नेपालले टी-२० विश्वकप छनोटको उपाधि जिते खेलाडीहरूलाई जनही १९ लाख ५० हजार पुरस्कार
ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिताको उपाधि नेपालले जितेको खण्डमा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार यो पुरस्कार रकम प्रदान गरिने जानकारी दिएका हुन्।
नेपाल हालसम्म प्रतियोगितामा अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। बुधबार भएको खेलमा घरेलु टोली ओमानलाई पराजित गरेपछि नेपाल पहिलो स्थानमा उक्लिएको हो। अब शुक्रबार हुने अन्तिम खेलमा सामोआलाई हराएमा नेपालले उपाधि जित्ने निश्चित हुनेछ। यदि नेपालले हारे पनि ओमानले जापानसँग हारेमा नेपाल नै विजेता बन्नेछ। तर, नेपाल हारे र ओमानले जितेमा रन रेटका आधारमा विजेता निर्धारण हुनेछ।
सदस्य सचिव घिसिङकै कार्यकालमा लागू भएको खेलकुद विकास नियमावलीले खेलाडी तथा प्रशिक्षकहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरेको छ। नियमावलीको अनुसूची ४ अनुसार विभिन्न प्रतियोगितामा प्राप्त उपलब्धिअनुसार पुरस्कार निर्धारण गरिएको छ।
टी-२० विश्वकपमा प्राप्त उपलब्धिअनुसार पुरस्कार
विश्वकप जितेमा: खेलाडी जनही ३२ लाख ५० हजार रुपैयाँ।
उपविजेता भएमा: जनही २६ लाख रुपैयाँ।
तेस्रो भएमा: जनही १९ लाख ५० हजार रुपैयाँ।
विश्वकप छनोट प्रतियोगितामा पुरस्कार व्यवस्था
पहिलो भएमा: खेलाडी जनही १९ लाख ५० हजार, प्रमुख प्रशिक्षक ६ लाख २५ हजार, सहायक प्रशिक्षक/फिजियो/अफिसियल जनही ३ लाख २५ हजार।
दोस्रो भएमा: खेलाडी जनही १३ लाख, प्रमुख प्रशिक्षक ३ लाख ९० हजार, अफिसियलहरू जनही १ लाख ९१ हजार।
तेस्रो भएमा: खेलाडी जनही ९ लाख १० हजार।
यही नियमावलीअनुसार सन् २०२४ को विश्वकप छनोटमा नेपाल दोस्रो हुँदा खेलाडीहरूले जनही १३ लाख रुपैयाँ प्राप्त गरेका थिए।
प्रतियोगिताको उपाधि जितेमा नेपाल क्रिकेट संघ (क्यान) लाई पनि ६ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ। दोस्रो भएमा ३ लाख ९० हजार र तेस्रो भएमा २ लाख ६० हजार रुपैयाँ दिने व्यवस्था छ।
प्रतिक्रिया