अपर तामाकोशीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
लगानीकर्ताले आज साँझ बैंकिंग समयसम्म मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले भदौ १८ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो । अपर तामाकोशीले १ः१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद निष्काशन गरेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने दश अर्ब उनान्साठ्ठी करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।
कम्पनीको हकप्रदमा हालसम्म सर्वसाधारण शेयरधनीतर्फबाट २ लाख ६१ हजार बढीले आवेदन दिएका छन् । सिडीएससीले उपलब्ध गराएको आइतबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार कम्पनीको हकप्रदमा २ लाख ६१ हजार ६ सय १८ जना आवेदकले २ करोड ९१ लाख ५६ हजार ७ सय ७४ कित्ताका लागि २ अर्ब ९१ करोड ५६ लाख ७७ हजार ४ सय रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।
सर्वसाधारणतर्फबाट कुल ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्नेमा अझै २ अर्ब २८ करोड ३४ लाख २२ हजार ६ सय रुपैयाँको आवेदन पर्न बाँकी छ ।
कम्पनीले हकप्रद निष्काशनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । यस संगै साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले असार २२ गते कम्पनीलाई हकप्रदको लागि अनुमति प्रदान गरेको हो । हकप्रद निष्काशनको लागि नागरिक लगानी कोष बिक्री प्रबन्धक र सनराइज क्यापिटल सह-बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रिया