शुक्रबार, १६ चैत २०८०

काभ्रेका दोङ र बाँस्कोटा : दोस्रोपटक संसदमा ‘इन्ट्री’

rss २०७९ मंसिर १० गते १८:३८

Advertisement

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी हुनुभयो । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रेशम लामालाई तीन हजार नौ सय १६ मतान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोङले ३२ हजार आठ सय ६४ मत ल्याई विजयी हुनुभयो भने लामाले २८ हजार आठ सय ४८ मत प्राप्त गर्नुभएको छ । यस जितपछि दोङलाई दोस्रोपटक संसदीय यात्रामा प्रवेशको बाटो खुलेको छ । दोङ विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा सदस्य निर्वाचनमा २८ हजार आठ सय मत ल्याई विजयी हुनुभएको थियो । उहाँले तत्कालीन माओवादीका केन्द्रीय नेता डा बाबुराम भट्टराईपछिको लोकप्रिय मत प्राप्त गर्नुभएको थियो । विसं २०६८ मा ऊर्जा राज्यमन्त्री बन्नुभएका दोङले ऊर्जा क्षेत्रमा उल्लेख्य काम गर्नुभएको बताइन्छ ।

तेमाल गाउँपालिका–९ मुक्पामा विसं २०२७ वैशाखमा जन्मनुभएका दोङ विसं २०४४ मा नेकपा (मशाल) अर्थात् ‘मोटो मशाल’ (पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको) पार्टीको सम्पर्कमा पुग्नुभएको थियो । लगत्तै उक्त पार्टीको ‘सेल कमिटी’को सदस्य बन्नु भई पञ्चायतविरोधी आन्दोलनमासमेत सहभागिता जनाउनुभएका दोङले विसं २०४६ पछि नेकपा (मशाल), सर्वहारावादी श्रमिक सङ्गठन र नेकपा (चौम)बीच पार्टी एकता भई नेकपा (एकता केन्द्र) निर्माण भएपछि २०४८ मा नेकपा (एकता केन्द्र)को तेमाल इलाका कमिटी सदस्य हुनुभयो । विसं २०४९ मा सम्पन्न जनवादी युवा लिग जिल्ला भेलाबाट जिल्ला सदस्यमा निर्वाचित दोङ २०५० मा अखिल नेपाल थाङ्का कला मजदुर सङ्गठनको केन्द्रीय सदस्य बन्नुभयो ।

विसं २०५१ मा पार्टी विभाजनपछि नेकपा (माओवादी)को पूर्वाञ्चल ब्यूरोको कार्यालय स्टाफ भएर काम गर्दागर्दै दोङ पार्टीले ‘सशस्त्र जनयुद्ध’ गर्ने रणनीति लिएपछि २०५२ फागुन १ गतेदेखि ‘जनयुद्ध’को पहिलो मोर्चामा सहभागी हुँदै विभिन्न स्थानमा गरिएका गतिविधिमा अग्रमोर्चामा लाग्नुभएको थियो । उहाँले मुख्यतः काभ्रेपलाञ्चोकको तेमाल, महाभारत, खानीखोला र ललितपुरको दक्षिणी इलाकामा पार्टी र आन्दोलनलाई स्थापित गर्ने काममा गर्नुभयो ।

कठोरपूर्ण ‘भूमिगत अवस्था’मा समेत पार्टीको सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्नुभएका दोङ २०५५ मा इलाका सेक्रेटरीको भूमिकामा रहेर कुशल नेतृत्व गर्नुभएको थियो । विसं २०५७ मा उपक्षेत्रीय ब्यूरो सदस्य, २०५८ मा क्षेत्रीय ब्यूरो सदस्य, २०५८ मा जिल्ला सेक्रेटरीकोसमेत जिम्मेवारी सम्हाल्नुभएको थियो । तत्कालीन जनमुक्ति सेनाको कम्पनी कमिसार, बटालियन कमिसार हुँदै २०५९ मा रामेछाप, सिन्धुली र काभ्रेपलाञ्चोकको जनमुक्ति सेना नेपालको रेजिनल कमाण्डको कमिसारको भूमिकासमेत उहाँले निर्वाह गर्नुभएको थियो ।

विसं २०६३ मा पार्टीको केन्द्रीय सदस्य भई निरन्तर केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा रहनुभएका दोङ काभ्रेपलाञ्चोकको इन्चार्जसमेत हुनुहुन्छ ।

यस्तै काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा आफ्नो मुख्य प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी हुनुभयो । बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्नुभएको छ भने हुमागाईँले ३९ हजार चार सय ८२ मत प्राप्त गर्नुभएको हो । पूर्वमन्त्रीसमेत रहनुभएका बाँस्कोटा यसपटकको निर्वाचनबाट दोस्रोपटक संसदीय यात्रामा हुनुहुन्छ ।

बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा ५४ हजार चार सय २७ मत (तकालीन निर्वाचनमा नेपालमै दोस्रो भारी मत) प्राप्त गरी विजयी हुनुभएको थियो । विसं ०७४ चैतदेखि २०७६ फागुनसम्म सञ्चार तथा सूचना प्रविधिमन्त्री रहनुभएका बाँस्कोटाले केही समय सहरी विकासमन्त्रीको रूपमा पनि कार्यभार सम्हाल्नुभएको थियो ।

विसं २०२३ मा मण्डन देउपुर नगरपालिका–४ मा जन्मिनुभएका बाँस्कोटाले स्थानीय डेडीथुम्का उच्च माविबाट (एसएलसी), काठमाडौँको रत्नराज्य बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह तथा रत्नराज्य क्याम्पसबाटै कला र साहित्यमा स्नातक उत्तीर्ण गर्नुभएको छ ।

विसं २०३८ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा आवद्ध भई राजनीतिक यात्रा सुरु गर्नुभएका बाँस्कोटा विसं २०४३ मा अनेरास्ववियुको जिल्ला सचिव र २०४५ मा जिल्ला अध्यक्ष निर्वाचित हुनुभएको थियो । विसं २०४५ मै युवासङ्घको सदस्य बन्नुभएका बाँस्कोटा २०४७ देखि २०५० तथा २०५४ देखि २०५८ सम्म एमाले काभ्रेपलाञ्चोकको जिल्ला कमिटी सदस्य रहनुभयो । यस्तै विसं २०५३ देखि २०५९ सम्म काभ्रे–काठमाडौँ सम्पर्क मञ्च जिल्ला कमिटीको सचिव बन्नुभएका उहाँ २०५९ देखि २०६३ सम्म एमाले जिल्ला कमिटीको सहसचिव तथा २०६४ देखि २०६६ सम्म जिल्ला कमिटीको सचिव हुँदै २०६७ देखि २०७१ सम्म दुई कार्यकाल एमाले जिल्ला कमिटीको अध्यक्ष बन्नुभयो । बाँस्कोटा यसअघि एमाले केन्द्रीय सदस्य रहँदै हाल पोलिटब्यूरो सदस्य छन् ।

पत्रकारिता क्षेत्रमासमेत स्थापित बाँस्कोटा प्रेस चौतारी नेपालको संस्थापकसमेत हुनुहुन्छ । आन्दोलन र राजनीतिक सक्रियताका कारण उहाँ पटक–पटक पक्राउसमेत पर्नुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित सामाग्री