चेतावनी दिएको भोलिपल्टै उत्तर कोरियाले जापानतर्फ फ्याँक्यो अर्को मिसाइल
उत्तर कोरियाले आफ्नो राजधानी प्योंगयांगबाट पूर्वी दिशामा जापानतर्फ अर्को एक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरिया र जापानी सरकारले यसको पुष्टि गरेको हो । दक्षिण कोरियाका सेनाका अनुसार उक्त मिसाइल ७ सय ७० किलोमिटरको उचाईसम्म पुग्यो र त्यसले करिब ३ हजार ७ सय किलोमिटरको यात्रा तय गर्यो ।
जापानको एनएचके टेलिभिजनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त मिसाइल स्थानीय समयानुसार बिहान ७ बजेर ५७ मिनेटमा प्रक्षेपण गरिएको हो र ७ बजेर ६ मिनेट जाँदा जापानको होकाइडोद्वीप माथिबाट यात्रा गरेको थियो ।
दक्षिण कोरिया र अमेरिकाले उक्त मिसाइल प्रक्षेपणको विस्तृत जानकारी संकलन गरिरहेको छ । दक्षिण कोरियाका राष्ट्रपतिले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ ।
उत्तर कोरियाले हिजो मात्र संयुक्त राष्ट्रमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको प्रस्तावलाई समर्थन गरेकोमा जापानलाई डुबाइदिने र अमेरिकालाई खरानी र अन्धकारमय बनाइदिने चेतावनी दिएका थिए । पछिल्लो महिना पनि उत्तर कोरियाले जापानमाथिबाट एउटा मिसाइल प्रक्षेपण गरेको थियो जसलाई जापानले आफ्ना लागि ‘अभूतपूर्व खतरा’ बताएको थियो । बीबीसी
प्रतिक्रिया