शुक्रबार, १४ वैशाख २०८१

बीमा आफ्नो लागि हो भनेर बुझाउन जरुरी छ : राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि पाठकको अन्तर्वार्ता

समयपोष्ट २०७५ असोज ९ गते १३:२६

बीमा संस्थानलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ? के छन् योजना ?

Advertisement

बीमा संस्थानलाई अगाडि बढाउने सन्दर्भमा पुराना पेन्डिङमा रहेका कामहरूलाई सम्पन्न गर्ने भन्ने रहेको छ । अडिट सक्ने, आउने सालका कार्यक्रमहरू लिएर जान वार्षिक कार्ययोजनाहरू बनाएका छौँ । हाम्रा सबै शाखा कार्यालयहरू पनि चलिरहेको अवस्था छैन । भर्खरै मात्र हामीले त्यहाँ कर्मचारीहरू खटाएका छौँ । करिब १२ वटा शाखा यो वर्ष सञ्चालन गर्ने कार्यक्रम रहेको छ । अर्को, हाम्रो मुख्य व्यवसाय शाखा कार्यालयहरूबाट मात्र नभई अभिकर्ताहरूमार्फत् पनि सञ्चालन हुने गर्छ । त्यसले गर्दा अभिकर्ताहरूको तालिमलाई व्यापक रूपमा सञ्चालन गर्ने र हरेक स्थानीय तहसम्म अभिकर्ताहरूको सञ्जाल पु¥याउने कार्ययोजना रहेको छ ।

राष्ट्रिय बीमा संस्थान सरकारको लगानी भएको संस्था भएको हुनाले जनमानसमा यसको इमेज राम्रो छ । अलि बढी भरपर्दो र विश्वाससिलो छ । त्यस हिसाबले हामीहरूले कार्यक्रमहरू लिएर जाँदा अप्ठेरो हुँदैन । भलै, हाम्रो कामकारबाहीको ढाँचा अझै पुरानो छ । नयाँ कम्पनीहरू नयाँ सफ्टवेयर र नयाँ गतिका साथ अगाडि बढेका छन् । हामी पनि त्यो दिशातर्फ लाग्ने हिसाबले नयाँ सफ्टवेयर खरिदको प्रक्रियामा छौँ ।

लामो समय लेखा परीक्षण रोकिएको थियो, अहिले के भइरहेको छ ?

२०६८–६९ सम्मको लेखा परीक्षण सकेर बीमा समितिमा स्वीकृतिको लागि पठाएको अवस्था छ । स्वीकृति प्राप्त भइसकेपछि हामी एजीएमको पाटोमा जान्छौँ । त्यसै गरी ७१–७२ सम्मको हाम्रो एक्सट्रनल अडिटरले लेखा परीक्षण सम्पन्न गरेर प्रारम्भिक रिपोर्ट दिइसकेको छ । हामी लेखा परीक्षण समितिमा छलफलको क्रममा छौँ । हामीले भर्खरै मात्र ७३–७४ सम्मको लेखा परीक्षण गर्नका लागि परामर्श प्राप्त गरेका छौँ । यो सरकारी संस्था भएको हुनाले लेखा परीक्षक तोक्ने काम महालेखा परीक्षकले गर्छ । उहाँहरूले त्यो दिइसकेकपछि ७३–७४ सम्मको अडिट आउने पौषसम्ममा सम्पन्न गर्ने गरी अगाडि बढेका छौं ।

समितिले तोकेको चुक्ता पुँजी कसरी पुर्याउँदै हुनुहुन्छ ?

अहिले हाम्रो पुँजी १८ करोड रूपैयाँ छ । बीमा समितिले गत असारसम्म जीवन बीमातर्फ सबै कम्पनीहरूले २ अर्ब पुर्याउनुपर्ने प्रस्ताव गरेको छ । नयाँ ऐन आइसकेपछि र यो वर्ष हामी २ अर्ब पुर्याउने हिसाबमा जान्छौँ । हाम्रा प्रमोटरहरू नेपाल सरकार, राष्ट्र बैङ्क र नेपाल बैङ्क तीनवटा सरकारी क्षेत्रकै भएको हुनाले क्यापिटल प्लान बनाएर प्रस्तुत भइसकेको छ । यो ऐन संशोधन भएसँगसँगै हाम्रो यो काम पनि सम्पन्न होला । हाम्रो पुरानो ऐन राष्ट्रिय बीमा संस्थानको ऐनमा अधिकृत पुँजी ५० करोड मात्र रहेको थियो । बीमा समितिले २ अर्ब पुर्याउन निर्देशन दिएको अवस्था हो । ऐनमा सुधार नर्गदासम्म हामीले त्यो वृद्धि गर्ने अवस्था रहेन । हामीले नेपाल कानुन संशोधन व्यवस्थाअनुसार संशोधन प्रस्ताव पनि पठाएका थियौँ । तर बीमा ऐन नै संशोधनको क्रममा रहेको हुनाले त्यो पेन्डिङमा रह्यो । अब त्यो ऐनले व्यवस्था गरेअनुसारको पुँजी पुर्याउन हामी यो वर्ष योजनाबद्ध ढङ्गले लाग्छौँ ।

बीमा साक्षरता कम हुनुको कारण के हो ?

बीमा भनेको नेटवर्किङ बिजनेस हो भन्ने आमनागरिककोे बुझाइ छ । बैङ्कहरूले वित्तीय साक्षरता कार्यक्रममार्फत् देशभर बैङ्किङको नेटवर्क पु¥याउने र बैङ्किङको विषयमा जानकारी फैलाउने काम भएको छ । तर बीमाको क्षेत्रमा त्यो नपुगेको हो कि भन्ने मलाई लाग्छ । अब बीमा कम्पनीहरू पनि बैङ्कहरू जस्तै धेरै खुलेका छन् । निजी क्षेत्रमा थुप्रै बीमा कम्पनीहरू आइसके । सबै मिलेर बीमाको प्रचार–प्रसार गर्ने हो भने बीमाको बारेमा जानकारी गराउन सकिन्छ । बीमा भनेको अरूका लागि नभई आफ्नो लागि हो भनेर आमनागरिकलाई बुझाउन जरुरी छ । बीमाको बारेमा जति पनि अफवाहहरू फैलाइएका छन्, त्यसलाई सही किसिमले सम्प्रेषण गर्ने काम हामीहरूले ग¥यौँ भने यसलाई सच्याउन सकिन्छ । हामीले पनि यो वर्ष बीमाको सम्बन्धमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने सोच बनाएका छौं । यसले पनि सहयोग पुग्ला । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री