शनिबार, ८ वैशाख २०८१

गोदावरीमा व्यापारिक केन्द्रसहितको भ्यु टावर निर्माण शुरु

समयपोष्ट २०७५ भदौ १८ गते ५:१५

पर्यटक भित्र्याउने उद्देश्यले ललितपुर स्थित गोदावरी नगरपालिका–७ देवीचौरमा ‘भ्यू टावर’ निर्माण शुरु भएको छ । भ्यू टावरको निर्माणले आन्तरिक र बाह्य दुवै खालका पर्यटक आकर्षित हुने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । अघिल्लो वर्षबाट भ्यू टावरको निर्माण शुरु भएको हो ।

Advertisement

अघिल्लो वर्ष रु एक करोड छुट्याइएकामा नगरपालिकाले यो आर्थिक वर्षमा पनि रु एक करोड छुट्याएको छ । अघिल्लो वर्ष जग राख्ने काम सकिएको थियो । उहाँ भन्नुहुन्छ, “यस वर्ष बाँकी रहेको काम अघि बढेको छ ।” आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।

भ्यू टावर तीन तलाको हुने नगरपालिकाले जनाएको छ । तल्लो तलामा होटल, रेस्टुराँलगायत व्यापारिक केन्द्र सञ्चालन हुने प्रमुख महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा माथिल्लो तलाबाट नै आगन्तुकले सिङ्गो काठमाडौँको मनोरम दृष्य हेर्न पाउने छन् ।”

गोदावरी नगरपालिकाभित्र रहेका पर्यटनका हिसाबले सम्भावित ठाउँका बारेमा नगरपालिकाले अध्ययन गरिरहेको छ । पर्यटकीय क्षेत्रलाई विकास गर्न निजी क्षेत्रसँगको सहकार्यमा समेत जोड दिइएको प्रमुख महर्जनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री