शुक्रबार, १४ वैशाख २०८१

बैंक भनेको विश्वासको खेती हो : अनुपमा खुञ्जेली

समयपोष्ट २०७५ भदौ १८ गते १३:४०

टुरिजम डिभलप्मेन्ट बैंकलाई मेगा बैंकमा गाभेर कारोबार गर्नुभएको छ, अहिले बैंकको अवस्था कस्तो छ ?

Advertisement

हामीले यसअघि पश्चिमाञ्चल डेभलप्मेन्ट बैंक मर्ज गरिसकेका थियौँ । टुरिजमसँगको मर्जर हाम्रो लागि दोस्रो हो । अगाडि नै मर्जरको अनुभव भइसकेकाले टुरिजमसँग स्मुद मर्जर भयो । यद्यपि हामीले मर्जर सफल गराउन केही चुनौतिहरुको सामना गर्नुपर्यो। तर मर्जर पछि भने व्यवस्थापन तहबाट प्रशासनिक काम अगाडि बढाउन खासै गाह्रो परेको छैन । किनभने हामीले एक वर्ष त ट्रेनिङ पिरियड नै पाएका थियौँ । यसो भनी रहँदा आगामी एक वर्ष हाम्रो लागि चुनौतिपूर्ण भने अवश्य नै छ । सिस्टम मर्जर हुनु र लगानीकर्ताहरुले निर्णय गर्नु एउटा पाटो हो भने ह्युमन मर्जर, कल्चरल मर्जर हुनु भनेको अर्को पाटो हो । हामी यो वर्ष कल्चरल मर्जर र ह्युमन क्यापिटलको मर्जर गर्न तिर लागेका छौँ । यसको निम्ति विकास बैंक र वाणिज्य बैंकको सिस्टम, पोलिसी, प्रोसिड्यर र काम गर्ने शैली नै फरक हुन्छ । त्यसकारण हामीले मेगा लर्निङ एन्ड डेभेलप्मेन्ट सेन्टर भनेर खोलेका छौँ जहाँ हामी बढीभन्दा बढी कर्मचारीहरुलाई तालिम दिएर सिस्टम, पोलिसी, प्रोसिड्यर र कल्चरमा भिजाउन खोजिरहेका छौँ । यो वर्ष हामी त्यसमा लागिपरेका छौँ ।

यहाँले यसो भनिरहँदा साधारण सभादेखि सञ्चालक विवाद देख्दा अलिकति तालमेल नमिलेको जस्तो देखियो नि ?

हामी अन्य बैंकहरु भन्दा पृथक छौँ । अहिले हाम्रा तीन हजारभन्दा बढी प्रमोटर र २ लाख १० हजारभन्दा माथि पब्लिक सेयरहोल्डरहरु छन् । जुन अन्य कुनै बैंकमा देख्न पाइँदैन । जहाँ धेरै मानिसहरु समावेश भएका हुन्छन्, जहाँ एउटा ओनर छैन, त्यहाँ सबैको मत लिएर अगाडि बढ्ने भन्ने शैली हुन्छ । त्यहाँ हामी एक किसिमको प्रजातान्त्रिक अभ्यासहरु चलाउँछौँ । अन्य बैंकहरु जस्तो ५० प्रतिशतभन्दा बढी सेयर होल्डिङ् भएर एउटा ग्रुपले निर्णय लिने भन्ने मेगा बैंकमा छैन । त्यस कारण त्यहाँ छलफल, वैचारिक मतभिन्नता हुने गर्छन् । तर अन्त्यमा संस्थाको हितको लागि सबै एउटै बिन्दुमा आउँछन् । मर्जरमा पनि त्यही भएको हो । त्यस कारण मेगामा समय अलि बढी लाग्ला, छलफल अलि बढी होलान् तर जब निर्णय गरिन्छ, त्यो फलदायी नै हुन्छ । हामीलाई गाइड गर्ने हाम्रा ओनर्सहरु मध्येका देशकै अर्थविद्हरु पनि हुनुहुन्छ । त्यस कारण सबैको राय–सल्लाह लिएर निर्णय गर्दा अलिकति लामो समय लिएको, बहस अलि बढी भएको जस्तो देखिन्छ तर अन्ततः नतिजा सही हुन्छ ।

