शुक्रबार, १४ वैशाख २०८१

दिल्लीमा आजबाट जोर विजोर प्रणाली लागू

एएनआई २०७६ कार्तिक १८ गते १४:३८

Advertisement

भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदुषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो । सोमबारबाट जोर नम्बरका सवारी साधन मात्र चलाउन राज्य सरकारले अनुरोध गरेको छ ।

दिल्लीमा विगत केही समयदेखि वायुमा निकै प्रदुषण देखिएको भन्दै स्थानीय सञ्चारमाध्यमले समाचारहरू सम्प्रेषण गरेपछि दिल्ली सरकारले वातावरण प्रदुषण रोक्न पहल थालेको हो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वातावरण प्रदुषणलाई रोक्न सरकारले गरेको पहलमा सहयोग गर्न र यातायातमा जोरविजोर प्रणाली लागू गर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय राजधानीमा प्रदुषण बढेकोले यसमा योगदान पु¥याउन निजी सवारी साधन (कार) प्रयोगकर्तालाई पनि ‘कारपुलिङ’ गर्न पनि मुख्यमन्त्रीले अनुरोध गर्नुभएको छ ।

मुख्यमन्त्रीले नागरिकलाई सरकारले गरेको घोषणालाई मान्न आग्रह गर्दै हिन्दी भाषा प्रयोग गर्दै ट्वीटरमार्फत लेख्नुभएको छ, “प्रिय दिल्लीवासीहरू, आजबाट निजी चार पाङ्ग्रे सवारी साधनका लागि जोरविजोर तथा कारपुलिङ प्रणाली कार्यान्वयनमा आएको छ ।
“आफ्नो, आफ्ना बालबालिका र परिवारको स्वास्थ्यका लागि नियमलाई पालना गरौँ । कार चढ्ने सबैले कारमा आलोपालो गरेर आफ्नो गन्तव्यसम्म पुगौँ । मित्रता, सम्बन्ध बढाऔँ । पेट्रोलको वचत गरौँ र प्रदुषण घटाऔँ ।”
नियमअनुसार पालोमा नपरेका कार प्रयोगकर्तालाई पालोमा परेका सवारी धनीले सहयोग गर्न वा ‘कारपुलिङ’ गर्न सरकारले अनुरोध गरेको हो ।
दिल्लीमा ‘आम आदमी’ पार्टी नेतृत्वको राज्य सरकारले घोषणा गरेको यो कार्यक्रम आगामी दश दिन (नोभेम्बर १४) सम्म लागू गरिने छ । तर यो नियम नोभेम्बर १० आइतबारका लागि भने मान्य नहुने बताइएको छ । भारतमा आइतबार साप्ताहिक विदा दिइने भएको र विदाका दिन सवारी साधनको चाप कम हुने हुनाले सो दिन यो नियम लागू नहुने बताइएको छ ।

मुख्यमन्त्री केजरीवालले अक्टोबर १७ गरेको घोषणाअनुसार सोमबारदेखि जोरविजोर प्रणाली लागू भएको हो । यो नियम मोटरसाइकल, सार्वजनिक बस तथा अन्य ढुवानीका साधन तथा आपतकालिन सेवामा भने लागू हुनेछैन । महिलाले चलाउने गाडीलाई पनि नियम लागू नहुने बताइएको छ ।
सोमबार जोरविजोर प्रणाली लागू हुने तयारी भइरहँदा यसको केन्द्र सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) तथा प्रतिपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्ग्रेस–आई) ले विरोध जनाएका छन् ।
बिजेपीका वरिष्ठ नेता तथा राज्य सभाका सदस्य विजय गोयलले दिल्ली सरकारको जोरविजोर प्रणाली आफूहरूलाई मान्य नभएको बताउनुभएको छ । उहाँले प्रदुषण नियन्त्रणका लागि राज्य सरकारले चालेका कदमले नागरिकलाई दुःख हुने र यो प्रदुषण नियन्त्रणका लागि सर्वमान्य आधार नभएको भन्दै साङ्केतिक विरोधका लागि आफूले सोमबार आफ्नो जोर नम्बरको सवारी साधन चलाउने बताउनुभयो । नेता गोयलले आमआदमी पार्टीको यो कदमलाई निर्वाचनमा मत तान्ने नाटककारूपमा व्याख्या गर्नुभयो ।

त्यस्तै एएनआईसँग बोल्दै काङ्ग्रेस नेता जेपी अग्रवालले राज्य सरकार राजधानीमा देखिएको प्रदुषणको समस्यालाई सही तवरले सम्बोधन गर्न विफल भएको बताउनुभयो ।
सरकारले प्रदुषणको समस्या अत्यधिक तथा नियन्त्रण बाहिर पुग्नुमा सरकार जिम्मेवार रहेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले समस्या समाधान गर्न अन्य राज्यका सरकारले कस्तो नीति लिएका छन् यसलाई छलफल गर्न छिमेकी मुख्यमन्त्रीहरूसहितका अधिकारीसँग बसेर रणनीति बनाउन सुझाब दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री