शुक्रबार, १६ चैत २०८०

ओलीले भने- हामी लोकतन्त्रका लागि लडिरहँदा देउवा लण्डनका गल्लीहरुमा पाउरोटीमा जाम लगाइरहेको थिए

समयपोष्ट २०७४ मंसिर ४ गते ७:३१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले घुँडा टेकीटेकी भारतको आनाबानी बिगारेको आरोप लगाएका छन् । उनले कांग्रेसकै कारण भारतले नाकाबन्दी लगाएको आरोप समेत लगाए । 

Advertisement

सोमबार मोरङ ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले छिमेकीसँग बराबरी हैसियतमा सम्वन्ध राख्नु पर्ने भन्दै भने, ‘हामी लत्रिनु पर्ने आवश्यकता छैन । स्वाभिमानका साथ अगाडि बढ्न सक्छौं, मित्रतापूर्ण ढंगले अगाडि बढ्न सक्छौं ।’

ओलीले आफु प्रधानमन्त्री भएपछि नाकाबन्दी हटेको दाबी समेत गरे । उनले प्रधानमन्त्रीका रुपमा भारत जाँदा भारतीय नेताहरुसँग कुराकानीको प्रसंग सुनाउँदै भने,भारतीय नेताहरुले भन्नुभयो चीनतिर पनि बाटो खोल्दै हुनुहुन्छ । मैले भने, तपाई देश भक्त हो नि ? हो । तपाई अरुलाई नोक्सान नपर्ने गरी देशहित गर्नुपर्छ भन्ने ठान्नुहुन्छ कि हुन्न ? ठान्छु’ उनले भने, ‘मैले त्यही गरें । म नेपालको प्रधानमन्त्री हुँ, नेपालले दुबैतिर नाका खोल्नुपर्छ । तपाईहरुले नाकाबन्दी गर्दा अप्ठ्यारो पर्‍यो, अब उप्रान्त नाकाबन्दी सकियो । किनभने मैले उताबाट पनि बाटो खोलें ।’

ओलीले अगाडी थप्दै भने, भारतबाट छेकिएर बस्नु पर्ने, उसले नाकाबन्दी गर्दा भोक्कै बस्नु पर्ने के आवश्यक छ ?’

उनले चुनावपछि अब रेल बनाउने, पानी जहाज चलाउने सरकार बन्ने दाबी गरे । ओलीले कम्युनिष्टको सरकार बने लोकतन्त्र धरापमा पर्ने कांग्रेस नेताहरुको दाबी झुटो प्रचार मात्र भएको समेत बताए । आफू लोकतन्त्रका लागि लडिरहँदा देउवा लण्डनका गल्लीहरुमा पाउरोटीमा जाम लगाइरहेको थिए भन्दै ओलीले भने, ‘लोकतन्त्र हामीले लडेर ल्याएका हौं । हामी नै रक्षा गर्छौ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री