शुक्रबार, ७ वैशाख २०८१

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई ११ वटा स्वर्ण पदक

समयपोष्ट २०७९ असोज ८ गते २१:०८

Advertisement

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले ११ स्वर्ण पदक जितेको छ । गत भदौ २९ देखि असोज ८ गतेसम्म १ नं प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भएको प्रतियोगितामा खोटाङका लागि सितोरियो करातेमा छ, पौडीमा दुई, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक–एकवटा स्वर्ण पदक प्राप्त भएको हो ।

सितोरियो करातेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेका छन् । महिला टिम कुमुतेमा विद्याकला राई, कञ्चन नेपाली र सञ्जिता राईले स्वर्ण पदक जितेका छन् ।

यस्तै कुमुतेतर्फ ५५ किलो समूहमा विद्याकला राई, ६१ किलो समूहमा कञ्चन नेपाली, ६८ किलोभन्दा माथिको तौल समूहमा मिसडोना राई र ७५ किलो तौल समूहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन् । सितोरियो करातेमा खोटाङका २९ खेलाडीले प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

पौडीमा जिल्लाबाट पहिलोपटक खेलाडी सहभागी गराउन पाएको खोटाङले पहिलोपटक नै दुई स्वर्ण पदक प्राप्त गरेको छ । पौडीमा क्रिस राईले खोटाङलाई फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एकवटा स्वर्ण पदक दिलाएको हो । भारोत्तलनमा ज्योति थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो । शारीरिक सुगठनमा देवराज पराजुली र बक्सिङमा फुर्देन शेर्पाले स्वर्ण पदक जितेका छन् ।

प्रदेशमा स्वर्ण पदक विजेताले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दीर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन विश्वकर्मा तथा प्रविण कटवाल पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोटमा परेका छन् ।

यस्तै महिला भलिबलतर्फ बिनिता राई र शिखा कोयीले पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्ने अवसर पाएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका गरी एक सय ५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यही असोज २८ देखि कातिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने जनाइएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खोटाङका १७ खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

यसैबीच सितोरियो कराते खोटाङका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडे घर भएका कराते प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले सितोरियो करातेतर्फको प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो ।

प्रदेशस्तरीय प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई जनही क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार तथा राष्ट्रिय प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः जनही रु २५ हजार पाँच सय ५५, रु १५ हजार पाँच सय ५५ र रु ११ हजार एक सय ११ प्रदान गर्ने घोषणा गर्नुभएको छ । सितोरियो कराते खेलाडीको मनोबल बढाउन र खेल क्षेत्रको प्रवद्र्धनका लागि पदक विजेता खेलाडीलाई व्यक्तिगतरूपमा नगद पुरस्कार दिने घोषणा गरेको तामाङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री