सागर डिष्टिलरीको आईपीओ भदौ २५ देखि सर्वसाधारणका लागि खुला
सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको कुल जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको थियो। यसमा १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकिएको छ। त्यस्तै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।
बाँकी रहेको ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर अब सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन हुनेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उपलब्ध हुने यो आईपीओका लागि लगानीकर्ताहरूले भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन्। पर्याप्त आवेदन प्राप्त नभएमा निष्काशन अवधि असोज ८ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको वित्तीय अवस्थालाई मूल्यांकन गर्दै इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले सागर डिष्टिलरीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया