शुक्रबार, २१ वैशाख २०८१

हामीलाई क्रमिक विकास होइन रुपान्तरण चाहिएको छ

समयपोष्ट २०८० भदौ २२ गते १०:३१

Advertisement

मैले ३१ वर्षजति वित्तीय संस्थामा रहेर काम गरें । पहिले नेपाल ग्रिनलेज बैङ्कमा सहायक तहबाट सुरुवात गरें । यस क्षेत्रमा मेरो अनुभव अलि फरक छ । टेलरबाट सुरु गर्दै सीईओ भएँ । ३१ वर्षको अवधिमा अन्य धेरै सीईओ भए तर म ३१ वर्षमा सत्र वर्ष सीईओ नै भएँ । यो कुरा गर्दा सत्यन्द्र प्यारा श्रेष्ठ र विनोद चौधरीलाई सधैं म धन्यवाद भन्छुु र कदर गर्छु । म मात्र ३८ वर्षको हुँदा नबिल बैङ्कजस्तो जोइण्ट भेञ्चर बैङ्कको उहाँहरुले मलाई सीईओ बनाइदिनुभयो, मौका दिनुभयो । गएको पन्ध्र वर्षमा जुुन परिवर्तन भएको छ, त्यो परिवर्तन ग्रिनलेज बैङ्कमा बैङ्किङ करिअर सुरु गर्दा सोचेको पनि थिइनँ । पहिलो साइजमा परिवर्तन भयो । नेपाल ग्रिनलेज बैङ्कमा काम गर्दा त्योे बैङ्क एकदम ठूलो जस्तो लाग्थ्यो । नबिल बैङ्कमा मेरो दोस्रो कार्यकाल सकिँदा मध्यम स्तरको ब्राञ्चको व्यालेन्ससिट नेपाल ग्रिनलेज बैङ्कको भन्दा ठूलो थियो । भनेपछि नम्बरभन्दा पनि हरेक संस्थाको साइजको हिसाबले वित्तीय संस्थाहरु कति ठूला भए । हामी कहाँ थियौं र कहाँ आयौं ? वित्तीय क्षेत्रमा हामी जति ठूला भयौं, त्यति हामी झड्काहरु थेग्न सक्छौं । सानो भयौं भने अलिकति कम्पनले पनि डगमगाउन सक्छौं ।

टेक्नोलोजी

नेपाल अरब बैङ्क पहिलो कम्प्युटराइज्ड बैङ्क भनेर आउँदा सानो पिसी जस्तो कम्प्युटरमा बैङ्क चल्थ्यो । त्यो मेमोरी पावर, स्पिड सबैमा एकदम पावरफुल छ । व्युरोक्र्याट, मन्त्रीहरु कम्प्युटराइज्ड बैङ्क भनेको कस्तो रहेछ भनेर हेर्न आउँथे । त्यहाँबाट यहाँसम्म आउँदा अहिले सबै बैङ्कका एप छन् । तिनमा बूढाबूढी, युवायुवती, गाउँ, सहर सबैको पहुँच छ । सबैले चलाइरहेका छन् ।

विदेशिएका युवायुवतीको परिवारले बैङ्किङ गर्छु भनेर फोन लिएनन्, परिवार–आफन्तसँग कुरा गर्न लिए । तर, उहाँहरुले लिएको मोबाइल फोनमा बैङ्किङ एप, सामाजिक सञ्जाल चलाउने सुविधा थियो । सामाजिक सञ्जालपछि बैङ्किङ एप पनि चलाऊँ न भन्ने उहाँहरुलाई भयो । त्यसकारण नेपालमा प्रविधिको क्षेत्रमा यति ठूलो क्रान्ति भएको छ कि त्यो अन्य क्षेत्रमा भएको छैन । बैङ्क अहिले ब्राञ्चमा होइन, हरेक मानिसहरुको खल्तीमा छ ।

Advertisement

बैङ्कले हाम्रोलाई होइन, राम्रोलाई च्याप्यो भने के हुन्छ भन्ने सिकायो । बैङ्कमा कसैको छोरा, नाति, भतिजा, भतिजी छैनन् । कोही–कोही छिरेका हुन सक्छन् तर माथिल्लो तहमा कोही पनि पुगेका छैनन् । बैङ्क–वित्तीय संस्थाले सधैं राम्रोलाई प्रोत्साहन गरे । त्यसले गर्दा आज हाम्रो बैङ्क–वित्तीय संस्थाहरु यो स्तरमा आइपुगेका हुन् ।

