बुधबार, ५ वैशाख २०८१

विद्युत् उत्पादन गृहमा आगलागी ,१ करोड बराबरको क्षति

समयपोष्ट २०७४ भदौ २९ गते ५:३९

नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट)मा आगलागीहुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ । 

Advertisement

बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो । 

विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरमा आगो उत्पन्न भएलगत्तै विद्युत्गृहका कर्मचारी, विद्युत् गृह सुरक्षार्थ रहेको श्रीनाथ गण, देवीघाटको नेपाली सेना, नुवाकोट प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानीयवासीले करिब आधा घण्टामा नै नियन्त्रणमा लिएको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको छ । फ्युज शाखामा आगलागी भएपनि केन्द्रको उत्पादन जारी रहेको केन्द्रका प्रमुख अशोककुमार पण्डितले जानकारी दिए । 

आगलागीले पुर्याएको क्षतिको लगत संकलन भइरहेकाले यकिन तथ्यांक आउन बाँकी रहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिए ।  “प्रारम्भिक अध्ययन अनुसार इनकमर पूर्णरुपमा जलेर क्षति पुगेको छ ।”उनले भने “सातमध्ये केही फिडरमा क्षति देखिएकाले त्यसको परीक्षणपछि मर्मतमा जुट्नेछाँ ।” 

आगलागीबाट पुगेको क्षतिको आज बिहानैदेखि नै मूल्यांकन भइरहेकाले लगतपश्चात् मर्मतको काम शुरु गरिने केन्द्रले तयारी गरेको छ । आगलागीले पूर्णक्षति बनाएको विद्युत् प्रवाह गर्ने इनकमरको रु १५ लाख र वितरण फिडरको रु १० लाख पर्ने भएकाले करिब रु एक करोडको क्षति भएको अनुमान गरिएको फ्युज शाखाका इञ्जिनियर रामबाबुकुमार दासले जानकारी दिए । दासका अनुसार मर्मतका लागि जिल्लामा प्राविधिक भए पनि उपकरण नै परिवर्तन गर्नुपर्ने देखिएकाले विद्युत् सेवा नियमित हुन कम्तीमा दुई दिन लाग्ने देखिएको छ । 

आगलागीले विद्युत् प्रशारणको इनकमर र वितरण फिडरमा क्षति पुर्याएकाले त्रिशूली जलविद्युत् केन्द्रमार्फत वितरण हुँदै आएको नुवाकोट, रसुवा र धादिङमा विद्युत्सेवा अवरुद्ध भएको छ । 

केन्द्रमार्फत वितरण भएको नुवाकोटको सदरमुकाम विदुरसहित आसपासको क्षेत्र, लिखु गाउँपालिका, सूर्यगढी गापा, किस्पाङ गापा, मेघाङ गापा, रसुवाको कालिका गापा, उत्तरगया गापा, नौकुण्ड गापा र धादिङको नेत्रावती गापालगायतका स्थानमा विद्युत्सेवा अबरुद्ध भएको छ । रासस 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री