सोमबार, २७ असोज २०८२

यस्ता छन् जलविद्युत् क्षेत्रका चुनौती

समयपोष्ट २०८२ असोज ९ गते ९:४२

Advertisement

आजसम्म आइपुग्दा नेपालको जलविद्युत् क्षेत्रले उल्लेखनीय प्रगति गरेको छ । यो क्षेत्रलाई आर्थिक विकास र लगानीको दृष्टिकोणले आकर्षक र सम्भावनायुक्त मानिन्छ । करिब ६५ लाख सेयरधनीहरु जलविद्युत् कम्पनीहरुमा जोडिएका छन्, जसले सर्वसाधारणको विश्वास र रूचि बढ्दो रहेको देखाउँछ । ३ करोड नेपाली जनसङ्ख्यामध्ये ठूलो हिस्साले जलविद्युत्लाई समृद्धिको आधार मानेका छन् । लगानीका अवसरहरुको हिसाबले यो क्षेत्र निकै आकर्षक बनेको छ र रोजगारी, पूर्वाधार विकास तथा ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।

१५ वर्षअघि जलविद्युत् क्षेत्रको विकास सीमित थियो । प्राविधिक ज्ञान, लगानी र जनचेतनाको कमीले ठूला आयोजनाहरु निर्माण गर्न निकै कठिनाइ थियो । केही व्यक्तिलाई मात्र यो क्षेत्रको सम्भावनाबारे जानकारी थियो र बजारमा लगानीको वातावरण खासै अनुकूल थिएन । सरकारी नीति र निजी क्षेत्रको सहभागिता पनि कमजोर थियो ।

आयोजना निर्माणमा लगानी व्यवस्थापन, वातावरणीय सन्तुलन, स्थानीय समुदायसँगको समन्वय र प्राविधिक जटिलताहरु प्रमुख चुनौती हुन् । विद्युत्को बजारको शुनिश्चितता र नीतिगत स्थिरताको आवश्यकता पनि महत्वपूर्ण छ ।

१० वर्षअघि यो क्षेत्रमा केही प्रगति देखिन थाल्यो । मानिसहरुमा चासो बढ्यो तर धेरैमा संशय कायमै थियो । जलविद्युत्मा लगानी गर्दा कसरी हुन्छ र के हुन्छ ? भन्ने प्रश्नहरुले बजारमा अनिश्चितता थियो । यद्यपि, नीतिगत सुधार र निजी क्षेत्रको प्रवेशले बिस्तारै गति लिन थाल्यो ।

Advertisement

५ वर्षअघि जलविद्युत् क्षेत्रप्रति जनचेतना र विश्वासमा उल्लेखनीय वृद्धि भयो । मानिसहरुले यो क्षेत्रलाई सम्भावनायुक्त र दीर्घकालीन लगानीको अवसरको रुपमा हेर्न थाले । नीतिगत सुधार, प्राविधिक विकास र अन्तर्राष्ट्रिय लगानीको आकर्षणले यो क्षेत्र थप बलियो बन्यो । तर, वित्तीय व्यवस्थापन, वातावरणीय प्रभाव र आयोजना निर्माणमा ढिलासुस्तीजस्ता चुनौतीहरु कायमै थिए ।

१५ वर्षअघिको सीमित अवस्थाबाट आज यो क्षेत्र देशको आर्थिक विकासको मेरूदण्ड बन्ने दिशामा अघि बढिरहेको छ । चुनौतीहरुको समाधान र दिगो विकासका लागि नीतिगत सुधार, लगानी वृद्धि र जनसहभागिता अझै आवश्यक छ ।

जलविद्युत् क्षेत्रको विस्तारसँगै चुनौतीहरु पनि बढेका छन् । आयोजना निर्माणमा लगानी व्यवस्थापन, वातावरणीय सन्तुलन, स्थानीय समुदायसँगको समन्वय र प्राविधिक जटिलताहरु प्रमुख चुनौती हुन् । विद्युत्को बजारको शुनिश्चितता र नीतिगत स्थिरताको आवश्यकता पनि महत्वपूर्ण छ ।

नेपालको जलविद्युत् क्षेत्रले विगत १५ वर्षमा उल्लेखनीय प्रगति गरेको छ । १५ वर्षअघिको सीमित अवस्थाबाट आज यो क्षेत्र देशको आर्थिक विकासको मेरूदण्ड बन्ने दिशामा अघि बढिरहेको छ । चुनौतीहरुको समाधान र दिगो विकासका लागि नीतिगत सुधार, लगानी वृद्धि र जनसहभागिता अझै आवश्यक छ । यो क्षेत्रले नेपाललाई ऊर्जा आत्मनिर्भर बनाउन र आर्थिक समृद्धि हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने सम्भावना बोकेको छ ।

जलविद्युत् क्षेत्रका चुनौतीहरु

जलविद्युत् क्षेत्रमा दुई प्रकारका चुनौतीहरु हुन्छन्– एउटा, कुनै क्षेत्र बढ्दै जाँदा स्वाभाविक रुपमा आउने चुनौतीहरु; अर्को, अस्वाभाविक वा लक्षित चुनौतीहरु, जसमा भूराजनीतिक वा राजनीतिक स्तरका विभिन्न समस्याहरु समावेश हुन्छन् । जसरी बच्चा बढ्दै जाँदा स्वाभाविक चुनौतीहरु आउँछन्, त्यसरी नै कुनै क्षेत्रको विकासमा पनि यस्ता चुनौतीहरु देखा पर्छन् । तर, कतिपय चुनौतीहरु अस्वाभाविक हुन्छन्– लक्षित वा भूराजनीतिक वा राजनीतिक भिन्नताका कारण उत्पन्न हुने । समग्रमा हेर्दा, स्वाभाविक चुनौतीहरुबाहेक धेरै अस्वाभाविक चुनौतीहरु पनि देखिएका छन् ।

