बिहीबार, ६ वैशाख २०८१

अव ग्राहक बीमा कम्पनीमा आउने होइन, बीमा कम्पनी ग्राहककोमा पुग्नुपर्छ

समयपोष्ट २०७६ भदौ १८ गते १०:३८

Advertisement

अहिले बीमा कम्पनीहरू सम्भावित ग्राहकसम्म पुग्न नसक्नु मुख्य चुनौतीका रूपमा रहेको छ । धेरै ग्राहककोमा पुग्न सकिएन भने बीमाको पहुँचमा अभिवृद्धि हुँदैन । त्यो नहुँदा बीमा क्षेत्रले जुन आकार लिनुपर्ने हो त्यो लिन सक्दैन । बीमाको पहुँच वृद्धि गर्नुपर्छ भनेर हामीले धेरैपटक भन्यौँ । अब बीमा कम्पनीले नै त्यसको नेतृत्व गर्नुपर्ने समय आएको छ । सरकारले भन्देला या पाठ्यक्रममा राखेर होला भन्ने पनि छँदै छ तर बीमा कम्पनीहरू विशुद्ध व्यावसायिक संस्था हुन् । बीमा कम्पनीहरूले आफू सम्बद्ध स्टेक होल्डरका लागि पनि बीमासम्बन्धी धेरैभन्दा धेरैलाई जानकारी गराउनु आवश्यक छ । त्यसका लागि ग्राहक बीमा कम्पनीमा आउने होइन कि बीमा कम्पनी ग्राहककोमा पुग्नुपर्छ ।

हिजोको परम्परागत सोचाइबाट बाहिर निस्केर अब आफ्ना प्रोसेस डिजिटलाइज गर्ने र व्यापक रूपमा त्यसको प्रयोग गर्ने बाटोमा लाग्नुपर्छ ।

बीमा कम्पनी ग्राहककोमा जाने दुईवटा पाटा छन् । एउटा परम्परागत पाटो भनेको शाखा, उप–शाखा, सम्पर्क कायालय खोलेर, एजेन्ट आदिलाई नियुक्त गरेर हो । यो तरिकाबाट गयो भने यसको पहुँच सीमित हुन सक्छ । पैदल हिँडेर धेरै टाढा पुग्न सकिँदैन तर कुनै सवारीसाधन प्रयोग गर्दा धेरै टाढासम्म पुग्न सक्ने अवस्था हुन्छ । त्यसैले बीमाको पहुँचका लागि पनि साधन चाहिन्छ । त्यो भनकोे प्रोसेसको डिजिटलाइजेसन र इन्टरनेटको व्यापक उपयोग हो । समग्रमा अब बीमा कम्पनीले व्यापक रूपमा प्रविधिको प्रयोग गर्नुपर्छ । यसबाट दूरदराजमा रहेका मानिसले पनि कम्पनीको प्रोडक्टकबारेमा बुझ्न पाउने र आवश्यक पर्दा खरिद गर्न पाउने व्यवस्था हुुनपर्छ । त्यसैले बीमा कम्पनीमा डिजिटलाइजेसन अपरिहार्य छ । हिजोको परम्परागत सोचाइबाट बाहिर निस्केर अब आफ्ना प्रोसेस डिजिटलाइज गर्ने र व्यापक रूपमा त्यसको प्रयोग गर्ने बाटोमा लाग्नुपर्छ ।

स्थानीय तहलाई जोड

अब गाउँ अथवा नगरउन्मुख ठाउँमा नगइकन उपाय छैन, जानैपर्छ । जो पहिला त्यो ठाउँमा जान्छ, उसले नै आफूलाई छिटो स्थापित गर्छ र जो ढिलो जान्छ उ आफूलाई स्थापित गर्न त्यति नै पछि पर्छ ।

अब सहरमुखी भएर मात्र पुदैन, गाउँमुखी पनि हुनपर्छ भन्ने सोचाइ कम्पनीहरूमा बिस्तारै आएको छ तर हिजोका दिनसम्म बीमा कम्पनीको चुक्ता पुँजी असाध्यै कम थियो, आजको दिनमा सबैले एक अर्ब पुर्याइसकेका छन् । त्यसैले भोलिका दिनमा उनीहरू सहर केन्द्रित मात्र भएर आफ्नो लगानीलाई सर्भिस दिन सक्दैनन् । अब गाउँ अथवा नगरउन्मुख ठाउँमा नगइकन उपाय छैन, जानैपर्छ । जो पहिला त्यो ठाउँमा जान्छ, उसले नै आफूलाई छिटो स्थापित गर्छ र जो ढिलो जान्छ उ आफूलाई स्थापित गर्न त्यति नै पछि पर्छ । कम्पनीको ‘प्रस्पेटिभ’बाट पनि कसैले जाउ भने पनि नजाउ भने पनि बीमा कम्पनीले अब नेपाललाई सबैतिरबाट ‘कभर’ गर्नुपर्ने अवस्था आइसकेको छ । जसले छिटो गर्न सक्यो त्यसले त्यति नै छिटो यसको लाभ पाउँछ । जसले ढिलो गर्छ, त्यसले लाभ पाउनबाट चुक्न पनि सक्छ ।