मेगा बैंकको स्थापना हुने बेला हलोदेखि हाइड्रोसम्म भन्ने एउटा नारा थियो तर अहिलेसम्म आइपुग्दा हलो र हाइड्रोमा लगानी गर्न सुस्ताएको जस्तो देखिन्छ नि ?

हलोदेखि हाइड्रोसम्म भनेको हलो र हाइड्रो मात्र भनेको होइन । यो सम्पूर्ण नेपालीको बैंक हो । हामी बैंकिङ साक्षरता देशभर फैलाउन आएका हौँ । हलो भन्नाले विपन्न वर्गको आर्थिक उन्नतिमा लागेका व्यक्तिहरुदेखि लिएर हाइड्रो मतलब ठूला–ठूला प्रोजेक्टहरु हुन् । त्यस बीचमा भएको माइक्रो बैंकिङ, एसएमई बैंकिङ, रिटेल बैंकिङ, मिड करपोरेट बैंकिङ र करपोरेट बैंकिङ, यी सबै क्षेत्रहरुलाई हामी छुन चाहन्छौँ । हामी नेपालका सबै क्षेत्रसम्म पुगेर सेवा दिन चाहन्छौँ भन्ने हो । त्यस कारण यसलाई बुझ्न जरुरी छ ।

अहिले हाम्रो निक्षेप ६२ अर्ब पुगिसकेको छ र कर्जा प्रवाह ५९ अर्ब भन्दा बढी भइसकेको छ । बैंकका १०१ वटा शाखाहरु सञ्चालित छन् । साथसाथै ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २००० भन्दा बढी रेमिट्यान्स एजेन्टहरु, १४ वटा एक्सटेन्सन काउन्टरहरु पनि रहेका छन् । समग्रमा यी आँकडाहरुलाई हेर्दा जुन उद्देश्यका साथ बैंक स्थापना भएको थियो, ‘सबै नेपालीको बैंक बनेर सबै वर्ग, समुदायका मानिसलाई सेवा दिन्छौँ, देशभरी बैंकिङ साक्षरता फैलाउँछौँ’ त्यसलाई दुरुस्त उतार्न हामी सफल भएको जस्तो मलाई लाग्छ । आगामी दिनहरुमा पनि हामी यही सोचका साथ अगाडि बढ्छौँ । यससँगै ‘यहाँहरुको विश्वास जित्दै, मेगा बैंक अगाडि बढ्दै’ भन्ने नयाँ सोचलाई पनि अनुसरण गर्न प्रतिवद्ध भएका छौँ । बैंक भनेको विश्वासको खेती हो । हाम्रा ग्राहकहरु, प्रवद्र्धकहरु, सेयरधनीहरु लगायत अन्य रेगुलेटरहरुको विश्वास हामीले जित्नै पर्छ । अझ बैंकको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेकै कर्मचारीहरु हुन् । आज मेगा बैंक जे छ, त्यो उहाँहरुकै योगदानको कारणले हो । उहाँहरुको पनि विश्वास हामीले जित्नै पर्छ । तसर्थ समस्त सरोकारवालाहरुको विश्वास जित्दै अगाडि बढ्न चाहन्छौँ । भोलिका दिनमा जति धेरै ग्राहकहरुले हामीलाई विश्वास गर्नुहुन्छ, त्यति नै छिटो मेगाको प्रगति हुन्छ ।

बैंकहरु घर, गाडीको लगानी गर्न जति तत्परता देखाउँछन्, कृषि तथा विपन्न वर्गमा आलटाल गर्दछन् भन्ने कुरा उठ्ने गर्दछ, कृषिमा लगानी गर्न के समस्या छ ?

