सोमबार, २४ फागुन २०७७

बाँदरमुढे घटनाप्रति आलोचित हुँदै माडीबासीलाई प्रचण्डले सुनाए बिकासको यस्तो योजना 

समयपोष्ट २०७४ कार्तिक १८ गते १२:३६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन । 

Advertisement

दिवाकर–तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको आज माडीमा उद्घाटन गर्दै उनले घटनाका दोषीलाई कारबाही गर्न त्यतिबेलै आफूले निर्देशन गरेर कारबाही गरिएको बताए। बाँदरमुढे घटनाबाट माओवादी निकै आलोचित बनेको माडीसहितको क्षेत्र समेटिएको चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि माडी पुगेका अध्यक्ष प्रचण्डले अब बन्ने सरकारले बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने बताए । 

उनले आफ्नो पूर्णकालीन राजनीति माडीबाटै शुरु गरेका थिए । घटनापछि दोस्रो पटक उनी माडी पुगेका हुन । यसअघि २०६९ साल फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न उनि  त्यहाँ पुगेका थिए । त्यतिबेला पीडितका लागि रु ६० लाखको एकमुष्ट राहत घोषणा गरेका थिए । दाहालले सो रकम जिल्लामा निकासा भए पनि सरकार परिवर्तनका कारण पीडितसमक्ष पुग्न नसकेको जनाउँदै अब बन्ने सरकारले पीडितलाई यथोचित सम्बोधन गर्ने बताए। 

Advertisement

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले दोषी ठहर गरे जोकोही पनि कारबाहीको भागीदार हुनेछन् भन्दै उनले दुई आयोगको ऐन संशोधन प्रक्रियाका कारण काम हुन नसकेको बताए। 

विसं २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा सर्वसाधारण र नेपाली सेना चढेको बसमा माओवादीले एम्बुस विस्फोट गराउँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए । उक्त घटनाका घाइते अहिले पनि कतिपय उपचाररत छन् भने कतिपय अपाङ्ग अवस्थामा छन् । उक्त घटनापछि राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा माओवादीको चर्र्को आलोचना भएको थियो । 

माडीवासी निकुञ्जका कारण बढी समस्यामा रहेको भन्दै उनले निकुञ्ज हुँदै आवतजावतका लागि सुरुङ मार्ग वा आकाशे पुलमार्फत सडक निर्माण गरी समस्याको समाधान गरिने बताए । आगामी पाँच वर्षभित्र अब बन्ने सरकारले सो समस्याको समाधान गर्ने उनले बताए । 

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले देशको वामपन्थी आन्दोलनलाई अगाडि बढाउन सक्ने नेतृत्व अब विकास हुने बताए । वाम एकतासँगै अब बन्ने सरकार स्थायी हुने र त्यसले मुलुकलाई समृद्धितर्फ लैजाने उनको भनाइ थियो । 

कार्यक्रममा माओवादी केन्द्रका नेता अमिक शेरचन, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, आज मात्रै राप्रपा प्रजातान्त्रिक चितवनका अध्यक्ष छाडेर माओवादी प्रवेश गरेका बद्री तिमिल्सिनालगायतले बोलेका थिए । सो अवसरमा तिमिल्सिनासँगै राप्रपा प्रजातान्त्रिकका ३१ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री