शनिबार, १५ वैशाख २०८१

यस्ता छन् डा.अर्यालको कार्यकालमा राष्ट्रिय बीमा कम्पनीमा भएका सुधार र उपलब्धी

समयपोष्ट २०७८ भदौ २६ गते ९:४०

Advertisement

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको एक दशकदेखि रोकिएका लेखापरीक्षण तथा साधारणसभालाई सहजिकरण गर्न  २०७५ पुस २६ गते बाट अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा खटिएका डा. डिल्ली राज अर्याललाई सरकारले मन्त्रालय तानेको छ । अर्याललाई साढे दुई वर्ष अगाडी मन्त्रालयले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।२०७५ पुस २६ गते देखी २०७८ भदौं २१ गतेसम्म प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्दा उनले कम्पनी सुधारमा महत्वपूर्ण उपलब्धी हासिल गरेका छन् ।

डा. अर्यालले  राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा गरेका सुधारका प्रयासहरु र यसबाट प्राप्त उपलब्धीहरु यस्ता छन् ।

झण्डै ४६ वर्ष अगाडि तत्कालिन खाद्य संस्थानबाट राष्ट्रिय बीमा संस्थानले खरिद गरेको १५ रोपनी जग्गा नामसारी हुन सकेको थिएन । अर्थ मन्त्रालय, बाणिज्य मन्त्रालय लगायतको निकायहरुसँग पटक पटकको छलफल र सल्लाह एवं प्रस्तावको आधारमा उक्त जग्गा राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानको नाममा आधा आधा तत्कालिन अवस्थामा लेनदेन भएको मूल्यमा नामसारी गरिदिने भनि नेपाल सरकार (मन्त्री परिषद्)को निर्णय भएको छ । हाल उक्त निर्णय कार्यान्वयनको लागि मालपोत कार्यालय, डिल्लीबजारमा प्रक्रियामा रहेकोले यथाशिघ्र निर्णय हुने नै छ । झण्डै डेढ वर्षको निरन्तर प्रयासबाट समस्या समाधान हुने अन्तिम चरणमा पुग्नु आफैमा महत्वपूर्ण उपलब्धी रहेको छ ।

कम्पनीमा लामो समयदेखि लेखापरीक्षण कार्य थाँति रहँदै आएको छ । विगतका वर्षहरुमा हिसाब मिलान एकिन नभएको कारण लेखापरीक्षणमा ढिलाई हुन गएको छ । यस अवधिमा हिसाव मिलानको पुनः परिक्षण गरी एकिन भएका हिसावहरुलाई समेत समायोजन गरी लेखापरीक्षण कार्यलाई अगाडि बढाईएको छ भने एकिन हुन बाँकी रहेका हिसाबहरुको पनि हिसाब मिलन कार्य जारी रहेको छ ।

महालेखापरीक्षकको कार्यालय, अर्थ मन्त्रालय, बीमा समिति, बाह्य लेखा परीक्षकहरु, सञ्चालक समितिसँगको निरन्तर छलफल एवं सुझावका आधारमा लेखापरीक्षण कार्यलाई गति प्रदान गरिएको फलस्वरुप देहाय बमोजिंम अवस्था रहेको छ ।

आर्थिक वर्ष २०६७/६८ सम्मको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बीमा समितिको निर्देशन अनुसार आर्थिक बर्ष २०६८/६९, आर्थिक बर्ष २०६९/७० र आर्थिक बर्ष २०७०/७१ को वित्तिय विवरणहरुमा पुनः समायोजन (Reinstatement of Financial Statement) गरी बीमा समितिबाट उक्त वित्तिय विवरणहरुको स्वीकृति प्राप्त भैसकेको छ । आर्थिक वर्ष २०६८/६९, आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१ को स्वीकृत वित्तिय विवरणको ३ वर्षको कुनै पनि समयमा बार्षिक साधारण सभा गर्न सकिने अवस्था रहेको छ । आर्थिक बर्ष २०७१/७२ र आर्थिक बर्ष २०७२/७३ को वित्तिय विवरणहरु पनि पुनः समायोजन (Reinstate of Financial Statement) गरी स्वीकृतिको लागी बीमा समितिमा पठाईएको र स्वीकृतिको क्रममा रहेका छन् ।

आर्थिक बर्ष २०७३/७४ को लेखापरिक्षणको प्रारम्भिक प्रतिवेदन प्राप्त भई छलफलको क्रममा रहेको छ । यथाशिघ्र अन्तिम प्रतिवेदन प्राप्त गरी सम्बन्धित निकायहरुमा पेश गरिने अवस्थामा रहेको छ ।

आर्थिक बर्ष २०७४/७५ देखिका बर्षहरुको नेपाल वित्तिय प्रतिवेदनमान (Nepal Financial Reporting Standard, NFRS) बमोजिम वित्तिय विवरण तयार पार्नु पर्ने भएकोले सो अनुसार कार्य भैरहेको छ । आर्थिक बर्ष २०७४/७५ र आर्थिक बर्ष २०७५/७६ को बाह्यलेखापरीक्षकहरुबाट प्रारम्भिक प्रतिवेदन तयार भएको छ ।

Accounting Police को मस्यौदा तयार भएको छ । NFRS बमोजिम वित्तिय विवरणहरु तयार पार्ने प्रयोजनका लागी GAAP Analysis प्रतिवेदन तयार भएको छ । NFRS बमोजिम वित्तिय विवरण तयार पार्न आर्थिक बर्ष २०७३/७४ देखिको NFRS Convergence आवश्यक भएकोले आर्थिक बर्ष २०७३/७४ देखि आर्थिक बर्ष २०७५/७६ सम्मको अपरिस्कृत वित्तिय विवरण (Provisional Financial Statement) अनुसार NFRS Convergence गर्ने कार्य सकिएको छ । दीर्घकालिन दायित्वको लागि आर्थिक बर्ष २०७२/७३ देखीको Actuarial Valuation आवश्यक भएकोले सोको लागी भारत स्थीत Actuary सँग कार्य भैरहेको छ । Actuarial Valuation को कार्यले समय लिएको कारण NFRS अनुसारको वित्तिय विवरण तयार पार्न केहि ढिलाई हुन गएको छ ।

