बिहीबार, १३ वैशाख २०८१

संशोधन प्रस्ताव पारित हुन्छ : मन्त्री नायक 

समयपोष्ट २०७३ मंसिर १५ गते ११:२४

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् । 
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् । उनले भने,‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले साँढ तीन महिना मेहनत गरेर ल्याएको प्रस्ताव हो, यो कुनै रातारात ल्याईएको प्रस्ताव होईन, यसमा कुनै सत्यता छैन् ।’
मन्त्री नायकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिलेको संशोधन प्रस्तावमा विरोध गर्ने कुनै ठाउँ नै नरहेको समेत दाबी गरे । मन्त्री नायकले थपे,‘एमालेले कुन धरातलमा उभिएर यसको विरोध गरेको छ, मलाई त आश्चर्य लागेको छ ।’ 
उनले काँग्रेसका तत्कालिन सभापति शुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको प्रस्ताव बमोजिम नै अहिलेको सरकारले सिमांकन सम्बन्धी संशोधन प्रस्ताव ल्याएको दाबी गर्दै थपे,‘कि त ओलीजीले भन्न सक्नुपर्छ, हिजो आफूले गरेको हस्ताक्षर राष्ट्रघाती थियो भनेर ? होईन भने साम्प्रादायिक नारा दिएर के फाईदा हुन्छ ?’
मन्त्री नायकले सिमांकनको विवाद समाधानको लागि संघीय आयोग बनाउने कुरा भैरहेको सन्दर्भमा यसरी साम्प्रादायिक नारा दिएर मुलुकको समस्याको समाधान हुने भन्दापनि झन समस्या बढ्ने चिन्ता व्यक्त गरे । उनले मधेशमा जबरजस्ती दौरा सुरुवाल लगाउन लगाउनेजस्ता कुरा गरेर आन्तरिक राष्ट्रिय एकता बलियो नहुने गुनासो पोखे ।
उनले संविधान संशोधन प्रस्ताव ल्याउनुभन्दा पहिले एमालेले नागरिकताको विषयमा बढि विरोध गर्ने गरेको भएपनि अहिले संशोधन प्रस्तावमा विरोधको कुनै ठाउँ नदेखेर जनता भड्काउन तराई र पहाडको कुरा गरिरहेको आरोप लगाए । उनले थपे,‘एमालेसँग अहिले विरोध गर्नको लागि अरु कुनै नारा नै छैन ।’
उनले समावेशी र समानुपातिक प्रतिनिधित्वको लागि संविधानको पहिलो संशोधनको लागि एमालेले अग्रणी भूमिका खेलेको भनेर एमाले सचिव प्रदिप ज्ञवालीले दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै भने,‘एमालेले त्यतिकै दिएको हो र ? त्यसको लागि आन्दोलन भएन र ? हामीले भीख माँगेर उहाँहरुले दिनुभएको र, त्यसैले धाक लगाएर कुरा नगरे हुन्छ ?’
उनले संविधान कार्यान्वयनको लागि पनि मुलुकलाई निर्वाचनतर्फ लैजानुपर्ने आवश्यकत्ता भएको उल्लेख गर्दै त्यसलाई सबै दलहरुले महशुस गरेर अघि बढ्नुपर्नेमा जोड दिए । चुनाव सबै दलहरुको लागि साझा मिलनविन्दु भएकोले एमाले नेतृत्वले पनि सोही अनुरुपको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो । मन्त्री नायकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वदायी भूमिकाबाट पन्छिन नमिल्ने बताए । 
उनले संविधान संशोधन प्रस्तावलाई लिएर माओवादी केन्द्रकै नेताहरुको असन्तुष्टी छ भनेर बाहिर हल्ला भएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । मन्त्री नायकले थपे,‘हाम्रो पार्टीमा कुनै विवाद छैन, कोही टोपबहादुर सोपबहादुरको विरोध छैन ।’
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने ठोकुवा गरेका छन् । 
उनले संविधान संशोधन प्रस्ताव दर्ता भएलगत्तै ५ नम्बर प्रदेशका जनताहरु आन्दोलनमा उत्रिएको बताउँदै भने,‘५ नम्बर प्रदेशका जनताहरुमा छुट्टिएर बस्नुपर्छ भन्ने भावना छैन, अहिले त्यहाँका जनताहरु आमहड्तालमा उत्रिएका छन् ।’
नेता भण्डारीले ५ नम्बर प्रदेशमा कुनै विवाद नै नभएको ठाउँमा विवाद र द्धन्द्ध उत्पन्न गराउनेगरि प्रस्ताव आएको भन्दै त्यसको विरुद्धमा जनताहरु स्वतस्र्फुत सडकमा उत्रिएकोले यो प्रस्ताव कुनै हालतमा पारित हुन नसक्ने जिकिर गरे । उनले अघि थपे,‘अरु विवाद रहेको प्रदेशको समाधान चाहीँ आयोगलाई जिम्मा दिने भन्ने कुरा आएको छ, यसभित्र गन्ध छ ।’