फराकिलो लगानी क्षेत्र

यहाँ पहिलो जोखिमको बीमा हुन्थ्यो आगो, पानी, भूकम्प, चट्याङलगायत तर २०७५ माघ १ गतेदेखि एकीकृत सम्पत्ति बीमा भनेर सम्पूर्ण जोखिम त्यसमा समाहित भएका छन् । यसको पहिलो फाइदा भोलिका दिनमा कुनै जोखिमका कारणले सम्पत्तिको क्षति भयो भने बीमा नगरेका कारण या थाहा नभएका कारण क्षतिपूर्ति पाउने अवस्था सिर्जना हुँदैन । यो राम्रो पाटो भयो । अर्को एकीकृत सम्पत्ति बीमा ट्यारिफ हो । यसको बीमाको दर बीमा समितिले निर्धारण गरेको छ । त्यसले कहिलेकाहीँ मेरो सम्पत्ति तराईमा छ, तपाईंले मलाई पहिरोको बीमा गराइदिनुभयो यही मैले छान्न पाएको भए अहिलेको रेटमा भन्दा कममा गराउन पाउँथे कि भन्ने गुनासो कम्पनीका ग्राहकले राखेको अवस्था छ । बीमा समितिमा पनि यस खालको प्रतिक्रिया गएको हुन सक्छ । यस कारण भोलिका दिनमा ती रेटहरू सुधार हुन सक्छन् । आजको दिनमा एकीकृत सम्पत्ति बीमाले हाम्रोजस्तो बीमाको चेतना व्यापक नभएको ठाउँमा भोलिका दिनमा बीमा गरेको तर जोखिमको बीमा गर्न छुटेका कारणले क्षतिपूर्ति नपाउँदा नैरास्यता आउन सक्छ । त्यसले बीमा क्षेत्रलाई ठूलो असर गर्दछ । त्यस्तो नहोस् भनेर एकीकृत सम्पत्ति बीमा ल्याएको हो । आजको दिनमा इन्ट्रि गर्ने मानिसका लागि यसले समग्रमा छाता सुरक्षा दिएको छ ।

भोलिका दिनमा बीमा कम्पनीले पनि ‘म्युचुअल फन्ड लन्च’ गर्न सक्छन् । पुँजी बजारमा बीमाको पनि इन्ट्रि हुन सक्छ । यसले देशभित्र पुँजी सिर्जित हुन्छ ।

लगानीको दायरा विस्तार पनि असाध्यै समसामयिक छ किनभने हिजोका दिनसम्म बीमा कम्पनीको चुक्ता पुँजी २५ करोड थियो, उनीहरूले धेरै ठाउँमा लगानी विविधीकरण गर्न सक्दैनथे । त्यसैले बीमा समितिले तोकेका क्षेत्रमा मात्र लगानी गर्दा बीमितको हकहित सुरक्षित हुने अवस्था असाध्यै ठूलो थियो तर अब चुक्ता पुँजी पनि न्यूनतम १०० करोड भइसकेको छ, त्यसैले लगानीलाई अलि खुकुलो बनाइदिँदा बीमाले संकलन गरेको पुँजी पनि राष्ट्रिय अर्थतन्त्र निर्माणको प्रक्रियामा प्रयोग भएर पुँजी चलायमान हुन्छ । त्यसैले यसले अन्ततः लगानीलाई बढावा दिन्छ । बीमा कम्पनी अरू लगानी क्षेत्रमा प्रवेश गर्दा उनीहरूसँग हातेमालो गर्ने संस्था र व्यक्तिहरूको संख्या पनि वृद्धि हुन्छ । संस्थागत विश्वास गर्ने तह व्यक्तिभन्दा बढी हुन्छ । जस्तै, आज धेरै बैंकहरूले ‘म्युचुअल फन्ड लन्च’ गरेका छन् । भोलिका दिनमा बीमा कम्पनीले पनि ‘म्युचुअल फन्ड लन्च’ गर्न सक्छन् । पुँजी बजारमा बीमाको पनि इन्ट्रि हुन सक्छ । यसले देशभित्र पुँजी सिर्जित हुन्छ । रोजगारी बढ्छ र बीमा कम्पनीले पनि परम्परागत रूपमा कमाइरहेको मुनाफाबाहेक त्यताबाट पनि कमाउन सक्छन् । त्यसको पनि फाइदा स्टेक होल्डर, सेयर होल्डरलाई नै जाने हो । त्यसैले लगानीको दायरा विस्तार पनि राम्रो काम हो ।