जनशक्ति

बैङ्किङ क्षेत्रमा भएको तेस्रो सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेको जनशक्ति हो । नेपालमा नेपाल बैङ्क, कृषि विकास र वाणिज्य बैङ्कपछि विदेशी बैङ्क आउन थाले । त्यसमा सबैभन्दा पहिले नेपाल ग्रिनलेज बैङ्क, इण्डोस्विस बैङ्क, नेपाल अरब बैङ्क आए । यी सबै दुबईबाट आए, जहाँ वित्तीय क्षेत्रको व्यावसायिक नियमन पारदर्शिता माथिल्लो तहमा थियो । ती बैङ्कहरु यहाँ आएर व्यवसाय सुरु गरेपछि मजस्ता मानिसहरुलाई लिए । अनि त्यो बेञ्चमार्फत प्रशिक्षित गरे । कदाचित त्यस्तो देशबाट नभई कुनै भ्रष्ट देशबाट बैङ्कहरु आएको भए आज हाम्रो वित्तीय क्षेत्र पुरै भ्रष्ट हुन्थ्यो । उनीहरुले बैङ्किङमा यसरी पैसा बनाउने भनेर सिकाउँथे, जुन जग यी बैङ्कले बनाए, जुन बैङ्कर बनाए । त्यसपछि हिमालयन बैङ्क आयो । मानिसहरुले भन्थे– नेपालमा बैङ्क खोल्न दुईवटा चिज चाहिन्छ । नेपाल बैङ्कको लाइसेन्स, नबिल बैङ्कको स्टाफ । नबिल, ग्रिनलेज, इन्डोसेज, हिमालयन बैङ्कको स्टाफमा आएको गर्भनेन्स, व्यावसायिकता र पारदर्शिताले गर्दा वित्तीय क्षेत्रमा भएकै दशौं हजार जनशक्ति त्यही जनशक्तिको जगले गर्दा भएको छ । बीबीए, एमबीए गरेर अनिल शाह बैङ्कमा जागिर खान खोज्यो भने मैले जागिर पाउँदिनँ । मभन्दा राम्रो गुणस्तरका मानिसहरु अहिले बैङ्कमा जागिर खान प्रतिस्पर्धा गरिरहेका छन् । बैङ्कले हाम्रोलाई होइन, राम्रोलाई च्याप्यो भने के हुन्छ भन्ने सिकायो । बैङ्कमा कसैको छोरा, नाति, भतिजा, भतिजी छैनन् । कोही–कोही छिरेका हुन सक्छन् तर माथिल्लो तहमा कोही पनि पुगेका छैनन् । बैङ्क–वित्तीय संस्थाले सधैं राम्रोलाई प्रोत्साहन गरे । त्यसले गर्दा आज हाम्रो बैङ्क–वित्तीय संस्थाहरु यो स्तरमा आइपुगेका हुन् ।

मान्छे र संस्था भनेको त्यही भएर नङ र मासु हो । यतातिर संस्थाको उत्पादकत्व वृद्धि गर्नुपर्छ भने उतातिर काम गर्नेलाई सेवा–सुविधा पनि त्यहीअनुसार दिनुपर्छ ।

नेपालजस्तो मुलुकमा नाफा कमाउनु र सक्षम हुन जनशक्तिको शोषण गर्नुपर्दैन भन्ने कुरा वित्तीय संस्थाले देखाए । आज पनि मानिसहरुले ‘बैङ्करहरुको तलब धेरै छ, धेरै बोनस खान्छन्’ भन्छन् । बैङ्कमा जागिर खाने सबै सम्पन्न परिवारका, राम्रो विद्यालयमा पढेर आएका हुँदैनन् । मेरै सीईओ साथीहरु गाउँबाट आएर, एउटा कोठामा तीन– चार जना बसेर, स्टोभमा खाना पकाएर खाएर, मीनभवन, शङ्करदेव क्याम्पसमा बीबीएस, एमबीए, एमबीएस गरेर जागिर खानुभयो । ल मानौं, त्यो एउटा कोठामा चार जना रुममेट थिए । बैङ्कमा जागिर खाने मानिसले लोनमा भए पनि एउटा सानो घर बनाएको छ । बुवा–आमालाई आफ्नै घरमा राखेको छ । छोरा–छोरी राम्रो स्कुलमा पढिरहेका छन् । लोनमै भए पनि उसको सवारीसाधन छ । वर्षमा एकपटक देश–विदेशमा परिवारका साथ छुट्टी मनाउन जान सक्ने क्षमता छ ।

दोस्रो, उसको रुममेट कुनै एउटा कम्पनीमा काम गर्न गयो । ऊ भ्रष्ट छैन भने ऊ जहाँ थियो त्यहीँ छ । अलिकति तलब बढ्यो होला तर उसले न घर बनाउन सक्यो, मोटर किन्ने त उसको सपना नै छैन । उसको स्तर जहाँको तहीँ छ । तेस्रोले व्यवसाय ग¥यो । व्यवसाय राम्रो गरेको छ भने बैङ्करभन्दा पनि ऊ राम्रो छ । राम्रो गरेको छैन भने ऊ पनि यता र उता भौतारिरहेको छ ।

