शनिबार, १५ वैशाख २०८१

साना बामका ठुला कुरा, ‘गठबन्धन कम्युनिष्टहरुको नाममा कलंक’

समयपोष्ट २०७४ असोज १८ गते १०:३७

नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच भएको तालमेल र एकता प्रयासलाई दक्षिणपन्थी र प्रतिक्रियावादी कदमको संज्ञा दिएका छन् । 
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष गजुरेलले एमाले र माओवादी केन्द्रवीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिएका हुन् । उनले भने,‘यो वाम एकताको प्रयास नै गलत छ, हुन त यो गठबन्धनले केही प्रभाव पार्दैन्, र तीन पार्टीहरु अब दक्षिणपन्थी बाटो हुँदै प्रतिक्रियाकरणको बाटोमा अघि बढेका छन्, त्यसैले उनीहरुको मोर्चा प्रतिक्रियाकरणको मोर्चा हो।’
एमाले, माओवादी र नयाँ शक्तिले कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउँछौं भनेर जनतालाई ढाँट्ने काम गरेको उनको आरोप थियो । उनले भने,‘यीनीहरुको यो वाम तालमेलबाट कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउने कुरा त परै जाओस्, एकीकृत कम्युनिष्ट पार्टी बन्नेवाला पनि छैन्।’ 
उनले एमालेको सच्चा देशभक्तको खोलपनि अहिले आएर नाँगिएको बताए । उनले भने,‘एमालेको देशभक्तको मुकुण्डो उदागियो, कम्युनिष्टहरुको नाममा कलंक हो, यो त भ्रष्टाचारीहरुको अखडा हो ।’ यद्धपी उनले तीन पार्टीवीचको गठबन्धनले नेपाली राजनीतिमा नयाँ धुव्रिकरण भने ल्याउने विश्वास दिलाए । 
त्यस्तै उनले माओवादी केन्द्र जनयुद्धको असली उत्तराधिकारी नभएको समेत आरोप लगाए । उनले भने,‘हुन त माओवादी केन्द्रले हामी नै जनयुद्धको उत्तराधिकारी हो भनेर जनतामा भ्रम पारो, तर यो सब झुठको खेती हो।’ 
उनले क्रान्तिकारी र देशझत्तहरु सचेत भएर मोर्चावन्दीमा जुट्नुपर्नेमा समेत जोड दिए । उनले भने,‘यो देशमा क्रान्तिकारीहरु शक्तिहरु छन्, त्यसैले अब एक भएर जुट्नुपर्छ।’ एमाले र माओवादी केन्द्रको एकताको प्रयासले कांग्रेसभित्रपनि समस्या देखा परेको उल्लेख गर्दै कांग्रेसले छट्पटीमा पञ्चहरुलाई खोज्न थालेको उनको गुनासो थियो । 
नेता गजुरेलले एमाले र माओवादी केन्द्रको यो गठबन्धन जनता र राष्ट्रको लागि औचित्यहिन रहेको दाबी गरे । उनले भने,‘यो गठबन्धन भ्रष्टहरुको सञ्जाल हो, यसले मुलुक र जनताको लागि केही पनि गर्न सक्दैन्, तपाई लेखेर राख्नुहोस्, यहाँ सच्चा कम्युनिष्टहरु छैनन्।’ उनले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले त धेरै पहिल्यैदेखि नै कम्युनिज्म त्यागेको घोषणा गरेकोले उनी पनि यही मोर्चामा आउनु उनको लागि पनि नाँगो भएको आरोप थियो । उनले माओवादी केन्द्रले त एमालेसँग एकता गरेको नभएर आत्मसर्मण गरेको आरोप लगाए । 
गजुरेलले एमाले, माओवादी र नयाँ शक्तिवीचको तालमेलले कम्युनिष्टहरुको मुल प्रवाह कुनैपनि हालतमा बन्नै नसक्ने ठोकुवा गरे । 
नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले वाम एकताको प्रयास र एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीचको तालमेलले वर्तमान सरकारलाई केही असर नपर्ने स्पष्ट पारेका छन् । उनले भने,‘सरकार परिवर्तन नगर्ने शर्तमात्रै नै हामीले एमालेसँग गठबन्धन गरेका हौं, तालमेल गरेका हौं।’
नेता शर्माले वाम तालमेलको प्रयासबारे आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै जानकारी दिएको उल्लेख गर्दै भने,‘हामीले एमालेसँग वाम तालमेल गर्नेबारे कांग्रेसलाई जानकारी दिएका थियौं, त्यसैले यो कसैका विरुद्ध लक्षित छैन्।’ उनले देउवा नेतृत्वको सरकारले नै निर्वाचन गराउने स्पष्ट पारे । 
शर्माले भने,‘यो सरकार दायाँ बायाँँ हुँदैन, देउवा नेतृत्वको सरकारले नै चुनाव हुन्छ, चुनाव अघि सरकार परिवर्तनको कल्पना पनि गर्न सकिँदैन्।’ त्यस्तै उनले एमाले र माओवादी केन्द्रवीचको तालमेल र एकता प्रयासबाट कोही पनि तरँगित हुन आवश्यक नरहेको स्पष्ट पारे । 
