पूँजी बजार सुधारको लागि धितोपत्र बोर्डले बनायो सुझाव कार्यान्वयन कार्य योजना
सेयर बजारमा आएको गिरावट र लगानीकर्ताहरूको चर्को दबाबपछि नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधार कार्यदलको सुझाव कार्यान्वयन गर्न कार्ययोजना सार्वजनिक गरेको छ।
आइतबार लगानीकर्ताहरूले बोर्डको कार्यालय घेराउ गर्दै तत्काल सुझाव कार्यान्वयनको माग गरेपछि बोर्डले यो योजना ल्याएको हो। कार्ययोजनामा बोर्डले तत्काल पूरा गर्नुपर्ने ९ वटा प्रमुख कार्यहरू समावेश छन्।
धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कारोबार प्रणाली लागू गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ। यसका लागि गठित अध्ययन समितिले प्रतिवेदन पेश गर्ने बित्तिकै कार्यान्वयन प्रक्रिया सुरु हुनेछ। यो कार्य कार्तिक मसान्तसम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ।
सिडिएस तथा क्लियरिङ्ग लिमिटेडले प्रदान गर्ने आइजिन सम्बन्धमा एकरूपता कायम गर्न निश्चित मापदण्ड तयार गरिएको छ। सम्बन्धित निर्देशिका तयार भइसकेको र स्वीकृतिपछि यो व्यवस्था कार्तिक मसान्तसम्म लागू हुने बोर्डले जनाएको छ।
सङ्गठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयरको लाभांश कर सम्बन्धित संस्थाले नै मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्न बोर्डले सूचीकृत कम्पनीहरूलाई तत्काल निर्देशन दिने भएको छ। यो कार्य तुरुन्त सुरु हुने कार्ययोजनामा उल्लेख छ।
धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच समयमा रकम भुक्तानी नहुँदा उत्पन्न हुने दायित्व वा प्रतिफलमा एकरूपता कायम गर्न बोर्डले बेन्चमार्क दर निर्धारण गर्न तत्काल अध्ययन सुरु गर्नेछ। यो व्यवस्था मङ्सिर १५ गतेसम्म लागू हुने समयसीमा तोकिएको छ। ब्रोकरले ढिलो भुक्तानी गरेमा लगानीकर्तालाई ब्याजसहित रकम दिनुपर्नेछ भने लगानीकर्ताले ढिलो गरेमा ब्याजसहित तिर्नुपर्नेछ।
लगानीकर्ताले दुई वा सोभन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्थाका लागि बोर्डले सिडिएससीलाई निर्देशन दिइसकेको छ। यो कार्य कार्तिक १५ सम्म सम्पन्न हुने कार्ययोजनामा उल्लेख छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता र संस्थागत सुशासनको आधारमा गर्ने वर्गीकरणलाई वस्तुनिष्ठ बनाइनेछ। जेड समूहमा पर्ने कम्पनीहरूको कारोबारमा शतप्रतिशत नगद मार्जिन लागू गर्न नेप्सेलाई तत्काल निर्देशन दिइने बोर्डले जनाएको छ।
लगानीकर्ताका गुनासो तत्काल सम्बोधन गर्न गुनासो व्यवस्थापन संयन्त्र स्थापना गरी सञ्चालनमा ल्याइनेछ। साथै, पूँजी बजार सम्बन्धी साक्षरता बढाउन विभिन्न प्रशिक्षण र कार्यशाला थप प्रभावकारी बनाइने भएको छ। यी कार्यहरू तत्काल सुरु हुने बोर्डले उल्लेख गरेको छ।
धितोपत्र सम्बन्धी कसुरको जाँचबुझलाई प्रभावकारी बनाउन छुट्टै डेडिकेटेड संयन्त्र तुरुन्त स्थापना गरिने बोर्डले जनाएको छ।
बोर्डले पूँजी बजारलाई थप पारदर्शी र लगानीकर्तामैत्री बनाउन अन्य सुझावहरूलाई पनि क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो कार्ययोजनाले सेयर बजारमा देखिएको अस्थिरता कम गर्न र लगानीकर्ताको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया