शुक्रबार, १४ वैशाख २०८१

मलाई राजनीतिकर्मीका साथै विकासकर्मी भनेर पनि चिन्छन् : पम्फा भुसालको अन्तर्वार्ता

समयपोष्ट २०७४ मंसिर ९ गते १०:३२

प्रदेश र प्रतिनीधिसभाको चुनावमा महिला उम्मेदवारी कम रहेको विषय अहिले बहसमा छ । थोरै महिला मात्र चुनावी मैदानमा उत्रेका छन् । यस्तैमा एक हुन्, माओवादी प्रवत्ता समेत रहेकी नेत्री पम्फा भुसाल । उनी ललितपुर–३ बाट प्रतिनीधिसभाका लागि चुनाव लडेकी छिन्, जहाँबाट उनले २०६४ को संविधानसभामा जित हासिल गरेकी थिइन् । सवै राजनीतिक दलबाटै हेर्ने हो भने भुसालजस्तो सिनियर महिला चुनावी मैदानमा छैनन् । विद्यार्थी राजनीतिदेखि जनयुद्धसम्मको मोर्चामा प्रभावकारी भूमिका खेलेकी भुसाल अहिले कसरी चुनाव लड्दैछिन् ? चुनाव जित्ने उनको सम्भावना के ? र, महिलाहरु किन चुनावी मैदानमा कम आए ? यीनै विषयमा उनीसँग समयबोधले गरेको कुराकानी : 

Advertisement

दश वर्षपछि फेरि चुनावमा लड्दै हुनुहुन्छ, कस्तो अनुभूति भएको छ ?

२०६४ को निर्वाचनमा म नयाँ थिएँ । जनताले पनि उम्मेदवार को हो भनेर चिन्न खोज्ने र मैले पनि समग्र जनतालाई चिन्नुपर्ने स्थिति थियो । २०६४ मा निर्वाचित प्रतिनिधि, मिडिया र मैले गरेका कामले अहिले जनताको बीचमा अपरिचित छैन । अर्को, २०६४ मा मैले राम्रो संविधान लेख्नका लागि मत दिनुहोस् भन्ने एजेण्डा लिएर गएको थिएँ । अहिले आर्थिक विकास र समृद्धिका निम्ति काम गर्न, जनताको जीवनस्तर उठ्ने गरी यो ठाउँको विकास गर्छु, मत दिनुहोस् भनेकी छु । पहिले र अहिले एजेण्डा पनि अलि फरक र सन्दर्भ पनि अलिकति परिवर्तित छ । 

घरदैलोमा हिडिरहनुभएको छ, मतदाताका अपेक्षा के छन्, चुनावी प्रचारलगायतका कामलाई कसरी अगाडि बढाउनुभएको छ ?

एउटा प्रचार सामग्री जनताको घर–घरमा पुर्याउने, अर्को हाम्रो चलन प्रत्यक्ष भेट्ने काम भइरहेको छ । मकहाँ भोट माग्न आएका छैनन् भन्ने हुन्छ । त्यसैले म हरेक वडामा ९० प्रतिशतजति जनताको घरमा पुगेकै छु । जनताकोमा पुग्दा आफ्नो प्रतिबद्धतापत्र दिने, जनताका सबै किसिमका आवश्यकता र गुनासाहरू संक्षिप्तमा सुन्ने गरेकी छु । जनताका धेरै ठूला गुनासा छैनन् । बाटो, पानी, ढल, सरसफाइ भएन भन्ने गुनासा छन् । घरदैलोमा जाँदा धेरै समय पनि हुँदैन र अरू व्यापक विषय जनताले राख्न भ्याएका पनि छैनन् । 

pampha bhusal 2

तपाईंले ललितपुरको छुट्टै घोषणापत्र सार्वजनिक गर्नुभएको छ, त्यसमा के छ ?