उदाहरणका लागि– अहिले सबैभन्दा ठूलो चुनौती वन नै हो । सर्वोच्च अदालतले प्रचण्ड सरकारको समयमा ल्याइएको एउटा विधेयकविरूद्ध फैसला गरेको छ, जसमा ऐनसम्मत नभएको भन्दै फैसला सुनाएको छ । त्यस फैसलाको पूर्णपाठ अझै आउन बाँकी छ । यस फैसलाका कारण २० हजार मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनाहरु विकासमा अवरूद्ध भएका छन् वा स्थिर अवस्थामा छन् । यसबाहेक अन्य धेरै चुनौतीहरु पनि छन् । जस्तै– सेबोनले झन्डै २०–२१ महिनादेखि आईपीओहरु मूलतः रोकिदिएको छ । केही अपवादबाहेक आईपीओहरु लगभग रोकिएकै अवस्थामा छन् । नयाँ–नयाँ समस्याहरु आइरहेका छन्, जसमा डबल आइजिनको मुद्दा आएको छ, जसले समग्र दोस्रो बजारलाई प्रभावित गरेको छ ।

अर्को समस्या भनेको समय–समयमा हुने विस्फोटक पदार्थहरुको समस्या हो, जसमा भूराजनीतिक मुद्दाहरु पनि मिसिएका हुन्छन् । भारतबाट ल्याउँदा समय–समयमा आपूर्तिमा धेरै समस्याहरु देखिएका छन् । यी देखिएका समस्याहरु हुन् तर आयोजना विकास गर्दै जाँदा अझ धेरै प्रकारका चुनौतीहरु थपिन सक्छन् ।

सम्भावनाको क्षेत्र

नेपालमा सम्भावनायुक्त तीनवटा सेक्टरहरु छन्– जलविद्युत्, पर्यटन र कृषि । आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि अत्यावश्यक छ र नेपालको भौगोलिक विविधताले विभिन्न प्रकारका अर्गानिक खाद्यान्न उत्पादनका लागि उपयुक्त वातावरण प्रदान गर्छ । पर्यटनका लागि नेपालको प्राकृतिक, सांस्कृतिक र जातीय विविधता अनुपम छ, जसले विश्वभरका पर्यटकलाई आकर्षित गर्छ । जलविद्युत्को कुरा गर्दा नेपाल विश्वकै दोस्रो जलस्रोत सम्पन्न मुलुक मानिन्छ । यहाँको भूगोल र नदी–नालाहरुले ठूलो सम्भावना बोकेका छन् । पहिले ८० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना मानिएकोमा नयाँ प्रविधिका कारण हाल एक लाखदेखि सवा लाख मेगावाटसम्म उत्पादन सम्भव छ । यो ऊर्जा नेपालमै खपत गर्न र औद्योगिक विकासमा उपयोग गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैङ्कले बैङ्कहरुलाई जलविद्युत् क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिएको छ । राष्ट्र बैङ्कले नियमन गरी जलविद्युत् क्षेत्रमा निश्चित समयसीमाभित्र लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । यसको मतलब केन्द्रीय बैङ्कसमेत यो क्षेत्रको विकासमा सकारात्मक छ भन्ने बुझिन्छ ।

यदि हामीले छोटो अवधि जस्तै– एक, डेढ वा दुई वर्षको मात्र विश्लेषण गर्छौं भने यस्ता घटनाहरुलाई ठूलो समस्या वा असामान्य ठान्न सक्छौं । तर, लामो अवधिको विश्लेषण गर्दा यस्ता जोखिमहरु जलविद्युत् क्षेत्रका लागि स्वाभाविक चुनौती हुन् भन्ने देखिन्छ ।

जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि विभिन्न प्राकृतिक जोखिमहरु जस्तै– बाढी, पहिरो, पानीको मात्रा घटबढ हुनेजस्ता कुराहरु स्पष्टरुपमा देखिन्छन् । यदि हामीले १००, १५० वा ५०० वर्षको ऐतिहासिक तथ्याङ्क अवलोकन गर्ने हो भने बाढी आउनु, पानीको मात्रा घटबढ हुनु सामान्य प्राकृतिक प्रक्रिया भएको थाहा हुन्छ । ग्लोबल वार्मिङको प्रभावले पानीको मात्रा घट्ने मात्र नभई कतिपय अवस्थामा बढ्ने गरेको पनि देखिन्छ । यदि हामीले छोटो अवधि जस्तै– एक, डेढ वा दुई वर्षको मात्र विश्लेषण गर्छौं भने यस्ता घटनाहरुलाई ठूलो समस्या वा असामान्य ठान्न सक्छौं । तर, लामो अवधिको विश्लेषण गर्दा यस्ता जोखिमहरु जलविद्युत् क्षेत्रका लागि स्वाभाविक चुनौती हुन् भन्ने देखिन्छ । तसर्थ, यी प्राकृतिक परिवर्तनहरुलाई ठूलो चुनौतीको रुपमा लिनुभन्दा जलविद्युत् क्षेत्रको विशेषताका रुपमा बुझ्नुपर्छ । आयोजना डिजाइन गर्दा नै यी जोखिमलाई ध्यान दिएर न्यूनीकरण गर्न सकिन्छ । समयबोध म्यागेजिनको भदौ अंकबाट । (आचार्य भिजन इनर्जी एण्ड पावरका कार्यकारी अध्यक्ष तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालका कार्यसमिति सदस्य हुन् ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री