चौंथो, साथीले परिवारसँग बसेर कृषि गर्छु भन्यो । राम्रो नभएर विदेशमा गएर काम गरिरहेको छ । यी चार जनाको उदाहरण हेर्दा पनि वित्तीय संस्थाजस्तो अन्य क्षेत्र पनि भएको भए सबै नेपालमै बस्थे । सबैको आफ्नो घर बनाउने, सवारीसाधन किन्ने क्षमता हुन्थ्यो । परिवार राम्रोसँग पाल्न सक्थे, विदेश जानै पर्दैनथ्यो । त्यस कारण वित्तीय क्षेत्रलाई अन्य क्षेत्रजस्तो नबनाऔँ । अन्य क्षेत्रलाई वित्तीय क्षेत्रजस्तो बनाऔँ । अन्य क्षेत्रमा पनि मान्छेले राम्रो गरेका छन् । धेरै लखपति करोडपति, करोडपति अर्बपति पनि बनेका छन् । तर, त्यो क्षेत्रमा काम गर्ने कामदारको अवस्था त्यस्तै छ । वित्तीय क्षेत्रमा काम गर्ने कामदार साहुजीले डिभिडेण्ट कति बनायो ? बोनस शेयर कति खायो ? सरकारले ट्याक्स कति लियो ? त्यो आफ्नो ठाउँमा छँदैछ । अन्य कुनै क्षेत्रले प्रतिस्पर्धा गर्न सक्दैन । त्यो सँगसँगै नेपालीका छोराछोरीले पनि अलिकति आफूले पसिना बगाएको, बुद्धि चलाएको योगदानको फल उनीहरुले पनि पाए । त्यस्तै अन्य क्षेत्रमा पनि होस् न । प्रधानमन्त्रीले अस्तिमात्र चार–पाँच वर्षमा नेपालमा नर्स नै हुँदैनन् भन्दै हुनुहुन्थ्यो । नेपालमा बसेर पन्ध्र्र–बीस हजारको जागिर खाने कि अष्ट्रेलिया, यूके गएर आफ्नो जीवन बनाउने ? यहाँका नर्सहरु त्यहाँ गएर धेरै पैसा कमाए भनेर रिस किन गर्ने ? नेपालमा नै नर्सहरुका लागि विदेशको जस्तै सेवा–सुविधा, त्यस्तै वातावरण सिर्जना गरौं न । हामी पनि विदेशको बैङ्कमा गएर काम गरेको भए योभन्दा बढी डलर कमाउँथ्यौं होला । तर, जीवन बनाउन सक्छौं भनेर यहाँ बस्यौं ।

बैङ्करहरुले सबैभन्दा बढी पैसा कमाएका छन् । बैङ्कले सबैभन्दा बढी नाफा आर्जन गरेको छ । कसरी भयो होला त ? एप्पल, क्यानन, सामसुङ कम्पनीले सबैभन्दा प्रडक्टिभ मान्छेलाई राखेको छ । मान्छे र संस्था भनेको त्यही भएर नङ र मासु हो । यतातिर संस्थाको उत्पादकत्व वृद्धि गर्नुपर्छ भने उतातिर काम गर्नेलाई सेवा–सुविधा पनि त्यहीअनुसार दिनुपर्छ ।

ग्राहक

मैले पन्ध्र वर्षमा देखेको अर्को परिवर्तन भनेको ग्राहक हो । नेपाल ग्रिनलेज बैङ्कमा काम गर्दा हामी खुवामात्र खान्थ्यौं । त्यतिले जति पनि पुगेको थियो । भनेको सहरमा सबैभन्दा धनी मान्छे । म ग्रिनलेज बैङ्कमा काम गरेको चार–पाँच वर्ष भएको थियो होला । एउटा डाटा एनलाइसिस गरेर मैले न्यूनतम व्यालेन्स पचास हजार रुपैयाँ बनाउनुपर्छ भन्दा सबै जना हाँसे । मैले सबै डाटा देखाए । पचास हजारभन्दा कम डाटामा बस्ने मान्छे हाम्रो बैङ्कको खातामा ९७ प्रतिशतभन्दा कम थिए । त्यसपछि देख्यौं बैङ्क नै बन्द गर्ने भन्ने कुरा भयो । म दोस्रो स्लाइडमा गएँ । दोस्रो स्लाइडमा त्यो तीन प्रतिशत, जसको पचास हजारभन्दा बढी थियो । उनीहरुले हाम्रो बैङ्कलाई ८५ प्रतिशत डिपोजिट दिइरहेका थिए । अनि मैले भनें– ‘९७ प्रतिशत मानिसहरुले छोडे भने हाम्रो पन्ध्र प्रतिशत डिपोजिट पनि हुँदैन । तर, सेवा यति राम्रो हुन्छ कि अन्य धनी मानिसहरु हाम्रो बैङ्कमा आउँछन् ।’ गाउँको त कुरै छाडौं, सहरको पनि सबैलाई सेवा दिन पर्दैन भन्ने सोच थियो ।

