बुधबार, १२ वैशाख २०८१

काठमाडौँमा विकास बैङ्कको आवश्यकता नै छैन : गोविन्दप्रसाद ढकालको अन्तर्वार्ता

समयपोष्ट २०७५ भदौ २७ गते ५:४३

गरिमा विकास बैङ्कको वित्तीय अवस्था कस्तो छ ?

Advertisement

गरिमा विकास बैङ्कको वित्तीय अवस्था समग्रमा एकदमै राम्रो छ । मेचीदेखि महाकालीसम्म हाम्रा ६० शाखाहरू विस्तार भएका छन् । अन्य नौ शाखा खुल्ने प्रक्रियामा छन् । असार मसान्तसम्म गरिमाको डिपोजिट २१ अर्ब २५ करोड रूपैयाँ रहेको छ । लगानी १८ अर्ब ९५ करोड र पेड अप क्यापिटल २ अर्ब ५३ करोड ४८ लाख रूपैयाँ रहेको छ । हामीले झन्डै दुई लाख ६० हजार ग्राहकहरूलाई सेवा प्रदान गरिरहेका छौँ । हामीले खुद नाफा ४३ करोड रूपैयाँ आर्जन गर्न सफल भएका छौँ ।

केही समयअघि लगानीयोग्य पुँजीको अभाव थियो, त्यसले तपाईंको बैङ्कलाई कत्तिको असर गर्यो ?

त्यो समस्या विकास बैङ्कहरूलाई वाणिज्य बैङ्कको तुलनामा कम थियो । संस्थागत निक्षेप विकास बैङ्कमा कम र वाणिज्य बैङ्कमा बढी हुने हुँदा हामीले समस्या भएर लगानी नै रोकेको अवस्था थिएन । तर बजारमा यो समस्या आइसकेपछि हामी पनि केही हदसम्म त्यसमा पर्यौं । त्यस हिसाबले गर्दा लगानी गर्न सक्ने हाम्रो जुन किसिमको क्षमता थियो, कर्जा फाइलका डिमाण्डहरू हामीसित थिए, त्यसमा सहजै लगानी गर्न हामीलाई अलिकति अप्ठेरो पर्यो । तर अन्य बैङ्कभन्दा तुलनात्मक हिसाबले गरिमा विकास बैङ्कले नियमितरूपमा लगानी गरेको थियो । हामीले लगानी रोकेकोे अवस्था थिएन ।

अहिले निक्षेप थपिएको छ, बढेको व्याज कहिलेसम्म घट्ला ?

निक्षेप थपिँदैमा व्याज घट्ने भन्ने हुँदैन । बैङ्कको बेस रेट हुन्छ । बेस रेटको आधारमा कर्जाको व्याज घटाउने–बढाउने कुरा हुन्छ । अहिले वित्तीय विवरण प्रकाशित गर्दा धेरैजसो बैङ्क वित्तीय संस्थाहरूको बेस रेट घटेको स्थिति छैन । त्यसले गर्दा ह्वात्तै व्याजदर घट्ने भन्ने हुँदैन । प्वाइन्ट फाइभ, एक प्रतिशत तल–माथि हुन सक्ने अवस्था रहन्छ । कतिपय बैङ्क वित्तीय संस्थाहरूले लगानी गर्दा त्यो अनुसार लगानी गरिसकेको अवस्था पनि छ । मुद्धति र बचतको व्याज एकदेखि डेढ प्रतिशत घटाइसकेको अवस्था छ । यसले गर्दा उद्यमीले आठ प्रतिशत, नौ प्रतिशत खोजे जस्तो अवस्था छैन । त्यो अवस्था आउँदैन । तर पुरानो व्याज बैङ्कको अवस्था हेरेर केही घट्ने सम्भावना रहन्छ ।

स्प्रेड रेट घटेको छ । व्याजदर १ अङ्कमा झर्न कति समय लाग्ला ?

