शुक्रबार, १६ चैत २०८०

जहाँ अहिलेसम्म पुग्न सकेको छैन बैंक

समयपोष्ट २०७९ असोज १२ गते १७:४१

Advertisement

भूमिराज पिठातोली
मुलुक सङ्घीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन पनि दियो । कम्तीमा एउटा वाणिज्य बैंकको शाखा सबै स्थानीय तहमा पु¥याउने सरकारी लक्ष्य २०७४ असार मसान्तसम्म थियो । तर, तोकिएको मितिसम्म दुई सय ९७ स्थानीय तहमात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगे ।

विसं २०७४ मा जारी राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “सङ्घीय संरचनाअनुसार तय भएका सात सय ५३ स्थानीय तहमध्ये २०७४ असार मसान्तसम्म वाणिज्य बैंकको शाखा नरहेका स्थानीय तहमा वाणिज्य बैंकले अनिवार्य रूपले शाखा खोल्नुपर्नेछ । विकास बैंकले वाणिज्य बैंक र विकास बैंक दुवै नरहेका स्थानीय तहमा शाखा खोल्न सक्नेछन् ।” राष्ट्र बैंकले निर्देशन दिएको पाँच वर्ष भइसकेको छ । तर, बझाङको साइपाल गाउँपालिकामा भने अहिलेसम्म बैंक पुगेको छैन ।

लामो समय बैंकबिहीन भएका धादिङको रूवीभ्याली, जाजरकोटको जुनिचाँदे गाउँपालिकाले गएको असारमा बैंक पाएका छन् भने साइपाल मात्रै बैंकविहीन पालिका भएको छ । आर्थिक वर्ष २०७६÷७७ सम्म बैंक नभएका स्थानीय तहको सूचीमा ६ पालिका थिए । ताप्लेजुङको मिक्काखोला, धादिङको नेत्रावती र बझाङको थलारा गाउँपालिकामा बैंकका शाखा सञ्चालन भएपछि तीन पालिका मात्रै बैंकविहीन थिए । त्यसमा पनि दुई पालिकामा असारमै बैंक पुगेपछि साइपाल मात्रै एक्लिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म सात सय ५२ स्थानीय तह वाणिज्य बैंकको पहुँचमा पुगेका छन् । राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले रासससँग भन्नुभयो, “सबै स्थानीय तहमा कुनै न कुनै वाणिज्य बैंक पुगेका छन् । साइपालमा भने बैंक राख्न सुरक्षित नभएको हुँदा केही ढिलाइ भएको हो ।” प्रवक्ता भट्टका अनुसार साइपालमा बैंक पुग्न अझै समय लाग्ने देखिन्छ । “पक्की भवनहरू तथा सडक सञ्जालको पहुँच नहुँदा बैंक राख्न कठिन भएको जानकारी राष्ट्र बैंकले पाएको छ”, उहाँले भन्नुभयो ।

अहिले नेपालमा २६ वाणिज्य बैंकका शाखा सञ्जाल करिब पाँच हजार छन् । त्यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमै छन् । १८ विकास बैंकका मुलुकभर एक हजार बढी शाखा सञ्चालनमा छन् भने १७ वित्त कम्पनीको दुई सय ७० भन्दा बढी शाखा सञ्जाल छन् । समग्रमा मुलुकभर बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल ११ हजारको हाराहारीमा छ । तर, दुर्गमको साइपाल भने वर्षौं बित्दा पनि बैंकविहीनकै अवस्थामा छ ।

बैंकिङ पहुँचमा नहुँदा धेरै सास्ती खेप्नुपरेको साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो । “साइपालमा बैंक तथा वित्तीय संस्था नहुँदा सबै कारोबार जिल्ला सदरमुकाम चैनपुरबाटै गर्नुपर्छ,” उहाँले भन्नुभयो, “गाउँमा सडक सञ्जाल जोडिएको छैन । सडक नहुँदा बैंकले पनि आउन मानेको छैन ।” बोहराका अनुसार अहिलेको यो वर्षायाममा जिल्ला सदरमुकाम पुग्नै चार दिन समय लाग्छ । “खोला तर्नै पनि कठिन हुन्छ”, अध्यक्ष बोहराले भन्नुभयो, “बैंक भएको भए यति सास्ती भोग्नुपर्ने थिएन ।” साइपालमा शाखा सञ्चालन गर्न राष्ट्र बैंकले एभरेष्टलाई निर्देशन दिएको छ ।

