बिहीबार, ३० असोज २०८२

मन्त्री घिसिङ भन्छन्- चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ

समयपोष्ट २०८२ असोज १२ गते १३:२५


ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवाहरूका लागि रोजगारी सिर्जना गर्न सकिने बताएका छन्। आइतबार चेन्ज डिजिटलले काठमाडौंको सामाखुसीलगायत देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री घिसिङले यस्तो धारणा व्यक्त गरेका हुन्।

Advertisement

मन्त्री घिसिङले विद्युतीय सवारी साधन चार्ज गर्न समय लाग्ने भएकाले चार्जिङ स्टेसन वरपर होटल, रेष्टुरेन्ट, र कफीसपजस्ता व्यवसाय सञ्चालन गर्न सकिने र यसबाट रोजगारीका अवसर सिर्जना हुने बताए। उनले भने, “चार्जिङ स्टेसनमा गाडी चार्ज गर्न केही समय लाग्छ, त्यसैले यात्रुहरूलाई लक्षित गरी यस्ता व्यवसाय सञ्चालन गर्न सकिन्छ, जसले रोजगारी सिर्जना गर्नेछ।”

उनले प्रदूषण नियन्त्रण गर्न र नेपाललाई हरित अर्थतन्त्रतर्फ अघि बढाउन इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। “चार्जिङ स्टेसन व्यवसायका लागि लगानीको राम्रो क्षेत्र हो। यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ,” उनले भने। नेपालमा उत्पादित जलविद्युतको खपत बढाउन घरायसी, उद्योग, र कलकारखानालगायत सबै क्षेत्रमा विद्युतको उपयोग बढाएर पेट्रोलियम पदार्थको आयात घटाउन सकिने उनको भनाइ छ। यसबाट विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्ने र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनले थपे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री