बुधबार, २६ वैशाख २०८१

परराष्ट्रमन्त्री नेपाल-भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली प्रस्थान,राष्ट्रिय हित र स्वार्थका विषयमा भारतसँग कुरा राख्ने

समयपोष्ट २०७३ कार्तिक १० गते ६:४९


काठमाडौं । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल-भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।

Advertisement

नेपाल-भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठक बिहीबार भारतको नयाँदिल्लीमा हुनेछ ।

नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले राष्ट्रिय हित र स्वार्थका विभिन्न विषयमा भारतसँग कुरा राख्ने बताए ।

नयाँदिल्ली प्रस्थान गर्नुअघि मन्त्री डा. महतले भने, ‘नेपाल-भारत बीचका बिगतका विभिन्न सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाबारे बृहत समीक्षा हुन्छ र नेपालको तर्फबाट मैले राष्ट्रिय हित र स्वार्थका विभिन्न विषयमा कुरा राख्ने छु ।’

आयोगको मन्त्रीस्तरीय बैठकअघि सचिवस्तरीय बैठक भने बुधबारबाटै नयाँदिल्लीमा सुरु भइसकेको छ ।

Advertisement

सो बैठकमा सहभागी हुन परराष्ट्र सचिव शंकरदास बैरागी मंगलबार नै नयाँदिल्ली पुगेका थिए ।

बैठकमा नेपाल-भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाबारेमा बृहत् समीक्षा हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल-भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा पनि सो बैठकमा छलफल हुने छ ।

बैठकको नेतृत्व नेपालको तर्फबाट परराष्ट्रमन्त्री  डा. महत र भारतको तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले गर्नेछन् ।

बैठकमा नेपाल र भारतका उच्च कूटनीतिक अधिकारीहरुको उपस्थिति रहने छ ।

मन्त्री डा. महत आगामी शुक्रबार स्वदेश फर्किने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री