझ ७.५ बजे यस प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो।

यस प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि चार्ज गरिएको छ। यस सबस्टेसनमा २२०/१३२ केभी क्षमताको १६० एमभिएका दुईवटा बैंक गरी ३२० एमभिए र १३२/३३ केभीतर्फ, ५० एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन्। यस आयोजनाको त्रिशूली थ्री बी हब सबस्टेसन भने यसअघि नै सञ्चालनमा आइसकेको थियो।

चिलिमे–त्रिशूली प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमता राख्छ। त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न यो प्रसारण लाइन महत्वपूर्ण छ।

करीब ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी छ भने जर्मन विकास बैंक (केएफडब्लू)को अनुदान पनि रहेको छ। युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)बाट सहुलियतपूर्ण ऋणसमेत प्राप्त भएको छ।

हालका लागि चिलिमे जलविद्युत्को अगुवाइमा निर्माण भएका १११ मेगावाट क्षमताको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री