आइतबार, ६ जेठ २०८१

आफनै पत्नी नायिका भएको फिल्मको प्रचारमा यसरी जुटे ऋषि धमला

समयपोष्ट २०७५ असोज १० गते ११:३८

यही असोज १२ गते (शुक्रबार) बाट देशैभरि प्रदर्शनमा आउने सांगीतिक लभ स्टोरी कथामा बनेको चलचित्र ‘अनुराग’का प्रस्तुतकर्ता ऋषि धमलाले आफ्नो चलचित्र हेर्न आम दर्शकसमक्ष आग्रह गरेका छन् ।

Advertisement

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै धमलाले आफूले निर्माण गरेको चलचित्र युवा पुस्ताहरुको ढुकढुकी बन्ने दाबी समेत गरेका छन् ।

चलचित्र प्रदर्शनमा आउन जम्मा दुई दिनपनि बाँकी नभएको अवस्थामा निर्माण पक्ष भोलि चितवन जाने कुरा गर्दैछ, ढिला भएन र ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘मैले प्रत्येक दिन अनुराग, अनुरागमात्रै भनिरहेको छु । मेरो मुखमा अनुराग झुण्डिएको छ । ऋषि धमलाको फिल्म भएकोले अहिले देशव्यापी रुपमा यो चलचित्र हेर्ने माहोल बनेको छ ।’

फिल्मकी नायिका एलिजा गौतमकै अघि पत्रकार धमलाले उनको अभिनयको खुलेर प्रशंसा गरेका थिए । उनले भने,‘एलिजा ६ महिनाको बच्चा आमा हुँदापनि यो फिल्मको सुटिङमा थिईन् । उनको अभिनय पनि अब्बल दर्जाको छ । एलिजासँगै यो चलचित्रमा सरोज खनाल, रुपा राणा, राजाराम पौडेलदेखि बाल कलाकारसम्मको जबरजस्त अभिनय छ। अनुरागमा माया छ, प्रेम छ, विछोड छ । यहाँ सबैको समिश्रण छ । अनुरागमा के छैन ?’
धमलाले आफ्नो चलचित्र ८० वर्षका बृद्धा आमा–बुवादेखि ५ वर्षसम्मको बालबालिकाहरुले हेर्न मिल्ने खालको भएको पनि विश्वास दिलाए । धमलाले थपे,‘मेरो चलचित्रमा समाजले पचाउने खालको दृश्यहरु छन् ।’

फरक प्रसँगमा धमलाले आफुले दुई दशकको पत्रकारिताको ईतिहाँसमा कहिल्यैपनि अस्वस्थ प्रतिष्पर्धा नगरेकोले फिल्म क्षेत्रमा पनि आफूले अस्वस्थ प्रतिष्पर्धा नगर्ने वचनबद्धता गरे । उनले भने,‘म चलचित्र जगतमा पनि स्वस्थ प्रतिष्पर्धा चाहन्छु । हामीले अनुरागको रिलिजिङ् डेट आजभन्दा तीन महिना अघि नै सार्वजनिक गरेका हौं । असोज १२ गते हाम्रो मुभी देशैभरि प्रदर्शनमा आउँदैछ । अब त्यो दिन अरु पनि मुभी रिलिज हुँदैछन् । ऋषि धमला भागेर पछि हट्दैन् ।’

Advertisement

धमलाले आफ्नो चलचित्रमा हसाउँनेदेखि रुवाउनेसम्मको स्टोरी रहेकोले हलमै गएर हेर्न आम दर्शकहरुलाई आग्रह गरेका छन् । उनले दोहोर्याएर भने,‘चलचित्रले माया, प्रेम र रोदनको कथालाई उठान गरेको छ । यो हाम्रो नयाँ प्रयास हो । हलमै गएर चलचित्र हेरेर हामीलाई हौसला प्रदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

चलचित्र अनुरागको प्रेस–मिट भएपनि पत्रकार धमला भने आज निकै नोष्टाल्जिक बनेका थिए । उनले आफूले १४ वर्षको बाल्यकालदेखि नेपाली पत्रकारितामा पाईला टेकेको पनि आज स्मरण गराए ।

उनले भने,‘१४ वर्षको बालक हुँदा मैले सुरु गरेको पत्रकारितादेखि आजको दिनसम्म आईपुग्दा मैले यो अवधिमा कोही कसैसँगपनि सम्झौता गरेको छैन । २०४६ सालको जनआन्दोलनमा म ७ दिनसम्म जेल परें । लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा म सँधै दृढ छु । विधिको शासनको लागि र व्यवसायिक पत्रकारिताको लागि मैले कोही र कसैसँग पनि सम्झौता गरेको छैन ।’

