शुक्रबार, १४ वैशाख २०८१

बन्द हुँदै ‘ब्रान्चलेस बैंकिङ’, १३ प्रतिशत बन्द

समयपोष्ट २०७३ भदौ २६ गते २:५३

बैंक तथा वित्तीय संस्थाहरूले तामझामका साथ खोलेका शाखारहित (ब्रान्चलेस) बैंकिङ सेवा धमाधम बन्द हुन थालेका छन् । सम्भाव्यता अध्ययन नै नगरी सुरु गरिएका शाखारहित बैंकिङ सेवाबाट घाटा भएपछि उनीहरूले बन्द गर्न थालेका हुन् । 

Advertisement

नेपाल राष्ट्र बैंकले २०६६ जेठमा शाखारहित बैंकिङ सेवाको अवधारणा ल्याएपछि वाणिज्य बैंकहरूले ०६८ सालमा सेवा सुरु गरेका थिए ।

बैंकहरूबीच कसले धेरै ठाउँमा सेवा सुरु गर्ने भन्ने प्रतिस्पर्धाका कारण छोटो समयमै धेरै शाखारहित सेवा सञ्चालनमा आए । तर, यसलाई दिगो रूपमा सञ्चालन गर्न सम्बन्धित बैंक र राष्ट्र बैंकले चासो नलिँदा यी सेवा बन्द हुन थालेका हुन् । 

बैंकहरूले सुरुमा शाखारहित बैंकिङ सेवा विस्तार गरेका ठाउँमा फाइदा नभएकाले बन्द गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

“सुरुवाती चरणमा सेवा सुरु भएका स्थानमा नचलेर बन्द गरेका हुन्,” उनले भने, “केही स्थानमा राम्रोसँग चलेको उदाहरण पनि छ ।”

शाखारहित बैंकिङ सेवाको सुरुवाती दिनमा बैंकहरूले आफूखुसी विस्तार गरेपछि पछिल्लो समय यसका लागि दातृ निकायको सहयोगका कारण यसको विस्तार बढिरहेको छ ।

बेलायती सहयोग नियोगको सहयोगमा सञ्चालित सक्षम परियोजनाले शाखारहित बैंकिङ सेवा विस्तारका लागि गत वर्षदेखि सहयोग गर्न थालेको छ ।

परियोजनाको सहयोगमा भूकम्प प्रभावित १४ जिल्लाका साथै सुदूर र मध्यपश्चिमाञ्चलमा शाखारहित बैंकिङ सेवा विस्तार भइरहेको छ ।

पछिल्लो एक वर्षमा मात्र परियोजनाको आर्थिक सहयोगमा ४५५ वटाभन्दा बढी स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार भइसकेको छ । 

भूकम्प प्रभावित र दुर्गम ठाउँमा सेवा सञ्चालनका लागि हाल परियोजनाले बैंकको लागतमा ५० प्रतिशत सहयोग गर्दै आएको छ । उक्त सहयोग बन्द भएपछि शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न ग्राहो हुने बैंकरहरू नै बताउँछन् ।

भूकम्प प्रभावित जिल्लामा सरकारले दिने अनुदान वितरण प्रक्रिया शाखारहित बैंकिङ सेवामार्फत भइरहेको छ । यसबाट तत्कालका लागि शाखारहित सेवाको ग्राहक कारोबार भने राम्रो भएको देखिएको छ ।

बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पु¥याउनका लागि शाखारहित बैंकिङ सेवाको अवधारणा ल्याइएको थियो ।

यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका रूपमा सम्झौता गरिन्छ ।

अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स–सानो ऋण लगानीलगायत सेवा दिन्छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउँछन् । तर, हालसम्म वाणिज्य बैंकहरूले मात्र यस्तो सेवा दिइरहेका छन् ।

बैंक/वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक शाखा नभएका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने व्यवस्था छ । 

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली भौगोलिक विकटता भएको नेपालजस्तो मुलुकमा सबै जनतालाई वित्तीय पहुँच पु¥याउन शाखारहित बैंकिङ सेवाको मोडल उपयुक्त भएको बताउँछन् ।

सरकारले सर्वसाधारणलाई दिने सामाजिक सुरक्षालगायत भुक्तानी बैंकिङ प्रणालीबाट गरे मात्र यस्ता सेवाकेन्द्र दिगो रूपमा सञ्चालन हुने उनको भनाइ छ । 

०७३ असारसम्म ब्रान्चलेस बैंकिङको अवस्था 

सञ्चालनमा                                ८१२
बन्द भएका                                १०२
ग्राहक संख्या                           २१३०८४

आजको कारोबार दैनिकमा यादव हुमागाईंले लेखेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री