मुख्य त यो निर्वाचनको मूल एजेण्डा भनेकै आर्थिक विकास र समृद्धि हो । मैले आफ्नो निर्वाचन क्षेत्रमा कहाँबाट आर्थिक समृद्धि र विकास गर्ने भन्ने कुरालाई सूक्ष्म ढङ्गले अध्ययन गरेँ । मैले सर्वेक्षण गराएँ । एघार सयदेखि हरेक तीन सय मान्छेको भीडबाट एक जनालाई फर्म भराएँ । फर्ममा उनीहरूका आवश्यकता के हुन्, समस्या के छन् भन्ने करिब डेढ महिना लगाएर बुझेँ । त्यसको रिजल्ट आउँदै गर्दा ललितपुर कला, सम्पदा र संस्कृतिले भरिपूर्ण छ । त्यसलाई आधार बनाएर यहाँ विकास र समृद्धिलाई अगाडि बढाउनुपर्छ भन्ने निष्कर्षमा पुगेँ । कला, संस्कृतिको सम्वद्र्धनबाट पर्यटनको विकास गर्न सकिन्छ । यसको विकासका लागि भौतिक पूर्वाधार, उद्योग, व्यवसाय, रोजगारको विकास कसरी गर्न सकिन्छ भन्ने स्पष्ट खाका छ । यहाँको असाध्यै राम्रो कुरा के छ भने अहिले पाटन दरबार स्क्वायर र त्यसको कोर सिटीमा मात्रै अलिकति पर्यटक आउने र थोरै गए भने बुङ्मती–खोकनासम्म जाने गर्दछन् । तर नेवार गुठी, समुदायले बचाएका संस्कृति र कला निर्वाचन क्षेत्रभरि नै  भरिभराउ छन् । हरिसिद्धि, ठैब, ठेचो, सुनाकोठी, बुङ्मती, खोकना, सैंबु सबै मेरो क्षेत्र पर्छन ।

त्यहाँ पाटन दरबार स्क्वायरबाहेकलाई एउटा पर्यटकीय चक्रपथ खडा गर्ने सोचेको छु । ती सबै स्थानहरू एक–एक ढङ्गले परिपूर्ण छन् । त्यसलाई एक्पोजर पनि दिने, होम स्टे पनि विकास गर्ने र हस्तकला, मूर्तिकला, चित्रकला जस्ता कलाहरूलाई उद्योगको रूपमा विकास गरेर लैजाने सोच छ । पर्यटकलाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरू होटल, रिसोर्ट, होम स्टेलाई विकास गरेर रोजगारीको सिर्जना गर्ने र जीवनस्तर माथि उठाउने योजना छ । अर्को रिङरोडबाहिर अझै उर्वर भूमि र कृषिमा आश्रित जनताको   सङ्ख्या  धेरै छ । त्यसलाई कृषियोग्य भूमिको रूपमा वर्गीकरण गरेर अर्गानिक खेती र परम्परागत बीउविजनको रक्षा गर्दै जाने योजना छ । अहिले उत्पादकत्व बढाउने नाममा हाइब्रिड ल्याउने, परम्परागत बीउविजनहरू लोप भएर जाने स्थिति छ । त्यसलाई जोगाउने र अर्गानिक खेतीमा एउटा पहिचान बनाउने योजना छ । अर्गानिक खेती र त्यसको बेसमा पर्यटन फस्टाउन सक्छ । 

अर्को, सहायक ढङ्गले आर्थिक वृद्धिको हिसाबले गर्ने कामहरू पनि छन् । महानगर र भर्खरै महानगरमा आएका गाउँ बस्तीहरूको विकास भौतिक पूर्वाधारहरूको विकासमा ठूलो अन्तर छ । त्यहाँ पनि बाटो, खानेपानी, ढल जस्ता आधारभूत सुविधा दिएर त्यहाँको कला, सम्पदा र साहित्यलाई बचाउँदै आधुनिकीकरणको विकास गर्ने कुरालाई जोड दिने र पाँच वर्षभित्रमा सबै बाटो कालोपत्रे गर्ने योजना छ । जति पनि बाँकी सार्वजनिक, निजी जग्गा छ, त्यसलाई ग्रिनरी बनाउने । अर्को, यहाँ वागमती, नख्खु, गोदावरी, कर्मानशा नदी छन् । त्यसमा दुवैतर्फ कोरिडोर निर्माण गर्ने र ग्रिनरी विकास गर्नुपर्छ । जस्तो– युएनपार्क छ, त्यस्तै सबैतिर बनाउने र बूढाबूढी, सबै किसिमका मानिसहरूलाई हिँडडुल, मनोरञ्जन गर्न सजिलो होस् । एउटा बहुआयामिक ढङ्गले ग्रीन एण्ड क्लिन ललितपुर भन्ने पनि मेरो अर्को थिम हो । 

