शुक्रबार, १६ चैत २०८०

निर्मला हत्या प्रकरणमा गृहमन्त्रीले मुख खोले

समयपोष्ट २०७५ भदौ २९ गते १५:३३

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ ।

Advertisement

निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उहाँले भन्नुभयो, “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।” निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको भन्दै उहाँले दोषीलाई कठघरामा ल्याउन प्रयास जारी रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो, “कञ्चनपुर घटनामा हामीले शुरु देखिनै ध्यान दिएका हौँ । घटनालगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौँ, त्यसपछि केन्द्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोली पठायौँ, त्यसले पनि नभएपछि उच्चस्तरीय छानबिन समिति गठन गरियो । समितिबाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भईरहेको छ ।”

सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरबाहीलाई छुट नदिइने गृहमन्त्रीले स्पष्ट पार्नुभयो । दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्रीले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताउनुभयो ।

सो अवसरमा निर्मलाका आमा, बाबुले घटना घटेको लामो समय बित्दासमेत दोषी पत्ता नलागेको, प्रहरीबाट विगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री