शुक्रबार, १४ वैशाख २०८१

पूनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले भने –‘युद्धस्तरमा जुटे मात्रै प्रगति हुन्छ ’

समयपोष्ट २०७३ असोज १८ गते ९:४२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाए मात्र उपलब्धी देखिने बताएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पूनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकमा उनले जनताको जीवन रक्षार्थ युद्ध स्तरमा काम गरेर मात्रै पूनर्निर्माणमा प्रगति हासिल हुने बताएका हुन ।

Advertisement

 ‘प्रचण्ड’को अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले भूकम्पबाट अति प्रभावित १४ जिल्लाको प्रतिनिधित्व हुने गरी परामर्श समितिमा १४ जना सांसद थप गर्ने अधिकार प्रधानमन्त्री तथा परामर्श समितिका अध्यक्ष प्रचण्डलाई दिएको छ ।
बैठकले दातृ निकायसँग समन्वय र पूनर्निर्माण स्रोत जुटाउने प्रयोजनका लागि ऐनमा व्यवस्था भए बमोजिमको पूनर्निर्माण विकास सहायता तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । समितिका सदस्यहरुबारे निर्णय गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई दिइएको छ ।
प्रधानमन्त्रीले भने, ‘अहिलेसम्म नीतिगत र संरचनागत काम बढी भएका छन् । जनताले राहत र पूनर्निर्माणको अनुभूति हुने गरी काम हुन सकेको छैन । हामीले सम्वदेनशील भएर राहत, पूनर्बास र पूनर्निर्माणको काम गर्नुपर्छ ।’
प्रधानमन्त्रीले परामर्श समितिको अर्को बैठक ६ महिना अगावै बस्ने बताए । प्रधानमन्त्रीले भने ‘कार्यविधिमा परामर्श समितिको बैठक ६ महिनामा बस्ने व्यवस्था छ । तर, कामको चाप र सम्वेदनशीलता हेरेर म छिटै बैठक बोलाउनेछु । यसपछि प्राधिकरणको कार्यकारी समिति र निर्देशक समितिको बैठक बोलाएर थप निर्णय र कामलाई रफ्तारमा लगिनेछ । छिटै जनताले परिणाम देख्ने गरी काम हुनुपर्छ ।’
परामर्श समितिको कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीले प्राधिकरणले गरेको हालसम्मको प्रगति, समस्या र प्राधिकरणको अवस्थाबारे परामर्श समितिलाई जानकारी दिए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष बामेदव गौतम, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत लगायतका व्यक्तित्वहरुले पूनर्निर्माणलाई प्रभावकारी बनाउनेबारे आफ्ना धारणा राखेका थिए 

प्रतिक्रिया

सम्बन्धित सामाग्री