शुक्रबार, १४ वैशाख २०८१

फास्टट्रयाकमा आठ वर्षदेखि बजेट विनियोजन

समयपोष्ट २०७३ कार्तिक २३ गते ३:२१

 बहुप्रतीक्षित र सधैँचर्चामा रहने काठमाडौं–तराई–मधेस ‘फास्टट्रयाक’ आयोजनालाई सरकारले बजेट विनियोजन गर्न थालेको लगातार आठ वर्ष पूरा भएको छ । तर, आयोजना निर्माणको काम अझै सुरु भएको छैन । अहिलेसम्म आयोजनाको काम ‘पूर्वतयारीमा’ सीमित छ ।

Advertisement

आर्थिक वर्ष ०६४-६५ मा सुरु भई ०७५ मा सम्पन्न हुने अनुमान गरिएको आयोजना कहिले सुरु गर्ने भन्ने अन्योलमा छ । काठमाडौं–तराई–मधेस फास्टट्र्याक सडक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यले निर्माण कहिले सुरु गर्ने भन्ने विषय सरकारमा निर्भर रहेको बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक भने आयोजनाको अध्ययन भइरहेको र चाँडै नै सरकारले उपयुक्त निर्णय लिने जानकारी दिए । योजनाअनुसार काम भएको भए आगामी दुई वर्षभित्र आयोजना सम्पन्न हुने थियो । तर, चर्चा र पक्ष–विपक्षमा बहस भए पनि काममा प्रगति न्यून रहेको छ ।

आयोजनाप्रमुख शाक्यका अनुसार पूर्वतयारीदेखि आयोजना सम्पन्न गर्नेसम्मको कामलाई सतप्रतिशत मान्ने हो भने अहिलेसम्म पाँच प्रतिशत काम भएको छ ।

फास्टट्रयाक १० वर्षमा सक्ने योजनाअनुसार आव ०६४-६५ देखि बजेट विनियोजन सुरु भएको हो । आठ वर्षको यस अवधिमा कुल ३ अर्ब ४८ करोड २ लाख रुपैयाँ बजेट विनियोजना भएको छ । तर, छुट्याइएको बजेटमध्ये ३५ प्रतिशत अर्थात् १ अर्ब २२ करोड ९ लाख रुपैयाँ खर्च भएको छ । यसमध्ये ९४ करोड रुपैयाँ नेपाली सेनाले ट्र्याक खोल्न प्रयोग गरेको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री