पुँजीअनुसारको नाफा

बीमा कम्नीहरूको चुक्ता पुँजी चार गुणाले बढ्यो । व्यवसाय कसैको पनि चार गुणाले बढेको छैन । आव ०७५/०७६ को तथ्यांक हेर्दा पनि निर्जीवन बीमा कम्पनीको वृद्धि गत वर्षको तुलनामा १५/१६ प्रतिशतले मात्र छ तर पुँजी ३०० प्रतिशतले बढ्यो । बीमाकै व्यवसाय गरेर त्यसले तुरुन्त रिटर्न दिन सक्दैन तर लगानीकर्ताले जहिले पनि मैले ‘कस्ट अफ फन्ड’ कति हो, ‘कस्ट अफ क्यापिटल’ कति हो र कति रिर्टन पाइरहेको छु भनेर हेर्ने हो । आव ०७५/७६ बीमा क्षेत्रमा एनएफआरएस लागू भएको पहिलो वर्ष हुनाले बीमा कम्पनीहरूको साधारण सभा गर्न पनि केही समय लाग्यो । पहिलो वर्ष भएकाले त्यसको प्रभाव पनि परेको हुनाले धेरै कम्पनीले अपेक्षा गरेअनुसारको लाभांश दिन सकेनन् तर आव ०७५/७६ को जुन वार्षिक साधारण सभा हुन्छ, त्यसमा पहिलो वर्षको प्रभाव पर्दैन । त्यसैले १५/१६ प्रतिशतको रिटर्न बीमा कम्पनीहरूले दिन सक्छन् । त्यो मेरो विचारमा धेरै लगानीकर्ताको पुँजीको लागतभन्दा एक/दुई प्रतिशत बढी नै हो । त्यसैले आजको दिनमा लगानीकर्ताहरू बीमाको क्षेत्रबाट हतोतत्साहित हुनपर्ने अवस्था छैन । १५/१६ प्रतिशत सुरुआत मात्र हो, अझ राम्रो हुन सक्छ ।

धेरै लगानीकर्ताको पुँजीको लागतभन्दा एक/दुई प्रतिशत बढी नै हो । त्यसैले आजको दिनमा लगानीकर्ताहरू बीमाको क्षेत्रबाट हतोतत्साहित हुनपर्ने अवस्था छैन । १५/१६ प्रतिशत सुरुआत मात्र हो, अझ राम्रो हुन सक्छ ।

बीमा कम्पनीले परम्परागत ‘लाइन अफ बिजनेस’बाट पनि मुनाफा निकाल्छन्, जुन ‘अन्डरराइटिन प्रोफिट’ हो । बीमा समितिले लगानीको दायरा फराकिलो पारिदिएको हुनाले अब बीमामा मात्र सीमित नरहेर कम्पनीसँग भएको बचतलाई अथवा लगानीयोग्य रकमलाई ‘फिक्स डिपोजिट’मा राख्ने मात्र नभएर अरू क्षेत्रमा पनि लगानी गरेर मुनाफा कमाउने अवसर प्राप्त भएको छ । हामीसँग भएको लगानीयोग्य रकम ‘ग्रिनफिल्ड प्रोजेक्ट’मा लगानी गर्न सक्छौँ र त्यसको प्रतिफल कम्पनीमा ‘सेयर होल्डर’ले नै पाउने हुन् । त्यो प्रतिफल आकर्षक नै हुन्छ ।

नेपाल इन्स्योरेन्स

समष्टिगत रूपमा निर्जीवन बीमाको व्यवसाय १५/१६ प्रतिशतले बढेको अवस्थामा नेपाल इन्स्योरेन्सको ३३ प्रतिशतभन्दा बढीले बढेको छ । इन्डस्ट्रिजको वृद्धिदरभन्दा २०० प्रतिशतले कुनै कम्पनीको ‘ग्रोथ रेट’ हुनु चानचुने कुरो होइन ।

