शुक्रबार, १४ वैशाख २०८१

नवलपरासी पूर्वबाट कांग्रेस महामन्त्री कोइराला सिफारिस

समयपोष्ट २०७४ असोज २४ गते ५:२८

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न नवलपरासीबाट सिफारिस भएका छन् ।

Advertisement

प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि महामन्त्री डा कोइरालाको नाम प्रदेश नं ४ मा पर्ने नवलपरासी पूर्व (बर्दघाट–सुस्ता) जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएको हो ।

पार्टीको प्रभावशाली नेताका रुपमा चिनिने कोइरालालाई यस क्षेत्रको गौरवका रुपमा उम्मेदवारी सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले जानकारी दिए । कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ ।

नवलपरासीपूर्व जिल्लाअन्तर्गत क्षेत्र नं १ नेपाली कांग्रेसको देशैभरिका केही बलिया क्षेत्रमध्ये पर्ने एक क्षेत्र हो ।

पूर्व गृह राज्यमन्त्री तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको नाम पनि सिफारिस भएको छ । कँडेलको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट सर्वसम्मत् रुपमा सिफारिस भएको हो ।

सांसद् देवकरणप्रसाद कलवारको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएको छ ।
यसैगरी, प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, पूर्व सांसद महेन्द्रध्वज जिसी, उद्योगपति विष्णुकुमार कार्की, नेत्री ओमकला गौतमको नाम नवलपरासी पूर्व जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट सिफारिस भएको हो ।

प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित दुई जिल्लामा कायम भएका नवलपरासीबाट प्रदेश सभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी कूल १७२ जनाको नामावली केन्द्रमा सिफारिस गरिएको नेपाली कांग्रेस नवलपरासीका उपसभापति अर्जुनकुमार पोखरेलले जानकारी दिए ।

जिल्ला टुक्रिएपछि बर्दघाट–सुस्ता पूर्व प्रदेश नं ४ (नवलपुर क्षेत्र) बाट ११८ र पश्चिमतर्फको प्रदेश नं ५ (परासी क्षेत्र) बाट ५४ जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस नवलपरासीले जनाएको छ ।

पूर्व र पश्चिममा दुई–दुई गरी चार निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ चारवटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभाका लागि दुवै जिल्लामा गरी आठ निर्वाचन क्षेत्र रहेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री