बुधबार, १२ वैशाख २०८१

भाँडा बनाउन कालिगढ अभाव

समयपोष्ट २०७५ भदौ २९ गते ७:०७

प्यूठान जिल्लामा कालिगढको अभाव भएको छ । युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै कालिगढको अभाव भएको हो ।

Advertisement

घरेलु उद्योगमा कालिगढ अभावका कारण व्यापार व्यवसाय फस्टाउन सकेको छैन । तामाका भाँडा बनाउने व्यवसाय कालिगढ अभावमा सङ्कटमा छ । सो व्यसायलाई हेलाको दृष्टिले हेर्ने गरिएको छ । अहिले जिल्लाका तीन ठाउँमा मात्र तामाका भाँडा बनाउने गरेको भेटिन्छ । दाखाक्वाडी, बिजुवार जुम्री र बाग्दुलामा तामाका भाँडा बनाइन्छ । प्यूठानबाट यहाँ आई पुराना तामाका भाँडा खरीद गरेर व्यवसाय थालेको गुमानसिंह सुनार बताउनुहुन्छ । उहाँ विगत २५ वर्षदेखि जुम्रीमा तामाका भाँडा बनाउँदै आउनुभएको छ । “यो पेशा लोप हुने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो ।

कालिगढसँगै लगानीको समस्या भएको सुनारले बताउनुभयो । विगतमा छ÷सात जनालाई रोजगार दिएपनि हाल उनीहरु विदेश पलायन भएका छन् । उहाँलाई अहिले श्रीमती प्रेमकला र छोरा एकराजले सघाउँदै आएका छन् ।
“मासिक रु २० हजारसम्म आम्दानी हुन्छ,” सुनारले भन्नुभयो, “वार्षिक रु पाँच लाखसम्मको कारोवार हुन्छ ।”

जिल्लाको दाखाक्वाडीमा यही पेशा गर्दै आउनुभएका लिलाबहादुर टमटालाई पनि सुनारको जस्तै समस्या र चिन्ता छ । “कालिगढको अभावले माग धान्न सकेको छैन,” उहाँले भन्नुभयो । विसं २०६८ देखि व्यवसाय थाल्नुभएका टमटाले रातदिन काम गर्दा पनि माग पुरा गर्न नसकेको बताउनुभयो । उहाँको उद्योगमा चार जनाले रोजगारी पाउनुभएको छ । “बजारमा माग बढ्दो छ,” उहाँले भन्नुभयो, “आफ्नै छोरा नातिले पनि यो पेशा गर्दैनन् ।”

टमटाले वार्षिक करीब रु १४ लाखसम्मको कारोवार गर्दै आउनुभएको छ । कामदारले मासिक रु १२ हजारदेखि रु १८ हजारसम्म ज्याला पाउने गरेका छन् । पेशा सङ्कटमा पर्दै गएको उहाँ बताउनुहुन्छ । गाउँघरमा खरीद गरिएका पुराना भाँडाले नै माग धानिरहेको टमटाले बताउनुभयो । उहाँले गाग्री, ताउला, अमखोरा, माना, पाथी, परादलगायत भाँडा बनाउनुहुन्छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री