हामीले कृषि क्षेत्रमा लगानी गर्दा नेपाल राष्ट्र बैंकले तोकेको प्रतिशतलाई न्यूनतम आधार मानी अगाडि बढेका छौँ । साथै विपन्न वर्गमा न्यूनतम ५ प्रतिशत कर्जा प्रवाह गनुपर्ने नीतिगत व्यवस्था भएतापनि त्यसलाई आगामी पाँच वर्षमा १० प्रतिशत पुर्याउने लक्ष्य लिएकाछौं । त्यो भनेको मेगा बैंकले कृषि क्षेत्रमा लगानी वृद्धि गर्नै पर्छ । मेगा बैंकमा माइक्रो बैंकिङ भन्ने एक छुट्टै ईकाई छ जसले यस क्षेत्रमा लगानी एवं बैंकिङ सहभागिता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । ग्राहकहरुको अवस्था र आवश्यकतालाई ध्यानमा राखि बैंकले सरल कर्जा नामक योजना सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत कृषकले बाटो नभएको खेतीयोग्य जग्गालाई समेत धितोमा राखेर कर्जा प्राप्त गर्न सक्ने व्यवस्था कार्यान्वयन गर्ने प्रक्रिया अघि बढिसकेको छ । मेगा बैंकमा ७५ जना माइक्रो बैंकिङ ईकाईका रिलेसनशीप म्यानेजरहरु हुनुहुन्छ भने केन्द्रमा पाँच जना कर्मचारीहरु कार्यरत हुनुहुन्छ । यो जनशक्तिका कारण एउटा फोकस्ड युनिटसहित फोकस्ड रुपमा बैंक अगाडि बढेको छ । हाम्रा शाखाहरु सातै प्रदेशमा छन् र थप शाखा विस्तार गर्दा सातै प्रदेशको बजेटलाई समेत हेरेर अगाडि बढ्ने नीति लिएकाछौँ ।

अहिले बैंकहरुमा निक्षेप बढ्न थालेको छ । बैंकहरुले बीचमा रोकिएको लोन दिन सुरु गरेका छन् । अब बढेको ब्याजदर कहिले घट्ला ?

ब्याज घट्ने प्रक्रिया शुरु भइसकेको छ । राष्ट्र बैंकको नियम अनुसार त्रैमासिक रुपमा बेस रेटको आधारमा बैंकहरुले ब्याजमा परिवर्तन गर्छन् । पहिलेको जस्तो पन्ध्र दिन वा हप्ता दिनमा ब्याजदर परिवर्तन गर्ने सिस्टम अहिले छैन । राष्ट्र बैंकले पनि स्प्रेडदरलाई ४.५ प्रतिशत भित्र ल्याउन नीतिगत व्यवस्था गरिसकेको छ । यसले पनि ब्याज घटाउँछ भन्ने कुरालाई उदृत गर्दछ । यो वर्षको हाम्रो अपेक्षा भनेको कर्जाको ब्याजदर घट्नुपर्छ भन्ने नै छ । निक्षेपको अधिकतम ब्याजदर साढे दश प्रतिशतमा गएर बसेको छ । बचत खाताको ब्याजदरमा समेत बैंकहरुले हेरफेर गरेका छन । यसको असर त्रैयमासको अन्तसम्ममा देखिनेछ । अहिलेको अवस्था भनेको नेपाल सरकारको खर्च असारको दोस्रो हप्ताबाट शुरु भएर बजार फ्लस भएको हो । यद्यपि फेरी पनि सरकारको खर्च कम हुन थाल्ने हो भने ब्याजदर घट्ने अहिलेको जुन क्रम छ, त्यो नहुन सक्छ । समग्र रुपमा भन्नुपर्दा ब्याजदर नघट्ने भन्ने होइन । राष्ट्र बैंकले यस वर्षको लागि जारी गरेको मौद्रिक नीतिले नै यसलाई गाइड गरिदिसकेको छ । स्प्रेड दर ५ प्रतिशतबाट ४.५ प्रतिशत कायम गर्नु भनेकै बैंकहरुले आफ्नो स्प्रेड घटाउन कर्जा या निक्षेपको ब्याजलाई व्यालेन्स/समायोजन गरेर लैजानु भनेको हो । तर ब्याजदर जुन तिव्रताका साथ बढेको थियो त्यही रफ्तारमा घट्ने स्थिति भने छैन । तैपनि हामी त्रैमासिक रुपमा यसको एडजस्टमेन्ट ग्राहकहरुलाई पास गरिदिने छौँ ।