pampha 2

यो खेलकुदको पनि सहर हो । काठमाडौँबाट प्रवेश गर्नेबित्तिकै कुपण्डोलमा फ्रेण्डस् क्लब, भित्रबाट गए सानेपा क्लब, अर्कोतिरबाट आए पुल्चोक क्लब जाउलाखेल, थ्री स्टार सातदोबाटो अन्तर्राष्ट्रिय स्ट्याण्डर्ड मेन्टेन गर्ने खालका खेलकुदका क्लब छन् । त्यसैले खेलकुद र युवाहरूलाई स्रोत–साधनसम्पन्न बनाइदिने, क्लब निर्माण गरिदिने योजना छन् । 
ललितपुर शिक्षाको पनि हब हो । सबै वर्गका शिक्षालाई गुणस्तरीय बनाउने । सुविधामा पनि अध्ययन गर्न पाउने परिस्थिति बनाउने । अर्को, स्वास्थ्यको क्षेत्रमा पनि ललितपुर राम्रो छ । वृद्धवृद्धा, महिलाहरूको स्वास्थ्य जाँच्न र खास रोगका लागि निःशुल्क उपचार गरिदिने ढङ्गबाट पनि अघि बढ्नुपर्छ भनेर मैले बहुआयामिक ढङ्गले आफ्नो कुरा राखेको छु । तर मेरा मुख्य एजेण्डा आर्थिक विकास र समृद्धि, पर्यटन, भौतिक पूर्वाधारको विकास र क्लिन एण्ड ग्रीन ललितपुर नै हुन् । 

केही जिल्लाहरूमा वाम गठबन्धनबीच अन्तरविरोध जस्तो देखिन्छ, यहा“ के छ ?

प्रारम्भमा सबै पार्टीभित्र आकांक्षी थिए । माओवादी र एमाले दुवै पार्टीभित्र आकांक्षी थिए । एउटा पदको लागि दर्जनौँ मान्छेहरू आकांक्षी हुन्थे । त्यसको एउटा मनोविज्ञान पक्ष र अर्को तालमेलले हामीले ६० प्रतिशत छोड्नुपर्ने, एमालेले ४० प्रतिशत हामीलाई छाड्नुपर्ने केही कटे पनि । अझ तालमेल भएर जित्ने ग्यारेन्टी हुँदा अझ तीव्र आकांक्षा हुने कुरा भयो नै । त्यसले थोरै–थोरै दुवै पार्टीमा उम्मेदवार हुन खोज्नेले नपाउँदाको एउटा मनोविज्ञान असर त पर्ने नै भयो । तर क्रमशः पार्टी एकता हुने तालमेल हो भन्ने कुराले सबै चिज बिर्साइदिएको छ । एकताले असाध्यै खुसी र हर्ष देखिन्छ । त्यसमा पनि यो क्षेत्र कम्युनिस्ट पार्टीको स्थापना गर्ने संस्थापक नेताहरूदेखि बहुसङ्ख्यक जनता वामपन्थी भएको आधार क्षेत्र हो । अब त्यो इतिहासको पुनरावृत्ति गर्नुपर्छ र फेरि पनि वामपन्थी कम्युनिस्टहरूको एक किल्ला बनाउनुपर्छ भन्ने सबैलाई अन्तरमनबाट फिल भएको छ । 

तपाईंलाई व्यक्तिगतरूपमा चुनाव जित्छु जस्तो लाग्छ ?

मलाई चुनाव जित्छु भन्ने लाग्छ । आजसम्म मैले करिब ५० प्रतिशत जस्तो वडाहरू भ्याएँ । महानगरका २० वडा, गोदावरी नगरपालिकाको दुईवटा वडा पर्छ, तीमध्ये ११ वटा वडाको घरदैलो गर्दा म अहिलेसम्म गएका ठाउँमध्ये सबै ठाउँमा जितिन्छ भन्ने विश्वास छ ।

राजधानीको मत अस्थिर हुन्छ भनिन्छ । त्यो जोखिम कत्तिको छ ?