विकास बैङ्कलाई आश्विन मसान्तसम्म पाँचमा झार भनिएको छ । त्यसले गर्दा व्याजदर १ अङ्कमै आउँछ जस्तो मलाई लाग्दैन । १ अङ्कमा व्याजदर खोज्ने अनि निक्षेपलाई नगण्य व्याजदर दिने हो भने भोलि फेरि त्यही समस्या दोहोरिन्छ । निक्षेपलाई उचित व्याज दिइएन भने त्यो मान्छे पलायन हुन्छ । मानिसले भारतमा लगेर पैसा राख्छ । नेपालको भन्दा मुद्धति अथवा बचतको व्याजदर भारतमा बढी भयो भने मानिस उतै जान्छन् । त्यो कुरालाई पनि विचार गर्नुपर्छ । लगानीको व्याज भनेको १० देखि १२ को बीचमा हुनुपर्छ । अलिकति ओभर लिक्विड भयो भने नौ प्रतिशतको अफर ल्याउला तर त्यो दिगो हुँदैन । कसैले आठमा, नौमा व्याज खोज्छ भने त्यो पनि मूर्खता हो । १५ अथवा १६ जुन बैङ्कले लिइरहेको छ, त्यो पनि मूर्खता हो । निक्षेप र बचतको व्याजदरमा कमसे कम पाँच छ प्रतिशत एकरूपता हुनुपर्छ । निक्षेपकर्ताले पनि व्याज त पाउनुपर्यो । अहिले पैसा बढी भयो, लगानी गर्न सकिएन भनेर निक्षेपको व्याजदर घटाएर एक–दुई प्रतिशत गर्यो भने त कसले बैङ्कमा पैसा राख्छ ? त्यो पैसा अन्यत्र डाइभर्ट हुन्छ । फेरि समस्या आउँछ । त्यस कारण साढे नौ–दश–एघारको बीचमा व्याजदर हुन्छ ।

अहिले बैङ्कमा १ रूपैयाँ ऋण लिन ३ रूपैयाँ धितो राख्नुपर्ने हुन्छ । यसलाई कसरी सहज बनाउन सकिएला ?

बैङ्कले धितो नराखी प्रोजेक्ट फाइनान्सिङ गर्न सक्दैन । नेपालीमा इमानदारिताको अलिकति कमी छ । कताबाट ठग्न पाइन्छ भन्ने प्रवृत्तिका मानिसहरू यहाँ प्रसस्त छन् । बैङ्कहरूले बिनाधितो पनि चार लाख रूपैयाँ लोन त दिन्छन् तर त्यति पैसाले त केही गर्नै सकिँदैन । प्रोजेक्ट फाइनान्सिङको कुरामा जलविद्युत्मा हुन्छ तर अन्य व्यापार व्यवसायमा हुँदैन । १ रूपैयाँ लिन लगभग ठ्याक्कै तीन रूपैयाँ नै धितो राख्नुपर्ने हुन्छ । यसमा थोरै पोलिसी लेबलका कुराहरू पनि छन् । हामीले कोल्याट्रल लगानीबिना लगानी गर्यो भने एक्स्ट्रा पच्चीस–तीस प्रतिशत प्रोभिजन हाल्नुपर्ने हुन्छ । त्यो नेपाल राष्ट्र बैङ्कले प्रोभिजन फाइनान्सिङ गर्दा बिनाधितो लियो भने थप प्रोभिजन राख्नुनपर्ने व्यवस्था गर्यो भने बैङ्क तथा वित्तीय संस्थाहरूले त्यता लगानी गर्न जान सक्छन् । त्यसका लागि नीतिगतरूपमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

अहिले दिगो विकास भनेर सबै हिँडेका छन् । सरकारको, राष्ट्र बैङ्कको लक्ष्य पनि त्यही छ । तर म उद्यम गर्छु । एउटा परियोजना चलाउँछु । काम गर्छु भन्ने मान्छे हामीले देखेका छैनौँ । हामीले पैसा दिन्छौँ भनेका छौँ तर त्यो कमिटमेन्ट भएका मान्छेहरू छैनन् । एकाधमा होलान् । एकाधमा भएर मात्र त हुँदैन । मानिसमा विदेश गएपछि पैसा कमाइन्छ, छिटो धनी भइन्छ भन्ने धारणा छ । आजको भोलि नै उद्यम गरेर मानिस धनी त बन्न सक्दैन ।

कमर्सियल बैङ्कहरू गाउँ–गाउँमा गइसके, अब विकास बैङ्क कसरी जान्छन् ?