शर्माले पार्टीहरु फुटेर अघि बढ्नुभन्दापनि जुटेर अघि बढ्नु नै राम्रो कदम भएको बताए । उनले भने,‘यसले त कांग्रेसलाई पनि फाईदा नै पुगेको छ, जनताले एकताबद्ध भएर बढेको हेर्न चाहन्छन्, त्यसैले विचार मिल्नेहरु एक भएर जानु नै बेश हुन्छ।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न महत्वपूर्ण अवसर आएको समेत विश्वास दिलाए । 
राष्ट्र निर्माणको लागि एक भएर जानको लागि कम्युनिष्टहरु एक ठाउँमा उभिएको उनको तर्क थियो । उनले भने,‘लोकतन्त्रलाई बलियो बनाउनको लागि पनि पार्टीहरु बलियो हुनुपर्छ, कसैले कसैलाई कमजारे पार्नु हुँदैन्।’ राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको लागि आफूहरुको एकता हुन लागेको र त्यसको लागि एकता संयोजन समिति समेत गठन भएको शर्माले जानकारी दिए । 
नेकपा मालेका महासचिवका सीपी मैनालीले आफ्नो पार्टीको चुनाव अघि एमाले– माओवादी केन्द्रसँग एकताको कुनै संभावना नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले उहाँहरुसँग एकताको कल्पना समेत गरिएको छैन, अहिले चुनावको मुखमा हामी छौं, हामीले बरु चुनावी तालमेलको बारेमा सोच्न सक्छौं, तर एकता हुन्छ भनेर बाहिर हल्ला चलाईएको छ, अहिले एकता हुँदैन्।’
महासचिव मैनालीले आफूहरुको सैद्धान्तिक विचारदेखि लिएर अन्य विभिन्न पक्ष समेटेर महत्वपूर्ण आठ दश वटा विषयहरु रहेकोले त्यसमा सहमति नभएसम्म एमाले नेतृत्वको मोर्चासँग एकता नहुने ठोकुवा गरे । 
उनले थपे,‘पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा हामी छौं, तर विचार र सिद्धान्त मिल्नेहरुकोवीचमा मात्रै एकता हुनुपर्छ, हाम्रो अहिले उहाँहरुसँग कुनै एजेण्डा नै मिल्दैन्।’ उनले चुनावअघि एकताको कुरा गर्नेबारे आफूहरुलाई कुनै फुर्सद समेत नरहेको जिकिर गरे । मैनालीले भने,‘नजाने गाउँको बाटो नै नसोध्नुहोस्।’
नेता मैनालीले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीचको चुनाव तालमेल र एकता प्रयास तमासा बन्न नहुने धारणा राखे । उनले थपे,‘उहाँहरुवीचको एकता प्रयास अत्यन्तै सकारात्मक छ, म स्वागत नै गर्छु, हाम्रो पार्टीले स्वागत गर्छ।’ त्यस्तै उनले माओवादीसँगको एकता प्रयासले एमालेलाई राष्ट्रवादी शक्ति बन्ने अवसरबाट कतै बञ्चित त भएको होईन भन्ने पनि बहस सुरु भएको टिप्पणी गरे । 
तर उनले तीन पार्टीवीचको एकता प्रयासले नेपालमा बहुमतको सरकार बन्ने ढोका खुलेको बताउँदै यो राम्रो संकेत भएको बताए । उनले थपे,‘एमालेले केही गुमाएपनि मुलुकमा स्थिर सरकार बन्ने भयो, यो खुशीको कुरा हो।’ दुवै दलहरुवीच धेरै कुराहरु मिल्ने भएकोले मिल्नु नौलो कुरा नभएको उनको तर्क थियो । 
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीचको एकतालाई आफूहरुले नौलो विषयको रुपमा नलिएको र उनीहरुसँग आफ्नो पार्टीको एकता हुनै नसक्ने स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीले उनीहरुसँग एकता गर्दैन्, चुनावी एकतामात्रै हुन्छ।’ 
अध्यक्ष केसीले तीन पार्टीवीच भएको एकत प्रयासलाई आफूले आश्चर्यको रुपमा नलिएको बताए । उनले भने,‘तीन पार्टीवीच एकता प्रयास हुँदैमा किन यस्तो खैलाबैला र रुवानी छ।’ संसदमा सँगै हिँडिरहेका दलहरुले चुनावी एकता गर्नु नौलो कुरा नभएको उनको टिप्पणी थियो । 
उनले भने,‘अहिले अचम्म हुनुपर्ने थिएन, बरु अचम्म त एमाले र माओवादी केन्द्रसँगै हुँदा जसरी माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्यायो त्यो अचम्म थियो, यो त सामान्य नै हो।’ एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको एउटै पहिरन, एउटै भान्छा भएकोले मिल्नु नौलो कुरा नभएको केसीले बताए । 
उनले मंसिरमा हुने चुनावमा एमाले–माओवादी केन्द्र र नयाँ शक्तिवीचको गठबन्धनसँगै मात्रै नभएर नेपाली कांग्रेससँगपनि तालमेल हुने जनाए । उनले भने,‘स्थानीय तहको निर्वाचनमा पनि हामीले धेरै ठाउँमा कांग्रेससँग तालमेल गरेका थियौं, फेरि पनि गर्छौं।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री