त्यत्तिको होइन ललितपुर । ललितपुरको ग्रामीण क्षेत्र स्थिर छ । गएको चुनावमा पनि माओवादीले जितेका वडाहरू धेरै छन् । भित्र आउँदा पनि एमालेले जितेका वडाहरू धेरै छन् । दुवै गरेर ७५ प्रतिशत हाम्रा गठबन्धनबाट जितेका मान्छेहरू छन् । यहाँ त्यति धेरै अस्थिर भन्ने होइन । सङ्गठित भोट पनि राम्रो छ । अलिकति भित्रको सहर, अलि सम्पन्न भयो । उनीहरूले अलिकति उम्मेदवार, लिडरसिप हेर्ने गर्दछन् । मलाई लाग्छ, यहाँ मेरै तहको मान्छे कोही पनि छैन । 

didi pampha

उम्मेदवारहरूले चुनाव खर्चिलो भयो भनेर धेरै ठाउँबाट गुनासो गरिरहेका छन् । तपाईंले कस्तो महसुुुस गरिरहनुभएको छ ?

मेरो सौभाग्य भन्नुपर्छ । यो क्षेत्र सबैभन्दा कम खर्चिलो क्षेत्र हो । मेरो जुनसुकै क्षेत्रमा म आधा घण्टामा पुग्न सक्छु । आफ्नै घरमा बस्छु, खाना आफ्नैमा खान्छु र आफ्नै गाडीमा प्रचास–प्रसार हुन्छ । एक छाक खाना हामी सबै सँगै खान्छौं । दुई–तीन सयको औषतमा हामी बिहानको खाना खान्छौं र घर–घर फर्किने हुन्छ । त्यस कारण तुलनात्मक हिसाबमा यो कम खर्चिलो निर्वाचन क्षेत्र हो । कतिपय प्रचार सामग्री भनेर आफ्नै साथीहरूले सहयोग गरिदिनुभएको छ । कतिपय ठाउँमा पारिवारिक नातेदारहरूले पनि सहयोग गरिरहनुभएको छ । कतिपय ठाउँमा खाना खाएको साथीहरूले तिरिदिनुहन्छ । त्यो खालको वातावरण बनेको छ तर अझै बीस दिन बाँकी छ । त्यसले गर्दा अलिकति केही खर्च त थपिन्छ तर त्यस्तो धान्नै नसक्ने भन्ने छैन । 

तपाईं जनप्रतिनिधि हुँदा  र नहुँदा पनि ललितपुरको विकासको निम्ति सिंहदरबार दौडिरहनुहुन्थ्यो । तपाईंले गरेका त्यस्ता उल्लेखनीय कामहरूको बारेमा बताइदिनुहोस् न ?

मैले मूल सहरभित्र गरेका सडक निर्माण, ढल र कतिपय ठाउँमा खानेपानीसम्बन्धी काम नै हुन् । अहिले महानगरभित्रका ज्यादै महत्वका सिँचाइ छन् । घोर्ले कुलो छ । दुईवटा वडा त्यसले भ्याउँछ । पहिलेको तीनवटा गाविस छम्पी एक नम्बरमा पर्छ । खोकनाबाट आउने । यता हरिसिद्धि, ठैब र इमाडोलसम्म आउने दुईवटा राजकुलोको निर्माण । त्यो विशेष गरी सिँचाइका हिसाबले महत्वपूर्ण छन् । कहिल्यै पनि खानेपानीको सुविधा नपाएका ठाउँ पनि छन् । आश्चर्य लाग्छ, हामी त्यहाँ घरदैलोमा गएका थियौँ । चोभारको नजिक थानागाउँ भन्ने माथि हाइटमा पर्छ । त्यहाँका जनताले जहिले पनि मलाई पानीको निम्ति सम्झिनुहुन्छ ।

