शनिबार, ८ वैशाख २०८१

‘सरकारले कालोबजारी गर्नेलाई २० वर्ष कैद गर्ने गरि नयाँ काूनन ल्याउने तयारी गरेको छ ’

समयपोष्ट २०७३ असोज १७ गते १०:१४

आपूर्तिमन्त्री दिपक बोहराले सरकारले बजार व्यवस्थापन, अखाद्य वस्तु विक्रि वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरुलाई कडा कारवाही गर्ने गरि नयाँ कानुन ल्याउने तयारी गरेको बताएका छन् । 
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बोहराले बजारमा अनियमितता गर्ने र लाभको लागि अखाद्य वस्तु बेच्ने र उपभोक्ताको जीवनमा खेलबाड गर्नेहरुलाई आर्थिक दण्ड गर्ने र ५ देखि २० वर्षसम्म जेल चलान गर्नेसम्मको नयाँ कानुन ल्याउने तयारी गरेको बताएका हुन् । 
मन्त्री बोहराले भने,‘अहिलेको कानून संशोधन गर्ने बाटोमा हामी गैसकेका छौं, छिट्टै नयाँ काूनन संसदमा पेश गर्छौं ।’ त्यस्तै उनले कालबजारी ऐनलाई समेत कडा तथा धारिलो बनाउने समेत सरकारले तयारी गरेको स्पष्ट पारे । 
उनले महँगीविनाको दशैं बनाउनेगरि सरकारले बजार अनुगमनलाई तिव्रता दिएको समेत बताए । उनले भने,‘अहिले हामीले विभिन्न दश वटा निकायमार्फत बजार अनुगमन गरिरहेका छौं, जनताले राम्रो र सहुलियतमा सामान पाउनुपर्छ ।’ आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा अहिले तीन दशवटै निकायका प्रमुख तथा निर्देशकहरुले बजार अनुगमन तथा मुल्यवृद्धि नियन्त्रणको काम गरिरहेको समेत मन्त्री बोहराले जनाए । 
दशैंतिहारमा चामल, दाल, चिनी, नुन, तेल लगायतका अत्यावश्यक वस्तुहरुको मुल्य वृद्धि नहुनेसमेत मन्त्रीले दाबी गरे । उनले भने,‘सरकारले कडाईका साथ यसबारेमा अभियान छेडेको छ, पर्याप्त निर्देशन दिएको छ, तपाईहरु ढुक्क हुनोस दशैंतिहारमा कुनै हालतमा पनि मुल्यवृद्धि हुँदैन्, यदि भएको थाहा पाए हामीलाई खबर गर्नुहोस् हामी तत्काल आईपुग्छौं ।’ 
मुल्यवृद्धि नगर्ने कुरामा खुद्रा पसलहरुले समेत सरकारलाई साथ दिएको उनको भनाई थियो । सरकारले उपभोक्ताको सहुलियतको लागि पनि काठमाडौं,ललितपुर र भक्तपुरमा सुहलियत बजार सञ्चालन गरिरहेको उनले जनाए । 
पछिल्लो समय सरकार बजार नियन्त्रणमा राख्न सफल भएको समेत मन्त्री बोहराले दाबी गरे । ‘अहिले बजारमा कहीँ कतैपनि अखाद्य वस्तु पाईँदैन, र म्याद नाघेको बस्तु भेटिँदैन्’, उनले थपे । उनका अनुसार पछिल्लो समय सरकारले ४ सय ५२ जनालाई कारवाही गरिसकेको छ । यद्धपी उनले कारवाही गर्नको लागि ऐन तथा कानुनहरुमा केही प्राविधिक झमेलाहरु रहेको स्पष्ट पारे । 
सरकारले अखाद्य वस्तु नष्ट गर्ने अभियानमा पछिल्लो समय ३ करोड मुल्य बराबरको म्याद नाघेका वस्तुहरुको नष्ट गरिसकेकोले सरकार यो अभियानबाट पछि नहट्ने उनले प्रतिबद्धता व्यक्त गरे । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री