शुक्रबार, १४ वैशाख २०८१

हिमाली क्षेत्रमा बहुआयामिक सम्बन्ध विस्तार गर्नु दुई देशको साझा लक्ष्य : सभामुख

समयपोष्ट २०७५ भदौ २५ गते ११:२०

सभामुख कृष्णबहादुर महराले चीनले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) अभियान अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुङ्गा भएको बताउनुभएको छ ।

Advertisement

चीन तिब्बत पर्यटन र सांस्कृतिक एक्सपोअन्तर्गत आज ल्हासामा आयोजित ‘ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’लाई सम्बोधन गर्नुहुँदै सभामुख महराले ‘बिआरआइ’ले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौ अवसर सिर्जना गरेको बताउनुभएको हो ।

बिआरआईमार्फत् हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार गर्न नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य रहेको उहाँको भनाइ थियो ।

‘हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य हो । जसले दुबै देशमा व्यापार र व्यवसायका धेरै अवसर सिर्जना गर्नेछ’, उहाँले भन्नुभयो, “चीनको औद्योगिक विकास, प्रविधि विकास, व्यावसायिकता र विशाल आन्तरिक बजार तथा नेपालको प्रचुर प्राकृतिक स्रोत, भौगोलिक सामिप्यताको फाइदा आदिले मूल्य शृृङ्खला र आर्थिक वृद्धिबीच सामञ्जस्यता ल्याउनेछ ।”

बिआरआइले पूर्वाधार र संरचना विकासमा ध्यान केन्द्रित गरेको भन्दै सभामुख महराले सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने पक्ष नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको लागि ज्यादै महत्वपूर्ण भएको बताउनुभयो ।

नेपाल लामो समयको राजनीतिक सङ्घर्षपछि शान्ति तथा सामाजिक आर्थिक विकासको नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै सभामुख महराले आर्थिक विकास र जनताको समृद्धि नै नेपालको एक मात्र राष्ट्रिय कार्यसूचि भएकोले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

‘अहिले हाम्रो एकमात्र राष्ट्रिय कार्यसूचि भनेको देशको आर्थिक विकास र जनताको समृद्धि हो’, सभामुख महराले भन्नुभयो, “पूर्वाधार विकास, जलविद्युत, होटेल व्यवसाय, सूचना तथा सञ्चार र स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रमा लगानीको राम्रो सम्भावना छ र चिनियाँ लगानीकर्ताको लागि हाम्रा नीतिहरु लगानीमैत्री छन् । त्यसैले नेपालमा लगानी गर्न म चिनियाँ लगानीकर्तालाई विशेष आग्रह गर्दछु ।”

तिब्बतमा भएको अभूतपूर्व आर्थिक विकास तथा सामाजिक सांस्कृतिक विकासले नेपालमा पनि अवसरको ढोका खोल्ने भन्दै उहाँले चीनले दुई दशकमा सफलतापूर्वक सञ्चालन गरेको किङ्गहाइ–तिब्बत रेलवे परियोजनाले नेपाल र चीनलाई रेलले जोड्न सक्ने प्रविधिको विकास गरेकोमा आफू विश्वस्त भएको बताउनुभयो ।

नेपालका प्रधानमन्त्री चीन भ्रमणमा रहेको बेला भएको रेलमार्ग सम्बन्धी समझदारी कोशेढुङ्गाको रुपमा रहेको भन्दै सभामुख महराले रेलमार्ग, राजमार्ग, बन्दरगाह, प्रसारण लाइन र सञ्चार सम्पर्क आदिको अवधारणासहित ल्याइएको ‘ट्रान्स–हिमालयन मल्टिडाइमेन्सिएल कनेक्टिभिटी नेटवर्क’ले आर्थिक विकासका नयाँ पक्षलाई उकास्न सहयोग गर्ने उल्लेख गर्नुभयो । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरी प्रत्येक वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै सभामुख महराले नेपालको लक्ष्य पूरा गर्न चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन चीन सरकार, ट्राभल र टुर व्यवसायी बीच सहकार्य र साझेदारीको आवश्यकता भएको बताउनुभयो ।

अरनिको राजमार्ग नेपाल र चीन जोड्ने पहिलो ऐतिहासिक मार्ग भएको चर्चा गर्दै सभामुख महराले भौगोलिक विकटताको कारणले सीमा क्षेत्रमा राजमार्ग र रेलमार्ग निर्माणमा ठूलो लगानी र प्रयासको आवश्यकता पर्ने र त्यो दुई देशबीचको आपसी समझदारी र सहकार्यले सम्भव हुने बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री