नेपाल इन्स्योरेन्स कम्पनी नेपालको पहिलो बीमा कम्पनी हो । यो २००४ सालमा स्थापना हुँदा बीमाको नियामक निकाय पनि थिएन । कालान्तरमा अरू कम्पनी पनि थपिँदै जाँदा आजको दिनमा निर्जीवन बीमा गर्ने २० वटा कम्पनी छन् । नेपाल इन्स्योरेन्सले आव २०७४/७५ मा १९ प्रतिशतको वृद्धि हासिल गरेको थियो । आव २०७५/७६ मा ३३ प्रतिशतभन्दा बढीको वृद्धिदर हासिल गरेको अवस्था छ । त्यसैले समष्टिगत रूपमा निर्जीवन बीमाको व्यवसाय १५/१६ प्रतिशतले बढेको अवस्थामा नेपाल इन्स्योरेन्सको ३३ प्रतिशतभन्दा बढीले बढेको छ । त्यसको श्रेय यस कम्पनीमा आबद्ध कर्मचारी र सरोकारवालालाई जान्छ । इन्डस्ट्रिजको वृद्धिदरभन्दा २०० प्रतिशतले कुनै कम्पनीको ‘ग्रोथ रेट’ हुनु चानचुने कुरो होइन । यस कम्पनीले गत वर्ष मात्र आफ्ना शाखा संख्या ५१ र २९ एक्सटेन्सन काउन्टर पुर्याएको छ । अहिले ८० ठाउँबाट यसले बीमाको सेवा दिइरहेको छ । ‘नेपाल इन्स्योरेन्स’ नेपालका सबै ठाउँमा छ । ग्राहक संख्या पनि दुई वर्षको तुलनामा एक लाख थपिएको छ । म यहाँ आउँदा ग्राहक संख्या ६० हजार थियो, २०७६ असार मसान्तमा हाम्रो ग्राहक संख्या एक लाख ६० हजार पुगेको छ । एक लाख बीमा गर्ने मान्छे भित्र्याउनु पनि ठूलै कुरो हो । कम्पनीको सम्पत्ति पनि यही हो । कर्मचारीको उच्च मनोबल, विस्तारित सञ्जाल, चुक्ता पुँजी पनि नियामकले भनेकोभन्दा बढी पुर्याएको अवस्था, पहिलो बीमा कम्पनीको ख्याति यी सबै कारणले गर्दा नेपाल इन्स्योरेन्सको भविष्य उज्ज्वल छ ।

‘इन अर्गानिक ग्रोथ’ हेर्ने सन्दर्भमा समान विचार, बिजनेस भएको कम्पनी मर्ज गर्ने, मर्ज हुने कुरा पनि आउन सक्छन् ।

बीमा कम्पनी सबल हुुनुपर्छ, जसले जोखिम देखेर बीमा गरेको हुन्छ, कम्पनीले अवसर देखेर लिन्छ । एउटाको जोखिम अर्कोले अवसर देखेको हुन्छ । बीमा कम्पनीले तिनै जोखिमलाई अझ उच्चतम विचार गरेर व्यवस्थापन गर्दछ । जोखिम व्यस्थापन गर्ने पाटा धेरै छन्, त्यसमध्ये एउटा पाटो कम्पनी सबल हुुनपर्छ । कम्पनीलाई सबल बनाउनकै लागि नियामकले चुक्ता पुँजी वृद्धि गर भनेको हो । भोलिका दिनमा त्यो चुक्ता पुँजी पनि पर्याप्त नहुन सक्छ । व्यवसाय पनि एउटा निश्चित प्रतिशतले बढिरहेको अवस्थामा ‘इन्क्रिज’ पुँजीलाई कसरी परिचालन गर्ने भन्ने चुनौती कम्पनीमा पर्छ र त्यो चुनौती स्वीकार गर्ने काम सीईओको हुन्छ । त्यस सन्दर्भमा कम्पनीले प्राकृतिक वृद्धि पनि हेर्छ, र ‘इन अर्गानिक’ वृद्धि पनि हेर्छ । ‘इन अर्गानिक ग्रोथ’ हेर्ने सन्दर्भमा समान विचार, बिजनेस भएको कम्पनी मर्ज गर्ने, मर्ज हुने कुरा पनि आउन सक्छन् । त्यस्तो अवसर आयो भने साधारण सभासम्म कुर्न नपरोस् भनेर नेपाल इन्स्योरेन्सले एउटा एजेन्डा अघि सारेका छौँ । यो पास भयो यस कम्पनीको सञ्चालक त्यो काम गर्न सशक्त हुन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री