बैंकहरुमा ब्याज बढ्दा बढाउने र घट्दा घटाउने प्र्रतिस्पर्धा हुने गर्छ, अस्वस्थ प्रतिस्पर्धाका कारण बैंकर्स संघले सीमा तोक्नुपर्ने अवस्था आउँछ, यस्तो किन हुन्छ ?

हाम्रो बजार सानो छ । अहिलेसम्म वेल डेभलप्ड् सेकेन्डरी मार्केट छैन । कुनै बैंकले फरक रणनीति अपनाएर जानेबित्तिकै भल्युम ठूलो नभएको हुनाले हामीलाई अलिकति डिस्व्यालेन्स भए जस्तो लागिहाल्छ । गत वर्ष माग बमोजिम लगानीयोग्य रकमको अभाव भएकै कारण बैंकहरुले १३ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गर्नु पर्ने अवस्था आएको थियो । त्यस कारण मार्केटको डेफ्थ नभएको हुँदा हामीले त्यो उतार–चढावलाई भोलाटाइल देख्छौं र पूर्वानुमान गर्न पनि हामीहरुलाई गाह्रो छ । लङ्टर्म डिपोजिटको रेट बजारमा भेटिँदैन । एभ्री लोन इज रिप्राइसएबल एनिटाइम भन्छौँ हामी । यी यावत् कुराहरुले गर्दा हाम्रो बजार परिपक्व होइन । त्यसले गर्दा अस्थिरता बढी देखिन्छ ।

अहिले शैक्षिक प्रमाणपत्र राखेर लोन दिने विषय निकै चर्चामा छ । यो विषय बजेट, मौद्रिक नीतिमा पनि आयो । यो कार्यान्वयनमा के चुनौती छ ?

पहिलो कुरा योग्यता हुने बित्तिकै कसैले व्यवसाय गर्न सक्छ भन्ने छैन । उहाँहरुले आफ्नो योग्यताअनुसारको कुनै व्यवसाय सञ्चालन गरेर आर्जन गर्ने बाटो देखाउन सक्नुपर्छ । त्यसमा आर्जन गर्ने बाटोको स्पष्टता हुन जरुरी छ । बैंकलाई ब्याज तिर्नका लागि क्यास फ्लो त हुनुप¥यो र त्यो देखिनु पनि पर्यो। एउटा भिजन राखेर म यो गर्छु भन्ने व्यक्ति र एउटा प्रोजेक्ट लिएर यो चलाउन सक्छु भन्नेलाई यो समस्या छैन । तर जहाँ ऋणीसँग प्रपर इन्भेस्टेबल प्रोजेक्ट छैन, त्यहाँ समस्या हुन्छ । शैक्षिक योग्यताले मात्र पैसा पाउने भए त कुरै बेग्लै भइहाल्यो ।

देश सङ्घीयतामा गइसक्यो । बैंकहरुले गाउँ–गाउँमा शाखा खोलिसकेका छन् । यो कत्तिको दिगो होला ?