आज हामी गाउँ–गाउँ, ठाउँ–ठाउँमा पुगेका छौं । शाखाहरु विस्तार गरेका छौं । मोबाइल बैङ्किङ गरेका छौं । पहिले–पहिले वित्तीय साक्षरता भनेर एफएममा खाता खोल्नुहोस् भनेर विज्ञापन गर्दथ्यौं। अब अहिले यो खाता खोल्न छाडिदिनुहोस्, अब डिजिटलतिर लाग्नुहोस्, कसरी डिजिटल सेफ हुने वित्तीय साक्षरताभन्दा ? अब त्यता जानुप¥यो भन्दा जुन किसिमको ग्राहकहरुको वृद्धि भएको छ, मलाई लाग्छ दक्षिण एसियामा हामी उत्कृष्ट छौं । त्यसमा नेपाल सरकार र राष्ट्र बैङ्कको पनि धेरै ठूलो योगदान छ । जस्तो क्यूआर आएको धेरै वर्ष भइसकेको थियो । जब गर्भनरले गरौं भन्नुभयो, त्यसपछि ठूला होटलदेखि साना किराना पसलसम्म क्यूआर छन् । त्यो भिसा मास्टर्सकार्डमा विदेशीलाई किन पैसा खुवाउने ? ई–सेवा, फोन–पेजस्ता कम्पनीहरुसमेत खडा भएर थप सहजीकरण गरिदिनुभएकोे छ ।

किन्ने भए क्यूआरबाट किन्नुहोस् भनेर कुनै दिन आफ्नै गाउँ भीरकोटमा जाँदा भैंसीको फिलामा पनि क्यूआर टाँस्ने बेला आइसक्यो । अनि बल्ल मलाई यस्तो लाग्नेछ कि जुन लक्ष्य लिएको थिएँ, त्यहाँ पुगियो । तरकारीहरुमा भइसक्यो । कुनै दिन त्यो पनि हुन्छ होला भन्ने मलाई लागेको छ । यी सबै सकारात्मक कुराहरु हुन् ।

मूल प्रश्नको उत्तर खोजौं

अहिले मैले वित्तीय क्षेत्र छाडेपछि पनि अनिल शाह भन्नेबित्तिक्कै बैङ्कर ठान्छन् । बैङ्किङलाई मानिसले नकारात्मक दृष्टिकोणले हेर्छन् भने बैङ्करलाई पनि हेर्ने भए । बैङ्क भन्ने वाह भन्ने थियो तर त्यसलाई हामीले गुमायौं । अब छोराछोरीलाई अभिभावकले बैङ्कमा नजा है, त्यहाँ हाम्रो परिवारकै नाम बद्नाम हुन्छ भन्ने स्थिति आउलाजस्तो भइसक्यो । सरकार, संसद, व्युरोक्रेसी, ग्राहकहरुको पनि नकारात्मक सोंच छ । यति भइसकेपछि हामीले पनि आत्मालोचना गरेर के भयो भनेर विचार गर्न जरुरी छ । हामीले कति पैसा बनायौं भनेर देखाउँछौ, पारदर्शी छौं । संस्था, सीईओ सबै जनाको देखिन्छ । अन्य क्षेत्रमा देखाउन पर्दैन । थाहा पनि हुँदैन । कसैलाई पनि वित्तीय क्षेत्रले के योगदान दियो भन्ने नै छैन ।

एउटा टास्कफोर्स बनाएर अर्थतन्त्रमा वित्तीय क्षेत्रकोे योगदान के हुनुपर्ने भन्ने मूल प्रश्नको उत्तर नआउँदासम्म वित्तीय क्षेत्रमा पिटापिट भइरहन्छ ।

मैले मेगा बैङ्कको अन्तिमतिर र नबिल बैङ्कमा पनि भनिराखेको कुरा के हो भने अब नेपाल सरकारले अर्थमन्त्री होस्, राष्ट्रिय योजना आयोग होस्, एउटा टास्कफोर्स बनाउनुपर्छ । त्यो टास्कफोर्सले नेपालको अर्थतन्त्रमा वित्तीय क्षेत्रको योगदान के हुनुपर्छ भन्ने मूलप्रश्नको उत्तर निकाल्नुपर्छ । त्यसको एउटा उत्तर हुन सक्छ– वित्तीय क्षेत्र भनेको नाफा कमाउने होइन, यी सबैलाई राष्ट्रियकरण गरिदिऔं । यिनीहरुको काम भनेको सहजीकरण गर्ने, सेवा दिनेमात्र हो । अर्को उत्तर– यो अन्य क्षेत्रजस्तै हो, के फरक छ र ? जति सक्दो नाफा बनाओस् । अर्को उत्तर– त्यसको बीचमा केही हुन सक्छ कि । तर, यो वित्तीय क्षेत्र एमबीएले गर्ने कुरा होइन है । एफएनसीसीआई, सीएनआईआई पनि बोलाउनुपर्छ । यो मूलप्रश्नको उत्तर नआउँदासम्म वित्तीय क्षेत्रमा पिटापिट भइरहन्छ । किनभने यो कसैलाई थाहै छैन ।

