शनिबार, ८ वैशाख २०८१

उत्तर कोरियाद्धारा जापानलाई समुद्रमा ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी र अन्धकारमय’ बनाईदिने धम्की

समयपोष्ट २०७४ भदौ ३० गते ३:११

राष्ट्र संघद्वारा मंगलबार पारित नयाँ नाकाबन्दीमा प्रमुख भूमिका खेलेको भन्दै उत्तर कोरियाले अमेरिका र जापानलाई कडा चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार उसले जापानलाई समुद्रमा ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी र अन्धकारमय’ बनाईदिने धम्की दिएको हो । उत्तरद्वारा जारी विज्ञप्तिका अनुसार उत्तरले आफ्ना शक्तिशाली परमाणु हतियार प्रयोग गरी जापान र अमेरिकाको अस्तित्व सिध्याउने जनाएको हो । 

Advertisement

अमेरिकाले उत्तर कोरियामा आपूर्ति हुने तेलमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरेपनि सुरक्षा परिषद्ले उसको कच्चा तेलमाथि मात्र प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाइएको कपडाको निर्यात उत्तर कोरियाको आम्दानीको प्रमुख श्रोत हो । 

‘हाम्रो छेउको जापानको अब कुनै अस्तित्व आवश्यक छैन । यसलाई परमाणु बमद्वारा समुद्रमा डुबाइदिनुपर्छ,’ कोरिया एसिया–प्यासिफिक पिस कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै अमेरिकाबारे लेखिएको छ, ‘अमेरिकी मुख्य भू–भागलाई खरानी र अन्धकारमय बनाऔं । आजसम्म हामीले यसका निम्ति गरेका तयारीहरुको सकेसम्म प्रयोग गरौं ।’

गतसाता प्योङयाङले हाइड्रोजन बम परीक्षण गरेपछि राष्ट्रसंघ सुुरक्षा परिषदले थप नाकाबन्दी लगाएको हो । सुरक्षा परिषद्बाट मंगलबार उत्तर कोरियाले परमाणु कार्यक्रमका लागि रकम जुटाउन निर्यात गर्ने कपडा तथा तेलको आपूर्ति लक्षित नाकाबन्दी लगाएको थियो । उक्त प्रस्तावहरु सुरक्षा परिषदबाट सर्वसम्मति पारित भएका थिए । प्रतिबन्धको प्रतिक्रिया दिदैं उत्तरले जापान र अमेरिकाविरुद्ध नयाँ धम्की दिएको हो ।, कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री