बिहीबार, ३ जेठ २०८१

सूर्या र ज्योति लाइफले गरे अन्तिम मर्जर सम्झौता, जीवन बीमा कै पहिलो मर्जर

समयपोष्ट २०७९ कार्तिक ५ गते १६:१५

Advertisement

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि.र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडविच दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

शुक्रबार दुवै कम्पनीका संचालक समितिका अध्यक्षले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

राजधानीमा आयोजित उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय/क्षेत्रिय प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । दुवै कम्पनी विच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ आषाढ १२ गते सम्पन्न भइ बीमा समितिबाट मिति २०७९ आषाढ १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।

नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरुविच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो । अन्तिम सम्झौतापत्रमा उल्लेख भए अनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाण्डौमा रहनेछ ।

Advertisement

मर्जर पश्चात बन्ने संचालक समितिमा गाभिए पश्चात बन्ने कम्पनीको साधारण सभा सम्पन्न नभए सम्मको लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र संचालक गरी ७ सदस्यीय संचालक समिति बन्नेछ भने साधारण सभाले नयाँ संचालक समितिको चयन गर्नेछ ।

नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाईफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाईफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनुहुनेछ भने सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् । शेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको शेयर सूर्या लाईफका शेयरधनीले १ शेयर बराबर १ शेयर पाउनेछन् भने ज्योति लाईफका शेयरधनीले १ शेयर बराबर ०.८२४५ शेयर पाउनेछन् ।

उक्त शेयर स्वाप अनुपात अनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी करिब रु.४ अर्ब ५५ करोड पुग्नेछ । नियमनकारी निकाय बीमा समितिको निर्देशन बमोजिम कायम गर्नुपर्ने चुक्ता पुँजी रु. ५ अर्ब तोकिएको समयसिमा भित्र सहजै पुर्याउन कम्पनी सफल हुनेछ ।

अन्तिम सम्झौता भए संगै दुवै कम्पनीले छिट्टै नै साधारणसभा आह्वान गर्ने र साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन भए पश्चात सम्बन्धीत नियमनकारी निकायहरुमा मर्जरको लागि स्वीकृती माग गरी आवेदन दिने र ति निकायहरुबाट स्वीकृती आए पश्चात २०७९ मंसिर मसान्त भित्रमा एकिकृत कारोबार संचालन गर्ने सहमति समेत भएको छ ।

यो मर्जरलाई नेपाली जीवन बीमा क्षेत्रमा एक उदाहरणिय तथा ऐतिहासिक उपलब्धीको रुपमा लिन सकिन्छ भने गाभिए पश्चात कम्पनीका शेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धीत सबै पक्षलाइ अझ बढी लाभ हुने विश्वास दुवै कम्पनीले लिएको छ ।

गाभिए पश्चात बन्ने कम्पनीको संचालन खर्चमा कमी आउने, व्यवसायको आकार तथा शाखा संजाल वृद्धी हुने, पुँजीकोष, जगेडा कोष, जीबन बीमाकोष लगायतका आर्थिक सुचकांङ्कमा सकारात्मक परिवर्तन आउने र आगामि दिनमा बलियो तथा जीवन बीमा कम्पनीहरु मध्ये उत्कृट एवं सबल कम्पनीको सूचिमा पर्ने विश्वास लिएका छौं ।

मर्जर पश्चात बन्ने कम्पनीको मुख्य सुचकांङ्क (आ.व. ०७८÷७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण अनुसार) :
– जीवन बीमा कोषः रु. २०.३६ अर्ब
-जगेडा कोषः रु. १.४४ अर्ब
– कुल लगानीः रु. २३.७८ अर्ब
-खुद नाफाः रु. ३७.३७ करोड
– कुल बीमा शुल्कः रु.८.८६ अर्ब

प्रतिक्रिया

सम्बन्धित सामाग्री