म सत्र वर्ष सीईओ भएँ, वर्कप्रेसर छ । वर्षैपिच्छे नाफा बनाउनु छ । मलाई जागिर दिएको बोर्डले हो । बाहिर गयो मान्छेहरु ‘कति नाफा बनाएको ? साहुजीलाई कति ?’ भन्छन् । यो दुविधामा बसिरहनुभन्दा मूलप्रश्नको उत्तर आटौँ न त– राष्ट्रियकरण गरिदिऔं । या, जति नाफा बनाउने हो तपाईंहरु बनाउनुहोस् । या, बीचमा केही आओस् ।

अरु क्षेत्रमा पनि स्प्रेड लागु गरौं

राष्ट्र बैङ्कले ल्याएको स्प्रेडले बैङ्किङ क्षेत्रमा धेरै राम्रो काम गरेको छ । पाँच प्रतिशत ल्याउँदा बैङ्क डुब्छ भनिन्थ्यो । तर, यो आर्थिक वर्षदेखि चार प्रतिशत भइसकेको छ । बैङ्कहरुले पनि राम्रै गरिरहेका छन् । म भन्छु यो स्प्रेड वित्तीय क्षेत्रमा मात्र सीमित नगरौं । अगाडि जाँदा हाम्रो अर्थतन्त्रलाई वित्तीय क्षेत्रले मात्र योगदान गरेर हुँदैन । यो चार प्रतिशत स्प्रेड जुन छ, त्यसले वित्तीय क्षेत्रमा राम्रै गरिरहेको छ । नेपालको अर्थतन्त्रलाई रुपान्तरण गर्ने हो भने धनी मान्छेलाई गरिब बनाएर हुँदैन । धनीलाई मात्र धनी बनाएर पनि देशको रुपान्तरण हुँदैन । गरिबलाई धनी बनाउनुपर्छ । गरिबलाई धनी बनाउने मूलमन्त्र बैंकिङ क्षेत्रमा कार्यान्वयन भएको स्प्रेड तीस–पैंतीसवटा अन्य क्षेत्रमा पनि लागु गर्नुपर्छ । जुन क्षेत्रले नेपालीको पेटमा असर गर्छ । जस्तो– खाद्यान्न, ऊर्जा, सवारीसाधन । चार प्रतिशत नभनौं पच्चीस–तीस प्रतिशत बनाऔं । कहीँबाट नेपालमा सवारीसाधन बनेर आउँछ कष्टम तिरेर । त्यसको दस लाख पर्छ भने कतिमा विक्री गर्ने त ? पन्ध्र खानुपर्छ भने पचास प्रतिशत स्प्रेड खानुहोस् । तर, कोहीले तोकिदिनुपर्‍यो । दाल, चामल, तेल विदेशबाट आउँछ । त्यसमा कर, यातायातको भाडा तिरेर यहाँसम्म ल्याउँदा मलाई प्रतिकिलो एक सय रुपैयाँ पर्‍यो। बेच्ने कतिमा त ? जसरी बैङ्कमा चार प्रतिशत भनिएको छ, त्यसमा कोही पनि चल्न सक्दैन । तर, कति त, एक सय, दुई सय प्रतिशत ? त्यो स्पष्ट हुनुपर्‍यो । यसमा स्पष्ट भएपछि एउटा सर्वसाधारण नेपालीको पेटमा परेको बोझ कम हुन्छ । अर्को, हुण्डीको बिजनेस बन्द हुन्छ ।

एउटा फोनको एक लाख रुपैयाँ पर्छ भने अहिले अण्डर इन्भ्वाइसिङ गरेर दस हजारमा आइरहेको छ । दस हजारको कष्टम तिरिरहेका छौं । अर्को, नब्बे हजार त दिनुपर्‍यो हङकङको सप्लायरलाई । त्यो हुण्डीबाट गइरहेको छ । तर, यो फोनमा स्प्रेड लगाइदिने हो भने पच्चीस प्रतिशत खान पाइन्छ । दस हजारमा ल्याएर पच्चीस प्रतिशत खान पाइन्छ भने बाह्र हजार पाँच सयमा बेच्नुपर्यो । फोनको एक लाख परेको छ, कहाँबाट बाह्र हजार पाँच सयमा बेच्ने ? त्यो अण्डर इन्भ्वाइसिङ चैट भयो । किनभने, अब एक लाख नै देखाउनुपर्यो । पच्चीस प्रतिशत नै खाने हो भने एक लाख पच्चीस हजारमा बेच्ने भएपछि हुण्डी किन चाहियो ?

