शुक्रबार, १६ चैत २०८०

‘२५ बुँदेको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन्’

समयपोष्ट २०७३ असोज १८ गते ११:३५

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्तीमा राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर केहीले नक्कली राष्ट्रवादको हल्ला फिँजाएको आरोप लगाएका छन् । 
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महतले प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तीलाई लिएर बाबुराम भट्टराई लगायत सरकार बाहिर रहेका दलहरुले नक्कली राष्ट्रवाद देखाएर विरोध गरेको आरोप लगाएका हुन् । उनले भने,‘आफू सरकार बाहिर हुनेवित्तिकै सस्तो लोकप्रियताको लागि यसरी विरोध गर्नु हाँस्यस्पद हो, यो त विरोधको नाममा विरोध मात्रै हो ।’
पहिला पहिला भारतीय चलचित्र चल्नपनि दिनुहँुदैन भन्ने बाबुरामले आफू प्रधानमन्त्री हुँदा कुरा बुझेर भारतसँग विप्पा सम्झौता गरेको उल्लेख गर्दै महतले भने,‘हामी त समृद्धिको लागि स्वदेशी तथा विदेशी लगानी आवश्यक छ र लगानी सूरक्षित गर्नुपर्छ भन्ने पक्षमा हामी त पहिलादेखि नै थियौं ।’
मन्त्री महतले कुनै विवाद नै नभएको विषयलाई विवादित बनाउने, प्रोपागाण्डा बनाउने र जनतामा भ्रम पैदा गर्ने कुराले राष्ट्रिय स्वार्थ पूरा नहुने जिकिर गरे । उनले भने,‘नेपाल र भारतवीच धेरै विषयमा समान धारणा छ, अनि यसबारेमा बोल्दा नराम्रो कुरा के भयो र ?’ सार्क लगायत क्षेत्रिय संगठनलाई मजबुत बनाउने कुरा गर्दा किन यहाँ यत्रो हल्लाखल्ला, चीनसँग पनि हाम्रो अन्तर्राष्ट्रिय विषयमा धेरै समान धारणाहरु छन्, तर हामीले राष्ट्रियता र राष्ट्रिय स्वार्थको विषयमा कुनै कम्प्रोमाईज गरेकै छैन् ।’ 
उनले अघि थपे,‘सूरक्षा परिषदको स्थायी सदस्यमा भारतलाई समर्थन गर्छौ भन्दा के नौलो विषय हो र, हामी जापान जाँदा जापानलाई सहयोग गर्छौ भन्छौं ।’ 
मन्त्री महतले जनताको भावनामा खेल्नको लागि हुँदै नभएको कुराको आरोप लगाईएकोप्रति कडा आक्रोश पोख्दै भने,‘एउटा बुँदापनि राष्ट्रिय स्वार्थको विरुद्धमा छैन, बरु २५ बुँदामा एक एक बुँदा नेपालको हितमा छन्, सत्ताबाट बाहिर जानेवित्तिकै विरोध गर्नुको कुनै अर्थ छैन् ।’ उनले अघि थपे,‘तिललाई पहाड बनाउने काम भयो, तर यहाँ २५ बुँदेमा तिल पनि छैन, सिन्को पनि छैन् ।’ 
मन्त्री महतले दलहरुवीच आन्तरिक विषयमा वादविवाद र बहस भएपनि परराष्ट्र नीतिमा एकरुपता हुनुपर्नेमा जोड दिए । 
भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तय भैसकेकोले आफूहरु उनलाई स्वागत गर्न आतुर रहेको मन्त्री महतले बताए । त्यस्तै चीनका राष्ट्रपतिको पनि नेपाल भ्रमण हुनेमा आफूहरु विश्वस्त रहेको उल्लेख गर्दै महतले भने,‘भारतको गोवामा हुने व्रिक्स सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा आएको छ, प्रधानमन्त्री र म त्यहाँ जाँदैछौं, त्यतिवेला द्धिपक्षीय हितका बारेमा कुराहरु हुन्छन, चीनीयाँ राष्ट्रपतिसँग पनि भेट हुन्छ ।’ भारत र चीनलाई नेपालले उच्च प्राथमिकतामा राखेको समेत उनले बताए । 
पाकिस्तानको ईस्लामवादमा आगामी नोभेम्बरमा हुने भनिएको सार्क सम्मेलन स्थगित् भएपछि सरकारले तीन तीन पटक प्रेस विज्ञप्ती जारी किन गरेको भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री महतले भने,‘तीनवटै वक्तव्यको आ–आफ्नै महत्व छ, यी सबै फरक सन्दर्भमा आएका हुन्, सार्क राष्ट्रको अध्यक्षको नाताले हामीले सबैलाई सहज वातावरण बनाउन आह्वान गरेका छौं ।’ 
उनले सार्कको चार्टरमै सबैको सहमतिमा मात्रै सम्मेलन हुने व्यवस्था भएकोले सबै सदस्य राष्ट्रहरुवीच सहमति हुनु अनिवार्य आवश्यक रहेको टिप्पणी गरे । उनले भने,‘चाँडो भन्दा चाँडो सबैको सहभागिता सुनिश्चितता हुनेगरि सम्मेलन गर्न वातावरण बनाउन हामी पहल गर्छौ ।’
नेपाल अन्र्तराष्ट्रिय आतंकवादको खिलाफमा रहेको भन्दै जुनसुकै देशमा यस्तो हुनुहुन्न भन्ने पक्षमा नेपाल सरकार रहेको बताउँदै भने,‘एउटाको भूमि अर्कोको विरुद्धमा प्रयोग हुनुहुँदैन, नेपाल सबै खाले आतंकवादको विरुद्धमा छ ।’  
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री