अर्को, निजी स्कुलको राजधानी जस्तो छ ललितपुर ।  सरकारी स्कुलमा पनि पढाइ राम्रो छ । शिक्षक दरबन्दी आदि–इत्यादि पाउने तर भौतिक पूर्वाधारको विकास नभएका पुराना भवनहरू सायद मैले नबनाइदिएको भए भूकम्पका बेला सबै भत्किन्थे होला । मैले मेरो क्षेत्रका  रिङरोडबाहिरका र रिङरोडभित्रका कुपण्डोलको प्रगति माविका भवनहरू बनाइदिएको थिएँ, जसले आउँदो ७० वर्षसम्म ढुक्कसाथ जनताका छोराछोरीहरूले पढ्न पाउँछन् । सामान्य जनताको मसानघाट बनाउनेदेखि कुनै पनि यस्तो ठाउँ छैन, जहाँ मैले विकासका काम नगरेको होस् । मैले आफ्नो क्षेत्र मात्र होइन, ललितपुरमा हाम्रो पार्टीको तर्फबाट नेतृत्वदायी भूमिका भएको भएर जिल्लाका अन्य भूभागका निम्ति पनि काम गरेको छु । बाटोको निम्ति अर्बौंको योजना पारेर १ नम्बर क्षेत्रमा बाटो निर्माण हुँदैछ । त्यस कारण मलाई राजनीतिकर्मीका साथै विकासकर्मी भनेर पनि चिन्छन् । 

ठूला पार्टीहरूले महिला उम्मेदवारहरू कम मात्र उठाएका छन्, प्रतिनिधिसभामा तपाईंजत्तिको सिनियर उम्मेदवार अरू खासै देखिँदैन। त्यो अर्थमा यसलाई यहाँले कत्तिको महत्वपूर्ण  ठान्नुहुन्छ ?

मैले अहिलेसम्म कुनै पनि क्षेत्रमा पार्टीभित्र र बाहिर पनि प्रतिस्पर्धा गरेको थिइनँ । अरू महिला पनि त्यसरी नै आउनुहोस् भन्ने चाहन्छु । प्रतिस्पर्धा नगरी क्षमताको विकास हुँदैन । मैले धेरै साथीहरूलाई मुख्य सत्ता पार्टी सत्ता हो, त्यो लिनुहोस् भनेकी थिएँ । जुन तहको भए पनि पार्टीको जिम्मेवारी लिनुहोस् । राजनीतिक सत्ताको अवसर आउँछ भन्ने कुरा मैले जहिल्यै साथीहरूलाई भनिरहन्छु । अहिले चुनाव खर्चिलो भयो भन्ने ढङ्गले सबै पार्टीका र हाम्रो पार्टीका पनि महिला उम्मेदवार उठ्न हच्केका हुन् । दोस्रो, जहाँनिर सजिलै जित्ने पार्टी सङ्गठन छ, त्यहाँ महिला सिफारिसमै नपर्ने अवस्था आयो । तेस्रो, अलिकति तयार भएका महिला तालमेलले सिट नै पाउन सकेनन् । चौथो, समानुपातिकमा पार्न सकिहालिन्छ भन्ने हुने र परिन्छ भन्ने हुने । दुईवटै मनोविज्ञानले काम गर्यो । हामीले ३३ प्रतिशत महिला भनेर जुन ढङ्गले गर्यौं, त्यो आरक्षण मात्र हो भनियो भने त्यसले महिलाको नेतृत्व क्षमताको विकास कहिल्यै पनि हुँदैन । 

1-pampha_3_zUre1bi0gH

भारतमा अहिले पनि यो दलित, यो महिलाको भन्ने सिट सुरक्षित हुन्छ । कि पारिवारिक विरासत कि आरक्षणबाट मात्र महिला आएका छन्, यो राम्रो कुरा होइन । त्यसैले प्रतिस्पर्धाबाट आउने कुरा नै सही हो । एक पटक अवसर पाउने अनि काम गरेर विश्वास र क्षमताको विकास गर्ने । एक पटक समानुपातिकमा पाएका अर्को पटक त समानुपातिकमा त जानुपर्छ । त्यो ढङ्गको परिस्थिति बनाउने । जहाँ राम्रो छ, त्यहाँ महिला पठाउने र पुरुषलाई समानुपातिकमा पठाए पनि हुन्छ । ३३ प्रतिशत पुर्याउने कुरा न हो भन्ने सोच छ । अहिले कस्तो स्थिति छ भने कुनै पनि पार्टीको समानुपातिकमा पुरुष जाने भनेको करिब–करिब असम्भव छ ।