बाँदरबाट मान्छे बन्न कति मिलियन वर्ष लाग्यो ? त्यो मिलियन इयर्स नेपालसँग छैन । हामीलाई चरण–चरणको विकास होइन, रुपान्तरण चाहिएको छ । रुपान्तरण भनेको जे थियो, त्यसलाई फालेर जे सबैभन्दा राम्रो हो, त्यो लिएर आउने हो । स्प्रेड भनेको रुपान्तरण हो ।

यो हुण्डी भएकै अण्डर इन्भ्वाइसिङको कारणले हो । एक लाखको सामानलाई दस हजार देखाएर यहाँ ल्याइन्छ भने नब्बे हजार कतैबाट तिर्नुपर्‍यो । खाडी मुलुकमा रहेका नेपालीको पैसा राख्ने अनि हुण्डीबाट कारोबार गर्ने त हो । स्प्रेड हालिदिने हो भने हुण्डी पनि खत्तम हुने भयो । यो आँट्ने सरकार हामीलाई चाहियो । मैले दुई किसिमको सरकार देखेको छु । एउटा– धनीलाई कसरी गरिब बनाउने भन्ने र अर्को, धनीलाई नै धनी बनाइराख्ने भन्ने । लुटेर काम गर्ने होइन, जुटेर काम गर्नुपर्छ । जुटेर काम गर्ने सरकार हो । गरिबलाई धनी बनाउने हो भने यही हिँडिरहेको बाटोमा हिँडेर केही हुँदैन । बाँदरबाट मान्छे बन्न कति मिलियन वर्ष लाग्यो ? त्यो मिलियन इयर्स नेपालसँग छैन । हामीलाई चरण–चरणको विकास होइन, रुपान्तरण चाहिएको छ । रुपान्तरण भनेको जे थियो, त्यसलाई फालेर जे सबैभन्दा राम्रो हो, त्यो लिएर आउने हो । स्प्रेड भनेको रुपान्तरण हो । मैले सबै क्षेत्रलाई चार प्रतिशत भनेको छैन । कुनैलाई एक सय प्रतिशत खानुपर्ला दिनुहोस् । कमसेकम कति खाइरहेको छ भन्ने थाहा त हुन्छ । बैङ्कले चार प्रतिशत खाइरहेको छ भन्दा कति स्प्रेड आइरहेको छ ? त्यो पनि हेर्नुपर्‍यो ।

अर्को, जुन किसिमको नियामक हाम्रो वित्तीय क्षेत्रमा छ, त्यही किसिमको नियामक अन्य क्षेत्रमा पनि चाहियो । बैङ्कहरुमा यति धेरै व्यावसायिकता किन छ भन्दा हाम्रो माष्टर राष्ट्र बैङ्क छ । जुन बाटो उहाँहरुले देखाइदिनुभएको छ, त्यो बाटोबाट यताउति लाग्यो भने छडी हान्नुहुन्छ । यतिसम्म कि उहाँहरुले सीईओको मासिक तलबसमेत तोकिदिनुभएको छ । अन्य क्षेत्रमा पनि त्यो गरिदिनुपर्‍यो । खाद्यान्नमा मिति गुज्रिसकेको बेच्यो भन्ने आउँछ । सामानको मूल्यमा एकरुपता हुनुपर्ने कुरा आउँछ । ती सबै कुरा राम्रोसँग नियमन गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।

क्रमिक विकास होइन रुपान्तरण

यो सबै कुरा भन्दै गर्दा ममा कुनै निराशापन छैन । नेपाल डुम्दैछ भनिन्छ तर नेपाल डुब्नेवाला छैन । हाम्रो प्रगतिको रफ्तारको कुरा मात्र हो । पृथ्वीनारायण शाहले बनाएर छोडेको देश डुबाउन कसैले सक्दैन । बनाउने क्षेमता छैन भने डुबाउने क्षमता कसैसँग छैन । म सानो छँदा तराईको बोर्डरबाट छिमेकी राष्ट्र गएर फर्कंदा आहा कस्तो राम्रो भन्ने हुन्थ्यो । आज यताबाट उता जानेबित्तिक्कै ६ लेनका चिल्ला हाईवे देखिन्छन् भने यता खाल्टाखुल्टी । त्यहाँका गाउँहरु हाम्रा सहरभन्दा ठूला भए । यो सबै रफ्तारको कुरा हो । हाम्रो पनि प्रगति नभएको होइन । पूर्वाधार, स्वास्थ्य, शिक्षा क्षेत्र सबै राम्रो भइरहेको छ तर सबै रफ्तारकै कुरा हुन् । त्यसकारण रफ्तार बढाउनुपर्छ ।