कमर्सियल बैङ्कहरू गाउँमा बल्ल पुगे तर विकास बैङ्कहरू पहिले नै गइसकेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक जिल्ले, दश जिल्ले राष्ट्रियस्तरका विकास बैङ्क कुनै पनि गाउँमा नभएको भन्ने नै छैन । बरु कमर्सियल बैङ्क अहिले गएका हुन् । विकास बैङ्क पहिले नै गाउँमा पुगेर सञ्जाल विस्तार गरिसके, जहाँ कमर्सिल बैङ्कहरू जानुपर्नेे बाध्यकारी नीति बनाइएको छ, त्यहाँ विकास बैङ्क पुगिसक्यो । अब सहरमा शाखा विस्तार गर्नुपर्ने उद्देश्यलाई अगाडि लैजानु पर्नेछ । ग्र्रामीण क्षेत्रमा विकास बैङ्कहरू पुगिसके । ग्रामीण क्षेत्रमा वित्तीय चेतनाको अभिवृद्धि विकास गराउने नै विकास बैङ्क हुन् । अब पनि हामी जहाँ पुगेको छैन, त्यहाँ पुग्छौँ । विकास बैङ्कको महत्व काठमाडौँमा भन्दा पनि ग्रामीण क्षेत्रमै गएर बुझेपछि मात्र थाहा हुन्छ । काठमाडौँमा विकास बैङ्कको आवश्यकता नै छैन ।

अब विकास बैङ्कको भूमिका के हुन्छ ?

अब विकास बैङ्कको भूमिका झन् राम्रो हुन्छ । विकास बैङ्क र वाणिज्य बैङ्कमा अब खासै फरक रहेन । एलसी र विदेशी विनिमय दरको कारोबार त्यति मात्रै हो । पुँजीको हिसाबले उनीहरू ८ अर्बका छन्, विकास बैङ्क साढे २ अर्बका छन् । हिजोको वाणिज्य बैङ्क भन्दा अहिलेका विकास बैङ्कहरू सक्षम छन् । वाणिज्य बैङ्कहरू जति गाउँमा गए पनि उनीहरूले सानो कर्जा लगानी गर्दैनन् । कस्ट बढी पर्छ भनेर सानो फाइललाई लगानी गरेको हामीले देखेका छैनौँ । तर हामी सानोदेखि क्यापासिटीले भ्याउने ठूलो फाइलसम्म लगानी गर्छौं । प्रत्येक दिन विकास बैङ्कका शाखाहरू थपिएका छन् । शाखा विस्तार हुँदैछन् । विकास बैङ्कहरूले दिने सबै किसिमका सेवा–सुविधाहरू सर्वसाधारणलाई दिएका छन् । यो कुरा सरकार र राष्ट्र बैङ्कलाई पनि थाहा छ । यसको भूमिका अझ रहन्छ । यत्ति हो कि विकास बैङ्कको सङ्ख्या घट्न सक्छ । हिजो लगभग ९० थिए । अहिले ३० वटामा आइसके । अब घटेर १५ देखि २० को हाराहारी रहन सक्छन् । मर्जरहरू हुँदैछन् । जति रहन्छन्, ती सक्षम, बलिया हुन्छन् र सेवा विस्तार गर्छन् ।

गरिमा विकास बैङ्कका आगामी योजना के छन् ?

नेपाल राष्ट्र बैङ्कले दिएको पुँजी वृद्धिको क्राइटएरिया हामीले गत वर्ष नै पु¥याइसकेका छौँ । अब हाम्रो योजना भनेको शाखा सञ्जाल विस्तार गर्नु नै हो । हामीले १ नं. प्रदेशमा १० वटा शाखा विस्तार गरिसकेका छौँ । अब सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गर्ने तयारीमा हामी लागिसकेका छौँ । अन्य नौ शाखा पश्चिममा खोल्ने तयारी हुँदैछ । अन्य बैङ्क तथा वित्तीय संस्थाको पहुँच नपुगेको स्थानमा हामी शाखा विस्तार गर्दैछौँ । हाम्रो ग्रामीण एरियामा शाखाहरू बढी छन् । गरिमा विकास बैङ्क गाउँबाटै स्थापना भएको बैङ्क हो । त्यस कारण ग्रामीण भेगमा हाम्रो छुट्टै ममता छ । काठमाडौँ र सहरी एरियामा शाखा विस्तार र व्यवसायको आकार वृद्धि गर्ने अहिलेको हाम्रो मुख्य लक्ष्य हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री