बिहीबार, २० फागुन २०७७

मतदाता शिक्षा प्रभावकारी बनाउन कपिलवस्तुमा नमूना मतदान, कत्तिको प्रभावकारी होला ?

समयपोष्ट २०७४ मंसिर १४ गते ६:१२

आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यहाँ मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान गराइएको छ । 

Advertisement

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको जानकारी दिएसँगै सोही चुनौतीलाई मध्यनजर गर्दै अहिले जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै लगेको हो । 

निर्वाचन कार्यालयले बुधबार यहाँका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणसँगै ‘नमूना मतदान’ अभ्यास गराएको हो । कार्यालयले जिल्लाका ४१० मतदानस्थलमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई सदरमुकाम तौलिहवामा दुई दिने प्रशिक्षणको आयोजना गरेको छ । 

Advertisement

निर्वाचनमा जिल्लाका विभिन्न स्थानमा खटिने कर्मचारीलाई कपिलवस्तु बहुमुखी क्याम्पसमा प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ । बुधबार मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको जिल्ला निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले बताए। 

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री