आइतबार, ६ जेठ २०८१

तारमा अल्झिएर घाइते भएकी वृद्धाको निधन

समयपोष्ट २०८१ वैशाख २५ गते २२:१७

Advertisement

धनगढीमा ‘मर्निङवाक’ गर्ने क्रममा सडकमा छरपष्ट छोडिएको टेलिफोनको तारमा खुट्टा अल्झिएर घाइते भएकी वृद्धा इन्द्रादेवी पन्तको उपचारका क्रममा निधन भएको छ ।

मर्निङवाक गर्ने क्रममा खुट्टामा अल्झिएको टेलिफोनको तार विपरीत दिशाबाट आइरहेको ट्रकमा बेरिएपछि ट्रकसँगै झण्डै तीन सय मिटरको दूरीसम्म घिसारिएर ७० वर्षीया वृद्धा पन्त घाइते भएकी थिइन् । महेन्द्रनगर नगरपालिकाको भासी टोल निवासी पन्तको शव आज कञ्चनपुरस्थित महाकाली नदीको घाटमा अन्त्येष्टि गरिएको मृतकका भाई क्याप्टेन बेद उप्रेतीले जानकारी दिनुभयो ।

घाइते वृद्धाको धनगढीस्थित माया मेट्रो अस्पतालमा ६८ दिनदेखि उपचार भइरहेको थियो । उनको सोमबार निधन भएको हो । गत फागुन १६ गते भएको यो घटनापछि पीडित परिवारबाट क्षतिपूर्ति र उपचारको माग गर्दै नेपाल टेलिकम, धनगढी उपमहानगरपालिका, ट्रक धनी विरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

धनगढीको मुख्य बजार क्षेत्रमा हाल सडकको स्तरोन्नतिको काम भइरहँदा सडक छेउको टेलिफोनको खम्बा र तार स्थानान्तरण गर्ने क्रममा पुराना तार सडकमा जताततै छरपष्ट गरिएको छ ।

Advertisement

यसैबीच सुदूरपश्चिम प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा आज नाम, बतन खुल्न नसकेको अन्दाजी ३२ वर्षीय एक पुरुषको शव फेला परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यसैगरी कञ्चनपुर शुक्लाफाँट नगरपालिका-७ को मध्यवर्ती सामुदायिक वन परिसरमा नाम, बतन खुल्न नसकेको अन्दाजी, २५ वर्षीय पुरुषको शव फेला परेको छ । अछामको रमारोशन गाउँपालिका–७ का कमल भण्डारीको घरमा सोमबार परेको चट्याङबाट उहाँका छ वर्षीय छोरा गौरवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री