अब हाम्रो देशमा डिसेन्ट्रलाइजेसन अफ पावर र मनी हुन्छ । यसलाई अगाडि बढाउन स्रोत–साधनहरुलाई उपयोग गरी अनुत्पादनशील क्षेत्रमा खर्च नगर्ने, गम्भीरतापूर्वक प्रदेशलाई आर्थिक उन्नतिको बाटोमा लिएर जान सकियो भने यो बेस्ट हुन्छ । नेपाल सरकारको नीति बमोजिम वाणिज्य बैंकहरु गाउँ–गाउँमा पुगिसकेका छन् भने जाने क्रम अझै जारी छ । स्रोत–साधनहरु गाउँ–गाउँमा पुग्ने र त्यही स्रोत–साधनहरु प्रदेशको उन्नति र प्रगतिको लागि खर्च हुन थाल्यो भने बैंकहरु पनि त्यहीसँगसँगै लाग्छन् । हाम्रो देश सानो छ, जनसङ्ख्या पनि कम छ र हाम्रो उन्नति गर्न सक्ने क्षमता पनि छ । स्रोत–साधनहरु कम भएता पनि त्यसलाई सही ढंगबाट उपयोग गरेर अगाडि बढ्ने हो भने त्यो नै उत्तम हुन्छ । तर प्रदेशको आर्थिक उन्नतिभन्दा बाहेकका कुरामा केन्द्रित भईयो भने समस्या उत्पन्न हुन सक्छ जस्तो लाग्छ ।

नेपालको बैंकिङ इतिहासमा पहिलो महिला सीईओ हुनुभएको छ, मेगा बैंकलाई कसरी भिन्न तरिकाले लैजाँदै हुनुहुन्छ ?

मेरो प्रतिस्पर्धी भनेका अन्य बैंकका सीईओहरु हुन् । सबै सीईओहरुले आफ्नो बैंकको उन्नति–प्रगतिको खाका कोरेका हुन्छन् । म प्रि–इन्सेप्सनदेखि नै मेगा बैंकमा काम गरिरहेको छु । आठ वर्ष भइसक्यो । लिडरशीपको प्रमोसनले गर्दा पाँच वर्षको स्ट्राटिजिक प्लान हामीले बनाइसकेका छौँ । यो प्लान बनाउँदा अहिलेको जुन नम्बरमा हामी छौँ भन्छौँ, अहिले हामी २४औँ पोजिसनमा छौँ होला । त्यो पोजिसनबाट यो बैंकलाई कुन पोजिसनमा लैजान सक्छु भन्ने एउटा आँकडा राखेको छु । त्यही अनुसार म अगाडि बढ्छु । मेगा बैंकले शुरुवातदेखि नै सबै नेपाली माझ बैंकिङ साक्षरता फैलाउने भिजन लिएर आएको छ । यसलाई आत्मसात् गरेर निरन्तरता दिएरै अगाडि बढ्ने छु ।

कम्तीमा दश–दश लाख राखेर मध्यमवर्गीय नेपालीले खोलेको बैंक हो यो । त्यस कारण यहाँ जति पनि आर्जन हुन्छ, त्यो हाम्रा दाजुभाइ, दिदीबहिनीमै रिटर्न जान्छ । त्यसले फेरी पनि आर्थिक क्रियाकलापहरुलाई बढाउँछ । हामी ६३ जिल्लामा प्रमोटरको रुपमा यसअघि नै फैलिइसकेका थियौँ । हाम्रा आउटरिचहरु सबै जिल्लामा छ । त्यसले गर्दा जति पनि मेगा बैंकले आर्जेको धन छ, त्यो नेपालभित्रै रहन्छ । रोजगारीकै कुरा गर्दा एक हजार पाँच सय भन्दा बढीको संख्यालाई प्रत्यक्ष रोजगारी दिने संस्था मेगा बैंक भईसकेको छ । त्यस कारण रोजगारी बढाउने, देशको आर्थिक क्रियाकलापहरुमा सघाउने जस्ता कुराहरुमा अबका दिनहरुमा मेगा बैंक अगाडि बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री