अव ४५ प्रतिशत हकप्रद सेयर दिएर पुँजी पुर्याउँछौं
प्रभु इन्स्योरेन्सको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
प्रभु इन्स्योरेन्सको अहिलेसम्मको स्थिति राम्रो छ । हामीले चौमासिकको वित्तीय विवरण पनि प्रकाशित गरिसकेका छौँ । त्यसलाई अध्ययन गर्दा पनि राम्रो छ । हामीले पुँजी वृद्धिको लागि प्रस्ताव पेस गरिसकेका छौँ । यो वर्षको वित्तीय विवरणको आधारमा सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर दिने, बोनस सेयर वितरण पश्चात् हुने चुक्ता पुँजीबाट बाँकी ४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना छ ।
गत आर्थिक वर्षमा तपाईंको कम्पनीमा कति दाबी आए र कति प्रतिशत भुक्तानी भयो ?
हामीकहाँ आएका सबै दाबीहरू भुक्तानी भएकै छन् । हाम्रो रोकिने भनेको आवश्यक कागजात नआएर र प्रतिवेदन समयमा नआइपुगेर मात्र हो । प्रतिवेदन नआउनुको पनि कारण हुन्छ । हामीले हेर्दा सहजरूपमा लिने र दिने मात्र हुन्छ तर यसको पछाडिका तत्वहरू त धेरै हुन्छन् । जस्तो– समयमा कागजातहरू आउनुपर्यो, समयमा सबै प्रक्रियाहरू पूरा हुनुपर्यो, त्यो भयो भने हाम्रो दाबी भुक्तानी गर्न १५ दिन पनि लाग्दैन । कहिले त हप्ता दिन पनि नलाग्न सक्छ । तर प्रक्रिया पुगेन भने त भुक्तानी गर्न गाह्रो हुन्छ ।
बीमा कम्पनीहरूले सहजरूपमा दाबी भुक्तानी नदिएकाले बीमाप्रति मानिसहरूको जति आकर्षण हुनुपर्ने हो, त्यो भएन भनिन्छ नि ?
बीमा कम्पनीले त सहजरूपमै दिइरहेको हुन्छ । मेरो आफ्नो कम्पनीको बारेमा भन्नुपर्दा हामीले त सहजरूपमै दिइरहेका छौँ । दाबी गरिन्छ भने त्यो प्रमाणित हुनुपर्यो। प्रमाणित गर्ने आधार आवश्यक कागजातहरू चाहियो । आवश्यक कागजातहरू भयो भने समयमै दाबी भुक्तानी हुन्छ, त्यसको लागि कुनै समस्या नै पर्दैन । बीमा मानिसले दाबी लिनकै लागि गर्ने हो । त्यस कारण दाबी नदिने भन्ने प्रश्नै आउँदैन ।
बीमा बजार बढ्न नसक्नुको कारण के हो ?
यसो हुनुको मुख्य कारण भनेको मानिसमा बीमाबारे चेतनाको अभाव छ । सबै निर्जीवन बीमा कम्पनीहरूले आ–आफ्नो व्यापार–व्यवसायको लागि पनि बीमाबारे नबुझाउने र अगाडि नबढ्ने भन्ने हुँदैन । सबै आफ्नो क्षेत्रबाट लागिरहेकै छन् । हामी पनि लागिरहेकै छौँ । तर व्यक्तिगतरूपमा जादा त्यो आफ्नै लागि मात्रै हो भन्ने सन्देश जाँदो रहेछ । मुख्य कारण त्यो पनि हो । त्यसले गर्दा यो जति उपलब्धिमूलक हो, त्यति देखिइरहेको छैन । बीमा हुन नसक्नुको मुख्य कारण भनेको चतनाको अभाव नै भन्नुपर्छ ।
बीमा कम्पनीहरू घर–गाडीमा बढी फोकस भए, कृषिलगायतका क्षेत्रमा कम गए भन्ने आरोप छ नि ?
हामी नलागेको भन्ने होइन । कृषिकै लागि हाम्रो पाँचवटा शाखा छन् । गुल्मी, स्याँङ्जा, बेनी, बाग्लुङ र जोमसोममा हाम्रा शाखा छन् । जोमसोम जस्तो ठाउँमा समेत हामीले कृषिकै लागि भनेर शाखा खोलेका छौँ । हामी त्यसमा लागिनपरेको होइन । बीमाको विषयमा मानिसहरूमा बुझाइको कमीका कारण त्यो हुन नसकेको हो कि !
प्रभु इन्स्योरेन्सका नयाँ योजना के छन् ?
हामीले निर्धारित प्रडक्ट नै बेच्ने हो । ग्ल्यामरस उपहार राखेर अथवा कुनै किसिमको प्रलोभन दिएर गर्नेखालका प्रडक्ट दीर्घकालिन हुँदैनन् । यो कुरा मानिस आफैँले बुझ्नुपर्छ । हामीले गर्ने भनेको छिटो–छरितो र स्तरीय सेवा दिने हो । त्यसलाई नै हामीले बढावा दिने हो । बरु त्यसका लागि हामीले अलिकति चेतना फैलाउने काम गर्ने योजना रहेको छ । विभिन्न स्थानमा गएर बीमाको बारेमा जानकारी दिने । बीमा किन गर्नुपर्छ र प्रभुमै किन गर्नुपर्छ भनेर मानिसहरूलाई जागरण फैलाउने काम गर्ने हो । हाम्रा हरेक शाखाबाट अनलाइन पोलिसी जारी गर्ने हुँदा यहाँबाट सेवा छिटो–छरितो हुन्छ । मानिसहरूले अन द स्पोर्ट सूचनाहरू वेभसाइटबाट जानकारी लिन सक्छन् । त्यो तरिकालाई बेस बनाएर अगाडि बढ्ने हाम्रो सोच छ ।
अझै मानिसहरूमा बीमा मेरो लागि भन्दा पनि तेरो लागि भन्ने सोच छ । बीमाले मानिसको आफ्नो सम्पत्तिको रक्षा गर्छ । मानिसले एक करोडको घर बनाउँछ, त्यसको बीमा दश हजार त हो । पाँच जना साथीभाइ बसेर रमाइलो गरौँ भन्दा पन्ध्र हजारको बिल आउँछ । मानिसले त्यो तिर्छ तर त्यति नै अमाउण्टको बीमा गरौँ न सुरक्षाको लागि भन्दा मानिसले गर्दैन । मानिसमा बीमासम्बन्धी चेतना र शिक्षा नै छैन । यसको लागि मानिसमा चेतना अभिवृद्धि गर्न आवश्यक छ । बीमा गरौँ, त्यसमा पनि प्रभुमा नै बीमा गरौँ । हाम्रो नारा नै छ– प्रभुमा बीमा गरौँ, निर्धक्क होऊँ । छिटो–छरितो र स्तरीय सेवा लिनका लागि प्रभुमा नै बीमा गराँै । भविष्यमा हुने आर्थिक क्षतिबाट बच्न बीमा गरौँ, बीमा बुझेर गरौँ ।
प्रतिक्रिया