शनिबार, ८ कार्तिक २०७७

७७ घरमा क्षतिः २१५ उच्च जोखिममा

समयपोष्ट २०७७ असोज ११ गते २१:३९

Advertisement

निरन्तरको वर्षात्का कारण बागलुङ जिल्लाको बागलुङ र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ भने २१५ घर उच्च जोखिममा रहेका छन् । बागलुङ नगरपलिकामा ६५ घर पहिराले पूर्ण रुपमा क्षति गरेको छ भने १५० घर उच्च जोखिममा छन् । निरन्तरको वर्षात्का कारण नगरपलिकाभित्र बाढी पहिरो तथा जमीन भासिने कारणले ६५ घर विस्थापन भएको र १५० घर उच्च जोखिममा रहेको तथ्याङ्क सङ्कलन गरिएको छ ।
पूर्ण रुपमा विस्थापित हुने गरी क्षति भएका ६५ घरलाई नगरपालिकाका तर्फबाट रु एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय गरिको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । घर बनाउन सघाउ पुग्ने गरी ६५ घरलाई रु एक लाख ५० हजारका दरले नगद उपलब्ध गराउने गरी विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो ।

पौडेलका अनुसार जोखिममा रहेको घरका लागि तत्कालै रु १५ हजार दिइरहेको छ । यस्तै जैमिनी नगरपालिकामा १२ घरमा पूर्ण क्षति भएको तथा ५६ घर पहिराको उच्च जोखिममा परेको नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । उहाँले पछिल्लो वर्षात्मा क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै क्षति तथा जोखिम घरको सङ्ख्या बढ्ने बताउनुभयो । उहाँका अनुसार घरबाट विस्थापन भएका परिवारलाई राहत दिइँदै आएको छ । जैमिनीमा निरन्तरको पहिराका कारण टुनिबोट दुई र बिनामारेमा एक गरी तीन जनाको ज्यानसमेत गएको छ । नगरपालिकाले ज्यान गुमाएका परिवारलाई तत्कालै किरिया खर्चसमेत प्रदान गरेको छ ।

Advertisement

यस्तै जिल्लाको काठेखोलामा बिहीबार पहिराका कारण एक जनाको ज्यान गएको छ । यसैगरी काठेखोला गाउँपालिका–१ चनौटेको तल्लोथरमा पहिरो खस्दा एक दर्जनभन्दा बढी घर जोखिममा रहेको स्थानीयवासी कृष्ण थापाले जानकारी दिनुभयो । गाउँपालिकाको भीमापोखराको दपासामा, रेशको भुदीखोला र लेखानी जाने सडकसमेत क्षति पुगेको छ । अविरल वर्षाका कारण विभिन्न स्थानमा क्षति पुगेको र तथ्याङ्क सङ्कलनको काम जारी रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै गलकोट नगरपालिका वडा नम्बर १ चौराहा बर्खेधारमा मध्यपहाडी लोकमार्ग भत्किँदा बागलुङ–बुर्तिबाङ सडकखण्डको सवारी साधन आवागमनमा समस्या भएको छ । चौराहा, रुपाखानी, पात्लेखोला जाने गोरेटो बाटोमा पहिरो खसेको छ । लोकमार्गको पहिराका कारण दुई घर पहिराको उच्च जोखिममा छन् । निरन्तर परेको वर्षात्का कारण नगरपालिकाको १ नं वडामा स्थानीयवासी भीमबहादुर थापा काउचा र विष्णु राना श्रीसको घर उच्च जोखिममा परेको स्थानीयवासी हीराबहादुर काउँचाले जानकारी दिनुभयो । पहिराले घर गोठ जोखिममा परेपछि पशुपक्षी, अन्नपात र लत्ताकपडा छिमेकीका घरमा सारिएको उहाँले बताउनुभयो ।

यस्तै सोही नगरपालिका वडा नम्बर ११ रिघामा पहिराले पाँच घर जोखिममा परेका छन् । वर्षात्ले स्थानीयवासी चन्द्रबहादुर कामी, टेकबहादुर श्रीस, चन्द्रबहादुर नेपाली, मित्रबहादुर थापा र अम्मरबहादुर श्रीसको घर जोखिममा परेको गलकोट नगरपाालिका वडा नम्बर ११ का वडाध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभयो । उनीहरुले छिमेकीका घरमा आश्रय लिएको र केहीले पाल टाँगेर बसेको वडाध्यक्ष श्रीसको भनाइ छ ।

यस्तै बडिगाड गाउँपालिकाको खर्वाङ बजारस्थित मध्यपहाडी लोकमार्गमा खसेको पहिराले तीन घर जोखिममा परेका छन् । सोमबार बडिगाड –२ राक्सेमा आएको बाढीका कारण चार परिवार विस्थापित भएका छन् । गाउँपालिकाभित्र पर्ने मध्यपहाडी लोकमार्ग पनि ठाउँठाउँमा पहिराले क्षतविक्षत बनाएको छ । जिल्लाका १० स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री