अध्यक्ष बोहराले भन्नुभयो, “हामीले पटक–पटक आग्रह गर्दा विभिन्न कारण देखाउँदै बैंक टाढिन खोजिरहेको छ”, उहाँका अनुसार अन्य बैंकले शाखा सञ्चालनका लागि चासो देखाउँदा एभरेष्टले भने घुमाइफिराई साइपालमा जान नसक्ने कारण तेस्र्याइरहन्छ । “धेरै बैंकसँग कुरा भयो”, उहाँले भन्नुभयो, “एनआइसी एसिया र ग्लोबल बैंकले शाखा सञ्चालनका लागि सकारात्मक प्रतिक्रिया दिँदा एभरेष्टले भने नसकिने नै अडान लियो ।” उहाँले ठूलो रकम बोकेर साइपाल पुग्न आफूलाई पनि असुरक्षित महसुस हुने गरेको बताउनुभयो ।

साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा लामा तामाङले पनि मोटो रकम बोकेर हिँडिरहन सुरक्षाको दृष्टिले अप्ठेरो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैंकलाई सुरक्षाको चिन्ता नमानी शाखा सञ्चालन गर्न धेरै पटक आग्रह गर्दा पनि चासो दिँदैन ।” पालिकामा बैंक सञ्चालनका लागि दुई महिनाअघि राष्ट्र बैंकलाई निवेदन दिएको उहाँले बताउनुभयो । “पालिकामा बैंक नभएको पीडा राष्ट्र बैंकलाई सुनाएका छौँ”, उहाँले भन्नुभयो, “राज्यले हामीलाई १७ वटा चिठी पठाइसकेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलगायतका लागि पनि अनिवार्य खाता खोल्नु भनेको छ । तर, हामीले जिल्ला सदरमुकामबाट पैसा झिकेर घर–घरै वितरण गर्न जानुपर्छ ।”

एभरेष्ट बैंकले भने असुविधा भएको ठाउँमा बैंक जान नसक्ने बताएको छ । एभरेष्ट बैंकका बझाङ शाखा प्रबन्धक कविरलाल मास्केले भन्नुभयो, “साइपालमा बैंक लिन सक्ने अवस्था नै छैन । नेटवर्क, सञ्चार, सुरक्षा तथा बाटो नभएको ठाउँमा बैंक कसरी लिने रु” उहाँले प्रश्न गर्नुभयो । उहाँले चैनपुरमा बसेर साइपालमा बैंक सञ्चालन गर्ने भन्ने कुरा सजिलो नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो,“हामीले साइपालका जनप्रतिनिधिसँग पनि छलफल गरेका छौँ । सुविधा नभएको ठाउँमा बैंक जान नसक्ने बताएका छौँ ।” साइपालका जनप्रतिनिधि भने मास्केको कुरा स्वीकार्ने पक्षमा छैनन् । “एभरेष्टले शाखा सञ्चालनका लागि विभिन्न बहाना गरिरहेको छ,” अध्यक्ष बोहराले भन्नुभयो ।

अध्यक्ष बोहोरा भने भने सुरक्षा र नेटवर्कको कुनै चिन्ता नगर्नुस् भन्दा पनि बैंकले वास्ता नगरेको बताउनुहुन्छ । “म अहिले साइपालको काँडामै छु,” अध्यक्ष बोहोराले टेलिफोनमा भन्नुभयो, “मोबाइलमा फोरजी टिपेको छ । सुरक्षाका लागि पनि प्रहरी चौकी छ । थप चाहिए सुरक्षाकर्मी पनि थप्न सक्छौँ । तर, अरू बैंकले चासो देखाउँदा पनि राष्ट्र बैंकले खटाएको एभरेष्टले किन चाँसो देखाउँदैन । अचम्ममा छौँ ।”

यस विषयमा राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले भने अरू बैंकले साइपाल जान सक्ने चाँसो राख्दा एभरेष्टले जान नमान्ने कारण बुझ्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष बोहराले एभरेष्ट बैंकका कर्मचारी अहिलेसम्म साइपाल अवलोकन गर्नसमेत नपुगेको गुनासो गर्नुभयो । “साइपालमा असुरक्षा छ, नेटवर्क हुँदैन मात्रै भनिरहनुभएको छ । तर, यहाँ अहिलेसम्म कुनै कर्मचारी पनि पुग्नुभएको छैन । एक पटक साइपाल नपुगेरै बैंकका कर्मचारीको टोली धलौनबाटै फर्किएको थियो ।” यसपटक भने बैंकका कर्मचारीले काँडासम्मै पुग्ने आश्वासन दिएको उहाँले बताउनुभयो । “यो पटक भने पालिकासम्मै अवलोकनका लागि जाने भन्नुभएको छ । खै के गर्नुहुन्छ ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री