राष्ट्र बैङ्कले नियमन गरेको क, ख, ग वर्गका कुनै पनि बैङ्कमा राखेको पैसा डुबेकोे अहिलेसम्म कसैको छैन । मानिसहरुले एउटा कागज लिएर पैसा डिपोजिट गरेर ढुक्क भएर फर्किन्छन् । त्यही वातावरण हामीले अन्य क्षेत्रमा पनि विकास गर्नुपर्छ । त्यसकारण रुपान्तरण चाहिन्छ, क्रमिक विकास होइन । बाँदरबाट मान्छे बनेजस्तै क्रमिक विकास भयो भने हाम्रो पनातिको पनि पनाति  हुँदासम्म पनि यस्तै हुनेछ ।

निजी क्षेत्रको मूल उद्देश्य भनेको देश बनाउने होइन । वित्तीय क्षेत्र होस्, उत्पादनमूलक क्षेत्र होस् या सेवामूलक क्षेत्र होस् । होटल देश बनाउन खुलेको होइन । नेपालको पर्यटनमा प्रगति गर्छु भनेर पाँच तारे होटल कसैले खोल्दैन, नाफा बनाउँछु भनेर आउँछ । देश बनाउँछु भनेर नेपाल सरकार, सांसद, व्युरोक्रेसी लागेको छ । उहाँहरुको लक्ष्य देश बनाउने हो । बैङ्कहरुको काम भनेको नाफा मात्र होइन निक्षेकर्ताको विश्वासलाई कायम राख्ने पनि हो । राष्ट्र बैङ्कले नियमन गरेको क, ख, ग वर्गका कुनै पनि बैङ्कमा राखेको पैसा डुबेकोे अहिलेसम्म कसैको छैन । मानिसहरुले एउटा कागज लिएर पैसा डिपोजिट गरेर ढुक्क भएर फर्किन्छन् । त्यही वातावरण हामीले अन्य क्षेत्रमा पनि विकास गर्नुपर्छ । त्यसकारण रुपान्तरण चाहिन्छ, क्रमिक विकास होइन । बाँदरबाट मान्छे बनेजस्तै क्रमिक विकास भयो भने हाम्रो पनातिको पनि पनाति  हुँदासम्म पनि यस्तै हुनेछ ।

पर्यटन

जहिल्यै हामी भूपरिवेष्ठित मुलुक भनेर सुन्दासुन्दा कान नै पाकिसक्यो । हामी माल्दिभ्सजस्तो भएको भए के गर्ने ? वरिपरि पानी नै पानी छ । त्यो पनि नुनिलो, खान पनि नहुने । त्यो देश कसरी विकास गर्ने भन्ने थियो । हामी ल्याण्डलक्ड होइन इण्डिया र चाइना लक्ड हौं । चाइना र इण्डिया हिजोका होइनन्, एक अर्बभन्दा माथि एक अर्बभन्दा तल विश्वको सबैभन्दा समृद्ध जनसङ्ख्या भएका देश हुन् । पर्यटनको कुरा गर्दा भारत र चीनबाट मात्र पर्यटक आए अरु खुवा हुन्छ । कुनै पाँच तारे होटलमा बिहान जानुहोस् । ब्रेकफाष्टमा हेरेर नेपाली ब्रेकफाष्ट कहाँ छ भनेर सोध्नुहोस् । उनीहरुले हाँसेर यहाँ साउथ इण्डियन ब्रेक फाष्ट छ भन्दै इड्ली, डोसा देखाउँछन् । हामीलाई चाहिएको यस्तो पर्यटन होइन । पाँच तारे, सात तारे होटलमा कपडा, खानादेखि कपडा धुने सबै नेपाली सामान पाओस् । होटलले किन्छ भनेर गाउँगाउँमा मानिसहरुले उत्साहित भएर अण्डा, माछा, कुखुरा उत्पादन गरुन् । पाँच तारे होटलमात्र बनाएर सबै विदेशी सामान मगाएर धनीलाई धनी मात्र बनाउने हो । त्यही होटलमा काम गर्नेलाई तपाईंको योजना के छ भनेर सोध्दा उसको उत्तर आउँछ– ६ महिना–एक वर्ष यहाँ अनुभव लिएपछि विदेश जाने हो । तर, यहाँको साहुजी त कहीँ जाँदैन । कुनै बैङ्करलाई तपाईंको लक्ष्य के भनेर सोध्नुहोस्, कसैले पनि यहाँ अनुभव लिएर विदेश जान्छु भन्दैन । यहीँ करिअर बनाउन आएको हुँ, सीईओ बन्छु भन्ने हुन्छ । सबै क्षेत्रलाई त्यस्तै बनाऔं ।