आर्थिक बर्ष २०७६/७७ र आर्थिक बर्ष २०७७/७८ को लेखापरीक्षणको लागी महालेखा परीक्षकको कार्यालय सँग बाह्यलेखापरीक्षक परामर्शको लागी पत्राचार मार्फत अनुरोध गरिएको छ ।

महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भई आएपछि यथाशिघ्र लेखापरीक्षण कार्य शुरु हुने छ । नेपाल सरकार र बीमक संघ बीचको सम्झौता एवं सहकार्य बमोजिंम संचालित युवा स्वरोजगार कोष अन्तरगतका कार्यक्रमहरुको बीमा यस कम्पनी मार्फत् हुँदै आएको छ । विगत ४ वर्ष देखि थाँती रहेको उक्त कार्यक्रमको लेखापरीक्षण कार्य सम्पन्न भएको छ । युवास्वरोजगार कार्यक्रम अन्तरगत संचालित भएका तथा संचालनमा आउने कार्यक्रमहरुको लगानीलाई व्यवस्थीत, भरपर्र्दो र पारदर्शी बनाउन नयाँ सफ्टवेयर बनाई लागु गर्ने अवस्थामा रहेको छ ।

कम्पनीको स्थापना पछि भौतिक सम्पत्तिलाई व्यवस्थित बनाई भौतिक सम्पत्ति परिक्षण प्रतिवेदन तयार पारिएको छ । आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहितालाई कायम राख्न जिंन्सी तथा अन्य सामानहरु पूर्ण रुपमा बोलपत्र आब्हानबाट गरिएको र सबैको अभिलेख Ensure सफ्टवेयरमा राख्ने व्यवस्था गरिएको छ ।

तीनै तहका सरकारहरुसँग समन्वय गरि आवश्यकताका आधारमा बीमा पोलिसि जारी गरी कम्पनीको पहुँच र सेवालाई बिस्तार गरी ब्यवसाय अभिबृद्धि गरिएको छ । तीन वर्ष अगाडि झण्डै ९० करोड बीमा शुल्क आर्जन भएकोमा गत वर्षको अन्त्य सम्म आईपुग्दा रु.१ अर्ब ६० करोडको बीमा शुल्क आर्जन भएको छ ।

कम्पनीमा लामो समयदेखि थाँती रहेको हिसाब मिलानको अवस्था, विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ को असर र अन्य अनपेक्षित विविध कारणहरुले गर्दा अपेक्षा गरेको अनुसार २०७८ साल असार मसान्त सम्ममा आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण सम्पन्न गर्ने योजना पुरा हुन नसकेतापनि लेखापरीक्षण सम्वन्धी कामले एउटा गति लिएको कारण आगामी तीन महिना भित्रमा आर्थिक वर्ष २०७५/७६ सम्मको लेखापरीक्षण सम्पन्न भई बार्षिक साधारण सभा गर्न सकिने अवस्था रहेको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलियको Covid-19 को प्रभावका कारण कम्पनीलाई दुबै अवसर तथा चुनौती थपिएका छन् । विषम परिस्थितिमा पनि राष्ट्रसेवक कर्मचारी लगायत सर्वसाधरणहरुको कोरोना बीमा गर्ने अवसर प्राप्त भएतापनि पछिल्लो अवस्थामा ठूलो संख्यामा बाँकी रहेको कोरोना दाबी भुक्तानीले चुनौती पनि थपिएको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि पुँजी बृद्धि गरी रु. एक अर्ब पुर्याउनुपर्ने भएकोले उक्त अनुसार पूँजी बृद्धि योजना तयार पारिएको र आर्थिक वर्ष २०७५/७६ सम्म लेखापरीक्षण सम्पन्न गरी वित्तिय विवरण अनुसार पुँजीबृद्धि योजनलाई परिस्कृत गरी पूँजीबृद्धि कायम गर्न सकिने अवस्था रहेको छ ।

२०७५ साल पुस २६ गते देखि राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनु हुने नेपाल सरकार अर्थ मन्त्रालय र संचालक समिति, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै, यो जिम्मेवारीमा रही काम गर्दा मलाई सल्लाह, सुझाव एवं सहयोग गर्नुहुने अर्थ मन्त्रालय, संचालक समिति, महालेखापरीक्षकको कार्यालय, बीमा समिति, कम्पनीका सम्पूर्ण कर्मचारी साथीहरु, लगानीकर्ताहरु, बाह्यलेखापरीक्षकहरु, पत्रकार जगत, कम्पनीलाई ब्यवसाय प्रदान गर्नुहुने संस्थागत तथा अन्य बीमितहरु र बीमा अभिकर्ताहरु सबै प्रति धन्यवाद तथा आभार ब्यक्त गर्दछु । त्यसैगरी, लेखापरीक्षण सम्पन्न भई बार्षिक साधारण सभाको अपेक्षा एवं प्रतिक्षामा रहनु हुने लगानीकर्ताको धैर्यताको लागि धन्यवाद सहित हार्दिक आभार प्रकट गर्दछु ।

नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७८/०५/१८ को यहि भाद्र २० गते प्राप्त पत्र अनुसार यथाशिघ्र काज फिर्ता भई अर्थ मन्त्रालयमा कार्यरत रहने छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री