धमलाले ०६२/६३ सालको जनआन्दोलनमा पनि आफू नेतृत्वको क्लबले अग्रणी भूमिका निर्वाह गरेको सुनाए । उनले भने,‘माघ १९ गते ज्ञानेन्द्रले कु गरे, मैले माघ २१ गते सडकमै साक्षात्कार गरेको थिएँ । लोकतन्त्रको लागि क्लब कोहीसँगपनि झुकेन । मैले त्यो दिन सिपी मैनाली, नारायण खड्का र भीम रावलसँग साक्षात्कार गरेको थिएँ ।’

धमलाले आफूहरुले त्यतिवेला मिशन पत्रकारिता गरेपनि अब त्यो युगको अन्त्य भएकोले व्यवसायिक पत्रकारितामा जोड दिनुपर्ने धारणा राखे । धमला पूनः चलचित्र अनुरागको बारेमा बोल्न फर्किए ।

उनले भावुक हुँदै भने,‘म अनुराग चलचित्रमा किन आएँ ? किनकी मलाई माया गर्ने धेरै हुनुहुन्छ । तपाईहरुलाई मेरो विगतपनि राम्रोसँग थाहा छ, र वर्तमानपनि । म आज हात जोडेर भन्न चाहन्छु, तपाईहरुको मायाले आज अनुरागको माहोल देशैभरि तातेको छ । मिडियाका साथीहरुले ठूलो साथ र सहयोग गर्नुभएको छ । त्यसैले यो चलचित्र निर्माण भएको दिनदेखि नै यसले ठूलो चर्चा तथा परिचर्चा पाएको छ ।म तपाईहरुप्रति आभारी छु।’

धमलाले अनुराग अहिलेको पुस्ताको लागि नयाँ टेष्ट हुने भन्दै यो युवाहरुकै प्रतिबिम्ब पनि भएको जिकिर गरे । उनले भने,‘चलचित्र निर्माता नयाँ, कथा नयाँ, हिरो तथा हिरोईन नयाँ, निर्देशक नयाँ, सबै नयाँ भएकोले दर्शकहरुले माया गरिदिनुहुन्छ भन्ने मेरो विश्वास छ । किनकी अहिलेको पुस्ताले नयाँ टेष्ट चाहेको छ।’

त्यस्तै कार्यक्रममा चलचित्रकी नायिका एलिजा गौतमले पनि आफ्नो ‘डेब्यु’ चलचित्र भएको सुनाउँदै सबैलाई यो चलचित्र हलमै गएर हेर्न आग्रह गरिन् । उनले भनिन्,‘हामीले यो चलचित्रको बारेमा धेरैभन्दा धेरै दर्शकसामू पुर्याउन कोशिस गरेका छौं । हाम्रो चलचित्र रिलिज हुन अब जम्मा २ दिन बाँकी छ । पर्सी शुक्रबार अल नेपाल प्रदर्शनमा आउँदैछ ।’

मुभी म्युजिकल लभ स्टोरी भएकोले अहिलेको पुस्ताले मन पराउने उनको विश्वास छ । उनले भनिन्,‘हाम्रो चलचित्रमा टिपिकल लभस्टोरी छ । परिवारका पुरै सदस्यले एकसाथ बसेर हेर्न मिल्ने चलचित्र छ । सबैले ईन्जोय गर्नुहुन्छ ।’

फरक प्रसँगमा उनले नेपालमा हप्तामा चारवटा चलचित्रहरु एकसाथ रिलिज गर्नु दुःखद् रहेको टिप्पणी गरिन् । उनले हप्तामा कम्तिमा एउटामात्रै चलचित्र प्रदर्शनमा ल्याउनुपर्ने सुझाव दिईन् ।

चलचित्रका नायक सुमन्द्र पण्डितले पनि चलचित्र अनुराग युवा पुस्ताहरुको लागि नयाँ टेष्ट बन्ने दाबी गरे । उनले भने,‘लगानीकर्ता, निर्देशक, हामी कलाकार सबै नयाँ छौं । हामीले नयाँ टेष्ट दिन खोजेका छौं । एकचोटी हलमै गएर यो चलचित्र हेरिदिन म आग्रह गर्दछु ।’

चलचित्रका संगीतकार सरोज पोखरेलले अनुरागमा ५ वटा गीत रहेको जनाए । गीतमा सुगम पोखरेल, प्रताप दास, ताराप्रकाश लिम्बु, अञ्जु पन्त र ममता गुरुङको स्वर रहेको उनले जानकारी दिए ।

कार्यक्रममा चलचित्रका सह–नायक थिलेन लामाले टिमवर्कमा चलचित्र धेरै राम्रो बनेको बताउँदै अहिलेको युवापुस्ताले मन पराउने विश्वास दिलाए । नायिका एलिजा गौतमले दुई वटा बच्चाकी आमा भएरपनि चलचित्रमा जबरजस्त र जीवन्त अभिनय गरेर उदाहरणीय काम गरेको भन्दै उनको प्रशंसा गरे ।

बाल कलाकारद्धय सुरज खड्का र शिवानी घतानीले पनि चलचित्र हलमै गएर हेरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री