पुनर्बिमाको भुक्तानी गर्दा मुद्रा सटहीलाई व्यवस्थित गर्न प्राधिकरणद्धारा नयाँ निर्देशन जारी
नेपाल बिमा प्राधिकरणले बिमकहरूले पुनर्बिमा, रेट्रोशेसन, विदेशी लगानीकर्ता, र विदेशी सेवाप्रदायक संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटहीलाई पारदर्शी र व्यवस्थित बनाउन ‘बिमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ।
बुधबार जारी भएको यो निर्देशनले बिमकहरूले विदेशी बिमक, पुनर्बिमक, विदेशी लगानीकर्ता, वा विदेशी सेवाप्रदायक संस्थालाई पुनर्बिमा शुल्क, बिमा दाबी रकम, लाभांश फिर्ता, र परामर्श सेवा शुल्क भुक्तानी गर्न प्राधिकरणको सिफारिस अनिवार्य गरेको छ। यो प्रक्रिया बिमा दलालको संलग्नतामा वा सिधै गर्न सकिनेछ।
निर्देशनमा भनिएको छ, “बिमकहरूले विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानून र नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमय व्यवस्थापनसम्बन्धी निर्देशनहरूको पूर्ण पालना गर्नुपर्नेछ।” पुनर्बिमा शुल्कको सटही सिफारिस माग्दा ट्रिटी पुनर्बिमा, रेट्रोशेसन, ऐच्छिक (फ्याकल्टेटिभ) पुनर्बिमा, वा ऐच्छिक रेट्रोशेसनका लागि तोकिएका कागजातहरू प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ।
विदेशी बिमक वा ब्रोकरलाई बिमा दाबीको भुक्तानी गर्दा ट्रिटी वा ऐच्छिक हिसाब-किताव मिलान गरी तोकिएका कागजातहरू संलग्न गर्नुपर्नेछ। साथै, बिमाङ्कीको पारिश्रमिक, विशेषज्ञ सेवा, क्रेडिट रेटिङ सेवा, परामर्श सेवा, विदेशी सर्भेयरको पारिश्रमिक, सफ्टवेयर सम्बन्धी भुक्तानी, र तेस्रो पक्ष सहजकर्ताका लागि पनि तोकिएका कागजातहरू पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशनले प्राधिकरणको ‘बिमकको पुनर्बिमा निर्देशिका’ बमोजिम सूचीकृत र तोकिएको रेटिङ प्राप्त विदेशी पुनर्बिमक तथा पुनर्बिमा दलालका लागि मात्र विदेशी मुद्रा सटही सिफारिस गरिने उल्लेख गरेको छ।
बिमकहरूले विदेशी मुद्रा सटही सिफारिसका लागि पेश गरेका कागजात र स्वीकृतिपत्र कार्य सम्पन्न भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ। साथै, भुक्तानी गरिएको विदेशी मुद्राको विवरण प्रत्येक चौमासिक अवधि समाप्त भएको १५ दिनभित्र प्राधिकरणमा तोकिएको ढाँचामा पेश गर्नुपर्ने व्यवस्था छ।
प्रतिक्रिया