बिहीबार, १ साउन २०८२

‘डाक वचन’मा खडेरीको सम्झना

समयपोष्ट २०८२ असार ३० गते ६:२६

Advertisement

मधेसको प्राचीन मिथिलाक्षेत्रमा अहिलेपनि खेतीपाती र मौसमका कुरा आउने बित्तिकै पाका किसान ‘डाक वचन’ सम्झन्छन् । मौसम र खेतीपातीका सन्दर्भमा सिद्धपुरुष ‘डाक’ले करिब ३०० वर्षअघि गरेका भविष्यवाणी पाका उमेरका मैथिल बासिन्दालाई कण्ठस्त छ । मौसमवेत्ता र भविष्यवेत्ता मानिने ‘डाक’ मैथिल जनजीवनका सम्झीरहने पात्र मानिन्छन् ।

“अखाढ सुख्खा, सावन दुःखद्, भादो भैंसल, अगहन झखत” (असारमा पानी नपर्दा साउन दुःखकै हुन्छ, अनि भदौ पनि राम्रो हुँदैन, सारमा मङ्सिर टोलाएर बस्नुपर्ने हुन्छ) यसपालि पानी नपरी असार बित्दा दिक्क हुनुभएका भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय दीपनारायण चौधरी थारु डाकवचन सम्झँदै भन्नुहुन्छ, “अखाढक मार सालभर खेप परैय” (असारमा पानी नपरेको मार (मर्का) वर्षभरि झेल्नुपर्छ) ।

मिथिलामा प्रायः मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको व्यावहारिक प्रचलन हुँदा सौरमासभन्दा चन्द्रमासको गणनामा महिना गनिन्छन् । चन्द्रमासले शुक्रबार नै साउन लागेपछि चौधरीले डाकवचन सम्झँदै साउनको पनि छन्द निको नदेखिएको बताउनुभयो । शुक्रबार साउन कृष्णपक्ष सुरु भएपनि जेठको प्रचण्ड राप बिस्र्याइ रहेको उहाँ बताउनुहुन्छ । यसपालि पानी नपरेर धानबाली लगाउन नपाएका चौधरीजस्तै पाका किसान अहिले दिक्दार देखिन्छन् ।

यहाँ ‘डाक वचन’ सुन्ने सुनाउने प्रकृयाबाट पुस्तापुस्तामा सर्दै आएको छ । एक अक्षर पढ्न÷लेख्न नजान्ने भङ्गाहा–४ पलारका ८० वर्षीय चौठी बाँतरलाई ‘डाक वचन’का थुप्रै पंक्ति कण्ठस्त छन् । यद्यपि अहिलेका पुस्ताले यी पुराना कुरामा ध्यान नदिने गरेका बाँतरको गुनासो छ । आफूले बाजेको काखमा खेल्दैदेखि उहाँबाट डाकवचन सुनेको बाँतर बताउनुहुन्छ ।

Advertisement

अहिलेको मौसम पानी पर्ने छाँटको नभएको डाकवचनका आधारमा बाँतरको निष्कर्ष छ । “सावन अन्हार, न बादर न बयार, पिया परदेश किसान लाचार” (साउन न अध्याँरो छ, न बादल न मेघ, प्रियजन परदेश छन्, यस्तो बेला किसान लाचार हुन्छन् ) डाकवचनका पंक्ति सम्झँदै बाँतर भन्नुहुन्छ, “सावन जौँ रहै निरभ्र गगन, खेत सुखाय, मरय जनमन” (साउनमा आकाश बादलबिनाको देखिनु वर्षा नहुने सङ्केत हो । यसले जग्गा रुखो बनाउँछ र जनजीवन सङ्कटमा पर्छ ) ।

मिथिला क्षेत्रमा ‘डाक’ सिद्धपुरुष महाज्ञानी यायावर (घुमन्ते) सन्त मानिन्छन् । प्राचीन मिथिला क्षेत्रका बस्तीबस्तीमा उहाँ पुग्नु भएको र सर्वसाधारणलाई खेतीपाती, मौसमसम्बन्धी अड्कल गर्ने ज्ञान, पारिवारिक सम्बन्धमा ख्याल गर्न पर्ने कुरा, स्वास्थ्य ज्ञान र जीवनमा आर्जित अनुभव बताएर अर्ति दिने गर्नु भएका दृष्टान्त सुनिने गरेको यहाँका पाकाजन बताउँछन् । पछिल्ला करिब ३०० वर्षयता मैथिल जनजीवनमा ‘डाक’ को बलियो प्रभाव रहेको मटिहानी–७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।

मिथिलाको जनमनमा बसेका मौसमवेत्ता डाकको समय यकिनसाथ भन्न नसकिएपनि १९औँ शताव्दीको पूवार्द्ध हुनसक्ने अड्कल गरिएको छ । गृहस्थ जीवनका सबै पाटामा डाकका भविष्यवाणी छन् । तर मिथिलामा मुख्यतः खेतीपाती र मौसमबारे बढी चासो राखिन्छ । डाकका चौपाइ (श्लोक)का प्रयोग भएका शब्दले यो समय १९औँ सताव्दीको पूवार्द्ध हुनसक्ने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ ।

यसपालि धानको बीउ राख्नदेखि रोपाइँको समयसम्म अनुकूल वर्षा नहुँदा सिङ्गो मधेस मुख्यबाली लगाउन नपाएर आक्रान्त छ । खडेरीले पिल्सिएका मैथिल दिनको लक्षण र ‘डाक वचन’का उक्ति सम्झेर विरक्तिएका छन् । अन्नको भण्डार मानिने मधेसमा धान बाली लगाउन नपाएपछि किसान विलखबन्द परेका छन् ।

यसैबीच मधेस प्रदेश सरकारले गत बिहीबार वातावरणीय असन्तुलनले वर्षा नहुँदा धानखेती गर्न नपाइएपछि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रदेश सरकारको सुख्खाग्रस्त क्षेत्र घोषणाले मात्र राहत नहुने किसानको पीडा छ । अब तीनै तहका सरकारले यो खडेरीबाट जोगाउन र नयाँ बाली लगाउने काममा किसानलाई उत्प्रेरित गर्न सक्नुपर्ने किसान प्रतिनिधि बताउँछन् ।

“प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा त ग-यो, यति घोषणाले त किसानलाई राहत हुँदैन नि, अब धानबाली लगाउन नपाएका किसानलाई अर्को बाली लगाउन उत्प्रेरित गर्नसँगै साधन स्रोतको पहुँच दिनपर्छ” महोत्तरीकै बासिन्दा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य लक्ष्मण महतो भन्नुहुन्छ, “यसबीच विभिन्न राहतका कार्यक्रमले जनतालाई जोगाइ राख्न तत्काल पहलकदमी बढाइन पर्छ ।”

मधेसमा हालसम्म धान रोपाइँ २५ प्रतिशत कटेको छैन । अझ महोत्तरीको धान रोपाइँ त १० प्रतिशत पनि पुगेको छैन । मधेसका आठ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ भएको महोत्तरी हो ।

जम्मा ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ हजार हेक्टर धानखेतीको क्षेत्र मानिन्छ । जसमध्ये हालसम्म चार हजार हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । रोपाइँ भएको खेतमा पनि लामो खडेरीले धजा फाटेर धानका बोट पहेंलिएका छन् ।

मधेसमा तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल धानखेतीका लागि योग्य मानिन्छ । तर हालसम्म करिब ९३ हजार हेक्टरमा मात्र धान रोपाइँ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री