आइतबार, २३ वैशाख २०८१

भारतका विभिन्न सहर पुग्नका लागि १३ वटा रुट स्वीकृत, बस चलाउन आधिकारिक सञ्चालकको आवेदन माग

समयपोष्ट २०८० मंसिर १४ गते १०:२८

Advertisement

यातायात व्यवस्था विभागले नेपाल र भारतबीच यात्रुवाहक बस सेवा संचालनका लागि आधिकारिक सञ्चालकको आवेदन खुलाएको छ ।

विभागले बिहीबार सुचना जारी गर्दै कम्पनी छनोटका लागि व्यवसायीहरुलाई ३५ दिन भित्र आवश्यक कागजात पेस गर्न भनिएको छ।

विभागले सन् २०१४ मा भएको सम्झौतामा आधारित रहेर आवेदन माग गरेको हो।

सडक मार्ग हुँदै भारतका विभिन्न सहर पुग्नका लागि नेपाल र भारतबीच १३ वटा रुट स्वीकृत भएका छन्। जसमा काठमाडौं-पटना-बोधगया, महेन्द्रनगर-दिल्ली, सिलिगुडी-काँकडभिट्टा-काठमाडौं, जनकपुर-पटना, महेन्द्रनगर-देहरादून, नेपालगंज- रूपैडिया-बरेली-मोरादावाद-हरिद्वार, नेपालगंज-रूपैडिया-लखनउ तथा दिल्ली र काठमाडौं-सुनौली-गोरखपुरसम्म सेवा उपलब्ध गराउन पाइने छ।

Advertisement

यसैगरी काठमाडौं-भैरहवा-सुनौली-गोरखपुर-लखनउ-दिल्ली, काठमाडौं-आजमगढ-बनारस, पोखरा-भैरहवा-सुनौली- गोरखपुर-लखनउ-दिल्ली र जनकपुर-मुजफ्फरपुर-गोरखपुर-अयोध्या यात्रुवाहक बस सेवा सञ्चालनका लागि आवेदन माग गरिएको छ।

२०७६ जेठ र २०७९ जेठको निर्णयअनुसार आधिकारिक संचालकको स्वीकृति प्राप्त गरिसकेका कम्पनीहरूले भने निवेदन पेस गरिरहनु नपर्ने सूचनामा उल्लेख छ। आधिकारिक संचालकका रूपमा सूचीकृत कम्पनीले भारतको समकक्षी कम्पनीसँग यातायात सेवा संचालनका लागि सम्झौता गर्नुपर्नेछ।

सम्झौतापछि मापदण्ड पूरा गरेको सवारीको हकमा विभागले बाटो इजाजत पत्र जारी गरी भारतीय निकायको स्वीकृतिका लागि पेस गर्नेछ। साथै सञ्चालन अनुमति प्राप्त गर्नका लागि दुई चालक र दुई सहचालकको नियुक्ति पत्र आवश्यक पर्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री