जुन ढङ्गले उम्मेदवार उठाएका छन्, उठाएका उम्मेदवारमध्ये जतिले जित्छन्, जित्दा ३३ प्रतिशत पु¥याउन महिला पठाउनुपर्ने । आफूले पाएको मतले पनि ३३ प्रतिशत पु¥याउन नसकिने स्थिति हुँदा संवैधानिक सङ्कट नै आउने परिस्थिति सिर्जना भएको छ । यो राम्रो कुरा होइन । त्यसैले अबको बहस उठ्ने सिट आरक्षण गर्नुपर्यो भन्ने छ । त्यो र समानुपातिकमा पठाउने बराबर कुरा हो । त्यो भन्दा राम्रा ठाउँमा महिला उठाउने र समानुपातिकमा पुरुष जाने । स्थितिलाई अलिकति कुरा उल्टाइदिए त नयाँ क्षमताको, नयाँ ढङ्गले विकास हुन्छ र नयाँ नेतृत्व जन्मन्छ । हाम्रो जस्तो महिला मुक्तिको एजेण्डा बोकेर नेतृत्व गरेको पार्टीले त अझ बढी यसमा जोड दिनुपर्छ । 

धेरै पार्टीहरूका महिलाका आ–आफ्ना सङ्गठन पनि छन् । सबै महिलाहरूको एक खालको अन्तरमहिला सञ्जाल पनि छ । तपाईं जस्तो ‘हेभिवेट’ नेता अरू कसैले पनि उम्मेदवारी दिएका छैनन् । यो उम्मेदवारीलाई  उनीहरूले  के भनेर रेस्पोन्स गरिरहेका छन् ?

अहिले मेरो त्यस्ता सञ्जालहरूसँग त्यति धेरै सम्पर्क भएको छैन । म आफ्नै क्षेत्रमा व्यस्त छु । एउटा अखिल नेपाल महिला सङ्घले वाम गठबन्धनका उम्मेदवारलाई जिताउँ भनेर पर्चा निकालेको छ भन्ने  मैले सुनेकी थिएँ । त्यो भन्दा बढी सुन्न पाएकी छैन । 

यो चुनावले महिलाहरूको लिडरसिप विकास गर्ने कुरामा कहीँ न कहीँ  ब्रेकरको काम गर्यो, होइन ?

बिल्कुल गर्छ । यसले चुनौती खडा गरिदिएको छ । यही स्थितिको पुनरावृत्ति हुने हो भने महिला भोटर मात्र हुन्छन् ? हुँदैनन् नि । महिलाहरूले भोट नै नहाले के हुन्छ ? महिलाको कोणबाट कसैले सोचे भने त्यो पनि आउला । त्यो राजनीतिक बहसको एजेण्डा बन्छ । आउने निर्वाचनसम्म जित्ने ठाउँमा पार्टीले महिला दिने र समानुपातिकमा पुरुष पठाउने गरे त्यति फरक पर्दैन । आलोपालो गर्दा हुन्छ । एक पटक समानुपातिकमा गइसकेकाले जहिले पनि प्रत्यक्षमा लड्न जानुपर्छ । जहिले पनि समानुपातिकको पुनरावृत्ति गर्नुहुँदैन । त्यसले कसैको क्षमता विकास हुँदैन । मैले अहिलेसम्म महिला भनेर कुनै लाभ लिएकी छैन । नोमिनेसनमा दश हजार लाग्ने रहेछ, महिला भएर पाँच हजार छुट पाएँ, त्यति नै हो । 

महिला मतदातालाई तपाईंको अपिल के हो ?

महिला आन्दोलन असाध्यै उत्कर्षमा पुग्यो । विश्वलाई पनि एउटा सन्देश दिने जस्तो । नेपालमा एकै पटक कार्यपालिका, व्यवस्थापिका, न्यायालिकामा महिला पुगे । तर अन्ततः यो निर्वाचनसम्म आइपुग्दा फेरि महिलाको हकमा हेर्दा पछि फर्कने कुरा भएको छ । महिलालाई भोटर मात्र बनाउने हो भने जहाँ महिला उठेका छन्, त्यहाँ महिलाले महिलालाई मात्र भोट हाल्नुपर्छ, पार्टी हेर्नुहुँदैन । यो बेला महिला मतदाताहरू अलि सचेत हुने, प्रश्न उठाउने बेला आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री