कृषि

वित्तीय क्षेत्रलाई सबैले तपाईंहरुले किसानलाई कर्जा नदिएर उनीहरु विदेशिए भनिन्छ । पैसा रोपेर धान, मकै, गोलभेडा आउँदैन । पैसा त एउटा माध्यममात्र हो । आज किसानहरु विदेश गए । एउटा घडेरी त छ । वित्तीय संस्थाहरुले एउटा किसानलाई लोन दिएको भए ऊ पहिले पैसा लिएर बीज खोज्न हिँड्छ । धानको बीज कतै पाउँदैन । बल्ल–बल्ल अवैधरुपमा ल्याइएको बीज उसले किन्छ र रोप्छ । रोपेपछि ऊ मल खोज्न हिँड्छ । पैसा त बैङ्कले दिएको छ तर मल पाउँदैन । त्यसपछि त्यही अवैधरुपमा भित्रिएको मल भए पनि किनेर छरिदिन्छ । फेरि पानीको लागि सिंचाइ सुविधा छैन । अनि पानी परोस् भन्दै भगवानको अगाडि धुप बालेर पुकार्छ । पानी प¥यो । फल पनि फल्यो । तर, उसको बजारमा पहुँच खोइ ? अन्य मुलुकबाट आएको गोलभेंडाको मूल्य कम, हाम्रै देशमा फलेको गोलभेंडाको मूल्य महँगो भइदिन्छ । किनकि, उसको लागत नै बढी परेको छ । त्यस कारण किसान वित्तीय संस्थाले पैसा नदिएर विदेशिएको होइन, संरचना राम्रो नबनेर हो । त्यो संरचना बनाउने काम वित्तीय क्षेत्रको मात्र होइन, सबैको काम हो । तर, यसको मूल आधार नेपाल सरकारले बनाउनुपर्छ । सरकारले आजसम्म मल समयमा उपलब्ध गराउँछौं, सिंचाइ सुविधा, बजारमा पहुँच दिन्छौं भन्न सकेको छैन । भारतमा कुनै वस्तु सर्टेज हुँदा यहाँबाट जाँदा किसान दङ्ग छन् । त्यो होइन ।

टास्कफोर्स र विदेशी लगानी

नेपाल सरकार गम्भीर छ भने एउटा टास्कफोर्स बनाउनै पर्छ । त्यसमा सीएनआई, एफएनसीसीआई, चेम्बर, बैङ्कर सबै राखेर स्रोत यति छ कसरी गर्ने भनेर छलफल गर्नुहोस् । त्यो टास्कफोर्स बनिसकेपछि अर्थतन्त्रको रुपान्तरणको पाँचवटा खम्बा पर्यटन, कृषि, सेवा, प्रविधि जेसुकै होस् निकाल्नुहोस् । त्यसपछि जो सरकारमा आए पनि यो पाँचवटा खम्बालाई हामी समर्थन गर्छौं भनेर संसदबाट दुई तिहाइ बहुमतले पास गराइदिऔं । त्यो भएपछि विदेशी लगानीकर्ताहरुले क्याबिनेटको निर्णय कसैले परिवर्तन गर्न सक्दैन भनेर लगानी गर्न आउँछन् । सुदूरपश्चिममा दसवटा रिसोर्ट खोल्न दस अर्ब लगानी गर्छु भन्दै लगानीकर्ता आउँछन् । हेलिकप्टरबाट जाने । रातको दुई हजारदेखि दस हजार डलर तिर्नुपर्ने रिसोर्ट म बनाउँछु भन्दै आउँछन् । कुनै पनि राष्ट्र कोरिया, भारत, चाइनाको रुपान्तरण विदेशबाट पैसा आएपछि भएको छ । भारत कोकाकोला र चकलेट नदिएर थम्सअप र क्याम्पाकोला खाएर बस्यो । कोरिया कहाँबाट कहाँ पुग्यो । भारत जहाँको त्यहीँ बस्यो । जब भारत खुल्यो, कसले रोक्न सक्ने ? आज संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको छ । त्यो क्षमता नभएको होइन, रुपान्तरण गर्ने सोच नभएको मात्र हो । त्यो सोच आएपछि कहाँबाट कहाँ पुग्यो । अरबभन्दा बढी मान्छेले त्यो गर्न सक्यो भने हामीले पनि सक्छौं । नेपालजस्तो देशमा देखिने रुपान्तरण सुरुवात गर्न पाँच वर्ष चाहिन्छ । समयबोध म्यागेजिनको भदौ अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री