शनिबार, ८ वैशाख २०८१

आसाममा २४ घन्टाभित्रै आठ नवजात शिशुको मृत्यु ,भारतीय अस्पतलामै नवजात शिशु मर्नुको कारण के ?

समयपोष्ट २०७४ असोज २० गते ७:५५

भारतीय उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्रै आठ जनाको ज्यान गएको समाचार छ । 

Advertisement

भारतका विभिन्न अस्पतालमा यसरी नवजात शिुशुको ज्यान जाने गरेका समाचारहरु पछिल्ला केही समययता आइरहेका छन् । यसरी शिशुको मृत्यु हुने गरेको भारतीय दुःखद खबरमा आसामको यो पछिल्लो उदाहरण हो । 

आसामको सरकारी अस्पताल फखारुद्दिन अलि अहमद मेडिकल कलेजमा जन्मिएका ती शिशुको बिहीबार बिहानसम्म २४ घन्टाभित्र ज्यान गएको हो । सोही अस्पतालमै जन्मिएका ती शिशुको ज्यान गएको समाचार उक्त अस्पतालका अधिकारीहरुले पुष्टी गरेका छन् । असामको बारपेटा जिल्लामा रहेको सो अस्पताल दिसपुर जिल्लाबाट करिब १०२ किलोमीटर टाढा पर्दछ । तीन जनाको बुधबार बेलुका र अरु दुईको बिहीबार बिहान मृत्य भएको समाचारमा जनाइएको छ । 

यसरी मृत्यु भएकामा तीन जना उही दिन जन्मिएका थिए भने अरु दुई जना महिना दिन भित्रका थिए । भारतका कतिपय स्थानमा रहेका अस्पतालमा यसरी शिशुको ज्यान जाने गरेका समाचारहरु केही समययतादेखि आइरहेका छन् । 

यस मृत्युको विषयमा पनि यसअघिका मेडिकल अधिकारीहरुले भन्ने गरेजस्तै नवजात शिशुमा अक्सिजनको कमी भएकोले मृत्यु भएको जनाएका छन् । तर त्यसलाई स्थानीय नागरिक तथा पीडितहरुले भने स्वीकार गरेका छैनन् । 
आम सर्वसाधारणले यसरी अस्पतालमा शिशु मारिनु चिकित्सकको लापरवाही हो भनेका छन् । त्यस्तै उनीहरुले यसरी नवजात शिशुहरुको मृत्यु हुनुको पछाडि ती अस्पतालहरुमा पूर्वाधारको कमी हुने गरेको पनि बताएका छन् । 

धेरै त उनीहरुले चिकित्सकीय लापरवाही नै बढी जिम्मेवार रहने गरेको दाबी गर्छन् । भारतीय चिकित्सकहरु यो स्वीकार गर्न तयार छैनन् । 

सो अस्पतालमा अहिले अरु पनि क्रयौँ शिशुको स्वास्थ्य अवस्था खराब छ । चिकित्सकहरुले उक्त अस्पतालमा जन्मिदै अक्सिजनको कमी भएका, जन्मिदै आवश्यक भन्दा कम तौलमा जन्मिएका र अरु जटिलताका कारण शिशुहरु गम्भीर अवस्थामा रहेकोले उनीहरुलाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको बताएका छन् । 

ती आठजना शिशुको ज्यान गएको घटनाको आवश्यक छानबीन गर्न आसामका स्वास्थ्यमन्त्री हिमन्त विश्व शर्माले आदेश दिएका छन् ।  तर चिकित्सक र अस्पतालका अधिकारीहरुले उनीहरुमा  जन्मिदै अक्सिजनको कमी भएको र ज्यान गएको बताएका  छन् । 

स्वास्थ्यमन्त्री  शर्माले   अबदेखि सो अस्पतालमा यस्तो घटना नदोहोरियोस भनेर के कति कारणले उनीहरुको ज्यान गएको हो भन्ने बारेमा अनुसन्धान गर्न आदेश दिएको समाचारमा उल्लेख छ । 

उनले भनेका छन्– चिकित्सक एवम् स्थानीय अस्पतालका अधिकारीहरुले लापरवाही भएको भन्ने समाचार स्वीकार नगर्ने गरेकोले स्वतन्त्र रुपमा तथ्य आओस भनेर हामीले युनिसेफका विज्ञहरुलाई पनि अनुसन्धानका लागि पठाएका छौँ । 

गत महिनामात्र पनि उत्तरी भारतीय राज्य उत्तरप्रदेशको एउटा सरकारी अस्पतालामा मात्र एकै महिनाभित्र ४९ जना बालबालिकाको मृत्यु भएको विषयमा अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका थिए । तर त्यसको तथ्य भने बाहिर आएको छैन । 

एक महिनाको समयावधीमा यो घटना भएको समाचार यसअघि नै आएको थियो । अक्सिजन, आवश्यक औषधी र उपकरणहरुको कमीका कारण यस्तो हुन पुगेको भनी सरकारी अधिकारीले जानकारी दिएका थिए । 

तर के कति कारणले यस्तो दुःखद घटना हुन पुग्यो र महिनादिनमै यतिधेरै बालबालिकाको मृत्यु कसरी भयो भन्ने बारेमा उत्तर प्रदेशको फारुक्खाबाद जिल्लामा रहेको राम मनोहर लोहिया राजकीय चिकित्सालय (अस्पताल) मा अनुसन्धान भइरहेको बताइएको छ । 

सो अस्पतालको नवजात शिशु विशेष हेरचार कक्षमा मात्र ३० जना बालबालिकाको मृत्यु भएको थियो । त्यस्तै अन्य १९ जनाको भने बच्चा जन्मिने क्रममा र जन्मिएपछि मृत्यु भएको बताइएको छ । 

उत्तर प्रदेशका कतिपय तथा विशेषगरी सरकारी अस्पतालमा केही समययता नवजात शिशुको मृत्यु हुने क्रम बढ्दै गएको पाइन्छ । त्यस विषयमा अन्य अस्पतालको अवस्थाका बारेमा पनि अनुसन्धान गरिने उत्तर प्रदेश राज्यका सरकारी अधिकारीले जानकारी दिएका छन् । 

उनका अनुसार सो अस्पतालमा त्यति ठूलो सङ्ख्यामा के कसरी बालबालिकाको ज्यान गएको छ भनेर खोजी गरिने छ । यस विषयमा सर्वसाधारणमा व्यापक मात्रामा चासो बढेको छ । उनीहरुले संगठित रुपमा नै यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने माग गरिरहेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामाग्री