उनले विभिन्न संघर्षबाट प्राप्त भएका उपलब्धिहरु संस्थागत गर्न नसकेको र अहिलेको व्यवस्था चलाउन नजानेको भन्दै अब हरेक कुराहरुको छिनोफानो जनमतसंग्रह गर्नुपर्ने माग गरे । 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले राजनीतिक द्धन्द्ध निम्त्याउनेगरि संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै उक्त प्रस्ताव कुनै हालतमा पारित नहुने ठोकुवा गरे । 
ज्ञवालीले मध्यरातमा सरकारले प्रस्ताव ल्याउनु नै यसको नियती प्रष्ट हुने बताउँदै भने,‘यो सरकारको नियत प्रष्ट हुन्छ, मिलेर बसेको समूदायमा फाटो ल्याउनेगरि सरकारले प्रस्ताव ल्याएको छ, यो कुनै हालतमा मान्य छैन्, मिलेर बसेको समूदायकोवीचमा यो सरकारले पेट्रोल हालेर सलाई कोर्ने काम गरेको छ ।’ यद्धपी उनले संघीयतामा मुलुक गएकोले यसको कार्यान्वयनमा नगईकन संशोधन गर्नु न्यायोचित नहुने स्पष्ट पारे ।
उनले अहिले नेपालमा दुई वटा राष्ट्रियता स्थापित गर्नको लागि प्रपञ्च रचिएको भन्दै त्यसको विरुद्धमा आफ्नो पार्टीले सशक्त विरोध गर्ने चेतावनी दिए । अहिले सरकारले अघि सारेको संशोधन प्रस्ताव अनुसार प्रदेशको सिमांकन कुनै हालतमा हुन नसक्ने उनले जिकिर गरे । उनले भने,‘कुन सिद्धान्तको जगमा बसेर काँक्रो चिरेझैं प्रदेश चलाउनुभएको हो, यसबारेमा प्रचण्डले जवाफ दिनुपर्छ ।’
ज्ञवालीले मुलुकलाई दुर्घट्नामा जानबाट रोक्नको लागि पनि सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गरे । उनले अघि थपे,‘सरकार गठन गर्दा प्रचण्डजीले को–को सँग सम्झौता गर्नुभएको थियो, उहाँले संशोधन प्रस्ताव ल्याउनुभयो, अब ग्रहशान्त्रि कट्यो, प्रस्ताव फिर्ता लिए राम्रो हुन्छ ।’
मधेशी मोर्चाका नेता अनिल झाले संशोधन प्रस्ताव आउनु सकारात्मक भएको भन्दै यसलाई मोर्चाले उपयोग गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । 
उनले तुलनात्मक रुपमा प्रस्ताव सकारात्मक रहेको उल्लेख गर्दै अहिले नै मोर्चाले हर्ष र बढाई गर्ने कुनै ठाउँ नभएको स्पष्ट पारे ।  
झाले अघि थपे,‘प्रस्ताव आओस् भन्ने हाम्रो चाहना थियो, प्रस्ताव आएको छ, सकारात्मक छ, हाम्रो माग पूरा गर्नको लागि एक÷दुई  पाईला अघि बढेको छ ।’ प्रस्तावबारे मोर्चाको आज बस्ने बैठकले आफ्नो धारणा सार्वजनिक गर्ने समेत उनले जानकारी दिए । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले आफ्नो पार्टीसँग कुनै छलफल नै नगरी संविधान संशोधन प्रस्ताव ल्याएको जिकिर गरेका छन् । उनले संशोधन विद्येयक आएसँगै राजनीति तरँगित बनेको समेत स्पष्ट पारे । 
गिरीले भने,‘यो सरकारको तेस्रो घटकको रुपमा रहेको हाम्रो पार्टीसँग संविधान संशोधनबारे सल्लाह र सुझाव लिएन् ।’ उनले तराई र पहाडलाई अलग बनाउनेगरि संशोधन प्रस्ताव आउनु दुर्भाग्य भएको टिप्पणी गरे । उनले अघि थपे,‘धोती र टोपीको नारा अब लगाउनुहुँदैन् ।’
गिरीले अहिलेको संशोधन प्रस्ताव के को लागि भनेर आफूहरुले अहिलेसम्म बुझ्न नसकेको भन्दै थपे,‘मुलुकलाई गृहयुद्धमा लैजानको लागि हो कि ? वा समस्याको समाधानको लागि हो, मैले बुझ्न सकेको छैन् ।’ उनले राष्ट्र र राष्ट्रियतामाथि अहित हुने कुराको विपक्षमा राप्रपा उभिने बताए । 
तपाईको पार्टीको राष्ट्रिय अध्यक्षले त सरकारले ल्याएको संशोधन प्रस्तावको समर्थन गरेर अघि बढ्ने बताउनुभएको छ नि भनेर पत्रकारले राखेको जिज्ञासामा उनले भने,‘उहाँ हाम्रो राष्ट्रिय अध्यक्ष हो नि, उहाँलाई बोल्ने छुट छ ।’
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री