बिहीबार, १५ चैत २०८०

सार्कमै पहिलो प्राविधिक र व्यावसायिक शिक्षा विषयको मास्टर डिग्री अब नेपालमै, के छन् फाईदा ?

समयपोष्ट २०७४ मंसिर ९ गते ९:३०

प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सम्बन्धी स्नातकोत्तर तहमा अध्ययन अध्यापन शुरु हुने भएको छ ।  काठमाडाैं विश्वविद्यालय (केयु)अन्तर्गतको स्कुल अफ एजुकेशनले दक्षिण एशियामा नै पहिलो पटक आगामी वर्षदेखि सो विषयमा अध्यापन शुरु गर्न लागेको हो । नेपालमा हाल सो विषयमा स्नातक तह वा सो सरहसम्म मात्र अध्यापन भइरहेको छ ।

Advertisement

सार्क क्षेत्रका देशले समेत यस विषयमा सो तहमा अध्यापन शुरु नगरेका बताइन्छ । “एकातर्फ सरकारी विश्वविद्यालयबाट उत्पादन भएका जनशक्तिले बजारमा आफ्नो ज्ञान र सीप बेच्न मुस्किल छ अर्काेतर्फ निजी क्षेत्रले खोजेको जनशक्ति बजारमा पाउन धौधौ छ ।

यस्तो अवस्थालाई अन्त्य गर्न बजारको माग अनुरुप नयाँ विषयमा अध्यापन शुरु गर्न लागेका हौँ ।” केयु स्कुल अफ एजुेकेशनका डिन प्राडा महेशनाथ पराजुलीले भने ।

उनका अनुसार दुई वर्षे सो कोर्स चार सेमेष्टरमा पूरा हुनेछ । हरेक सेमेष्टरमा अभ्यास (प्राक्टिकल) गर्ने पर्ने बाध्यता रहेको छ । अभ्यासका लागि केयुको आफ्नै तालीम केन्द्र समेत रहेको छ । पाठ्यक्रमका लागि शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक तालीम तथा शिक्षा परिषद्सँग सहकार्य भएको छ । सो कोर्स पूरा गर्न रु तीनलाख शुल्क लाग्ने जनाइएको छ ।

प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास विषय अन्तर्गत प्राविधिक र व्यावसायिक गरी अलग/अलग विधा अन्तर्गत २५/२५ जना गरी कूल ५० जना विद्यार्थीलाई मात्र अध्यापन गराउने डिन प्राडा पराजुलीले जानकारी दिनुभयो ।

अध्यापन हुने विषयका पाठ्यक्रम अन्तिमचरणमा पुगेको विश्वविद्यालयले जनाएको छ । यसका लागि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित अन्य मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघलगायत प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सहयोग गरिरहेका नेपालस्थित दातृ निकायसँग समन्वय एवं छलफल समेत भइरहेको केयु स्कुल अफ एजुकेशनका प्राध्यापक डा प्रकाश भट्टराईले जानकारी दिए।

एक अध्ययनका अनुसार नेपालको आर्थिक एवं सामाजिक विकासमा सहयोग गरेका अन्तर्राष्ट्रिय दातृ निकायका सहयोगमध्ये एक तिहाइ सहयोग नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापनमा नै खर्च हुने बताइएको छ । उसो त भूकम्प पुनःनिर्माण अन्तर्गत कति रकम प्राविधिक र व्यावसायिक शिक्षा तालीममा खर्च भइरहेको छ भन्ने एकीन जानकारी कुनै निकायसँग छैन ।

नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापनका कार्यक्रम शुरु भएको ७० वर्ष पूरा भइसकेको छ । “यस विषयको अध्ययनबाट स्वरोजगारी हुने त छँदैछ, नेपालको भूगोल अनुसारको यहाँ कस्तो सीप, दक्षता आवश्यक पर्छ ,यस अनुरुपका कृषि, पर्यटन, वन लगायतका क्षेत्रमा अध्ययनकर्ताले आफ्ना ज्ञान र सीपको सही उपयोग गर्नेछन् ।” प्राडा भट्टराईले भने ।

पछिल्लो समय प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण ह्वात्तै बढे पनि अध्ययन गरेअनुसारको रोजगारी स्वदेशमा पाउन नसक्दा विदेशिनेको संख्या पनि बढेको छ । वन, कृषि, स्वास्थ्य, पर्यटन, व्यवस्थापनलगायतका जुनसुकै विषयमा स्नातक गरेका अथवा ती विषय उत्तीर्ण गरी उच्च व्यवस्थापनमा काम गरिरहेकाले सो विषय अध्ययन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले सीप सिक्ने र सिकाउने बीचमा व्यवस्थापन गरी स्वदेशभित्र नै आफ्ना ज्ञान र सीपको अधिकतम प्रयोग गर्नसक्ने बनाउन सो विषयको अध्यापनले टेवा पुग्ने विश्वास लिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री